चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’ तेस्रो संस्करणका प्रथम उपाधि बिजेता चर्चित गायक प्रशान्त तामाङको आज आइतबार निधन भएको छ ।
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “‘इन्डियन आइडल’ तेस्रो संस्करणका उपाधि धारक लोकप्रिय गायक तथा राष्ट्रिय ख्याति प्राप्त कलाकार प्रशान्त तामाङको आइतबार असामयिक निधन भएको छ । उहाँको निधन राष्ट्र र खासगरी पश्चिम बङ्गालका जनताका लागि अपुरणीय क्षति हो ।”
उनले अगाडी लेखेकी छन्, “हाम्रो दार्जीलिङ पहाडमा उहाँको बसोबास र कोलकाता प्रहरीसँगको एक पटकको सम्बन्धले उहाँलाई बङ्गालमा हामीलाई विशेष प्रिय बनाएको थियो । म उहाँको परिवार, साथीहरू र अनगिन्ती अनुयायीहरूप्रति समवेदना व्यक्त गर्दछु।”
सामाजिक सञ्जालमा श्रद्धाञ्जली र समवेदनाको ओइरो लागिरहेको छ, प्रसिद्ध गायकको अचानक निधनपछि धेरैले सामाजिक सञ्जालमार्फत् शोक व्यक्त गरेका छन् । साथी कलाकार अमित पलले आफ्नो इन्स्टाग्राम पेजमा लेखेका छन्, “यो कसरी निष्पक्ष हुन सक्छ ? मुस्कुराइरहनुहोस्, तपाईं बिना संसार उस्तै हुनेछैन । मेरो भाइ, मेरो साथी स्वर्ग लागि महाप्रस्थान गरेको छ । म विश्वास गर्न सकिरहेको छैन कि उसको निधन भएको छ भनीतर मैले यो लेख्नु परेको छ।”
दार्जीलिङका भाजपा सांसद राजु विष्टले पनि दिवंगत गायकप्रतिे श्रद्धाञ्जली व्यक्त गरे। भारतीय आइडलको मञ्चमा सम्पूर्ण हिन्दी र नेपाली सांगीतिक जगतमा उज्यालो चमक कायम गर्ने लोकप्रिय गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधनले सम्पूर्ण हिन्दी, नेपालीसहित कला र संगीतको सम्पूर्ण क्षेत्र स्तब्ध र मर्माहत भएको छ ।
सङ्गीत र अभिनयको क्षेत्रमा आफ्नो यात्राको स्मरण गर्दै विष्टले भने, “इन्डियन आइडल २००७ को उपाधि जितेपछि प्रशान्त तामाङजीले नेपाली गीत र संगीतलाई भारतका गोर्खाहरूलाई मात्र नभई विश्वलाई व्यापक रूपमा चिनाउनुभयो र गोर्खालीहरूको प्रतिभालाई सांगीतिक क्षेत्रमा विश्व मञ्चमा नाम दिलाए । इन्डियन आइडलको उपाधि जितेपछि उनले आफूलाई सङ्गीतको क्षेत्रमा मात्र सीमित राखेनन्, चर्चित नेपाली फिल्म ’गोर्खा पल्टन’ मा गाएर अभिनयको दुनियाँमा प्रवेश गरेर पछि दर्जनौँ चलचित्रमा काम गरेका थिए।
नागाल्याण्डका मन्त्री तेम्जेन इम्ना अलोङले पनि तामाङलाई आफ्नो ‘प्रिय मित्र’ को रूपमा सम्झँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
पश्चिम बङ्गालको दार्जिलिङका प्रशान्त तामाङ इन्डियन आइडल सिजन ३ का विजेता बनेका थिए । संगीतमा आफ्नो स्थिति बलियो बनाउनुका साथै उनले ’पाताल लोक सिजन २’ मा अभिनय पनि गरेका थिए । उनले सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ मा पनि अभिनय गर्ने अपेक्षा गरिएको थियो ।