यस वर्षको तीज पर्सी मंगलबार (भदौ १० गते) परेको छ । तीज नेपाली हिन्दू नारीहरुको एक महत्वपूर्ण पर्व हो । यस दिन काठमाडौंको पशुपतिमा ठूलो मेला लाग्छ । पशुपति क्षेत्र विकास कोषले उक्त मेलाको तयारी पूरा गरेको जनाएको छ । कोषका अनुसार, तीजको अवसरमा भदौ १० गते बिहान ३ बजेदेखि नै पशुपतिका चारवटै ढोका खुला गरिने छन् ।
गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रवेश गर्न सकिने कोषको भनाइ छ । जयबागेश्वरी–भुवनेश्वरी–शंकराचार्य मठ हुँदै फलामे पुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । त्रिभुवन विमानस्थलतिरबाट आउने भक्तजनले पिंगलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट पशुपतिनाथको मन्दिर प्रवेश गर्न सक्ने छन् ।
बत्तीसपुतली–गौशालातर्फबाट पिंगलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ । सदावर्त सत्तल, तिलगंगा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले बताए ।
भक्तजनले आधा घण्टाभित्र दर्शन गरेर फर्किसक्ने व्यवस्था मिलाइएको कोषको दाबी छ । यसको सहजीकरणका लागि स्वयंसेवक र कर्मचारी परिचालन गरिनेछ ।
जुत्ताचप्पल कता राख्ने रु पार्किङ कहाँ गर्ने ?
पार्किङका लागि पनि छुट्टै व्यवस्थापन गरिएको कोषले जनाएको छ । गुह्येश्वरीपारि, सिफलचौर, तिलगंगा, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभाग कार्यालयमा व्यवस्था मिलाइएको छ ।
जुत्ता–चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाष्मतीपारि राममन्दिरको मुनिलगायत स्थान छुट्याइएको छ ।
कस्तो छ तिज लक्षित सुरक्षा व्यवस्था ?
तिजलक्षित सुरक्षा व्यवस्थाका लागि ट्राफिक व्यवस्थापनका लागि ठूलो संख्यामा प्रहरी खटाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दिनेश गिरीले जानकारी दिएका छन् ।
“तिजको दिन पशुपतिनाथलगायत शिवालयहरूमा दर्शनार्थीहरूको भिड हुन्छ । दर्शनार्थीहरूले बाटो काट्दा गाडीहरू क्युमा चल्छन् । आवश्यकता अनुसार, सवारी डाइभर्सन, सहजीकरण गर्ने कामहरू हुन्छ । त्यसका लागि भोलि तिजको कार्यतालिका सार्वजनिक गर्छौं,” गिरीले भने ।
सुरक्षाका लागि सादा पोसाकका प्रहरी पनि खटाइने प्रहरीले जनाएको छ । तिजको अवधिभर चार हजारभन्दा बढी सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिनेछ । कोषले मन्दिरमा दर्शन गर्न आउँदा बहुमूल्य गरगहना नलगाउन अनुरोध गरेको छ । यस वर्ष तिजमा कम्तीमा सात लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ ।