Connect with us

समसामयिक

दूध उत्पादनमा आत्मनिर्भर बन्दै पालुङटार

Published

on

पालुङटार नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ।

नगरपालिकाले दूध उत्पादनमा अनुदान उपलब्ध गराएपछि पालुङटारका किसान उत्साहित भएका छन् । दुग्ध उत्पादन भए सगैं पालुङटारको आर्थिक विकासमा मात्र नभई स्थानीयहरूको जीविकोपार्जनमा पनि महत्त्वपूर्ण योगदान पुगेको छ। किसानहरूको आर्थिक स्थिति सुधार गर्न अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

नगरपालिकाका मेयर विवश चिन्तनले दुग्ध उत्पादनलाई पालुङटारको आर्थिक मेरुदण्ड बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले किसानहरूको जीवनस्तर उकास्न र दुग्ध उत्पादनको गुणस्तर सुधार गर्न नगरपालिका निरन्तर लागि परेको बताए। उनले किसानलाई आधुनिक उपकरण र उन्नत प्रजातिका गाईभैंसी उपलब्ध गराइएको र यसले दुग्ध उत्पादनको परिमाण र गुणस्तर दुवैमा सुधार ल्याएको जानकारी दिए। ‘चिस्यान केन्द्रको निर्माणमा पालुङटार नगरपालिकाले १५ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ’, उनले भने । मेयर चिन्तनले पालुङटारलाई दुग्ध उत्पादनको नमुना क्षेत्र बनाउने लक्ष्य अघि सारेका छन्।

जुडीखोला बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष अर्जुन बहादुर पाण्डेले दूध उत्पादनमा अनुदानले किसान उत्साहित भएको बताए । अनुदानको सही उपयोगले उन्नत गाईभैंसी ल्याउन सहयोग पुगेको उनको बुझाइ छ। गत साउनबाट दूधको नियमित संकलन र प्रशोधन कार्य गर्दै आएको यो कृषक समूहले आधुनिक उपकरणहरूको प्रयोगले दूधको गुणस्तरमा सुधार ल्याएको र बजार मूल्य पनि राम्रो पाएको बताए। नगरपालिकाले उपलब्ध गराएको तालिम र प्राविधिक सहयोगको पनि प्रशंसा गर्दै अध्यक्ष पाण्डेले स्थानीय किसानहरूलाई थप उत्प्रेरणा मिलेको जनाए। यो समूहले दैनिक ४०० लिटर संकलन हुन्छ ।

वडा नम्बर ९ मा व्यावसायिक उत्पादन सुरु हुन थालेको सफल पशुपन्छी किसान समूहले पनि दुग्ध उत्पादन गरिरहेको छ। यस समूहले करिब एक वर्षअघि सुरु गरेको थियो। वडा नम्बर ८ मा रहेको अकला दुग्ध उत्पादन सहकारीले पनि स्थानीय बजार व्यवस्थापनमा ठुलो भूमिका खेलेको छ। मंसिर २५, २०८१ मा सुरु भएको यस सहकारीले किसानहरूको उत्पादनलाई उचित मूल्यमा बिक्री गर्न र दुग्धको गुणस्तर सुधार गर्न विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ। यो समूहले दैनिक ५५० लिटर दूध संकलन गरिरहेको छ।

नगरपालिकाले किसानहरूलाई आत्मनिर्भर बनाउन विभिन्न अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ। गाईभैंसीमा ५० प्रतिशत अनुदान, गोठ सुधारका लागि प्रति गोठ १० हजार रुपैयाँ अनुदान र प्रति लिटर दुग्धमा तीन रुपैयाँको उत्पादन प्रोत्साहन नगरपालिकाले उपलब्ध गराएको छ। विशेषगरी उत्पादनका आधारमा प्रदान गरिने अनुदानहरूले किसानहरूलाई थप मेहनत गर्न र दुग्ध उत्पादनमा गुणात्मक वृद्धि गर्न प्रेरित गरेको छ। यो प्रोत्साहनले उत्पादन वृद्धि गर्न मात्र होइन, दुग्ध गुणस्तर सुधार्न र किसानहरूको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको छ। मेयर चिन्तनका अनुसार, अनुदानको उद्देश्य उत्पादनमा वृद्धि र किसानहरूको आयमा सुधार गर्नु हो। यसले परम्परागत पद्धतिबाट आधुनिक पद्धतिमा परिवर्तन गर्न किसानलाई अझ सजिलो बनाएको छ।

परम्परागत पद्धतिमा निर्भर रहेका किसानहरू अब आधुनिक प्रविधि र उन्नत व्यवस्थापनको प्रयोग गर्दै दैनिक रूपमा उत्पादनको मात्रा वृद्धि गर्न सक्षम भएका छन्। यी संस्थाहरूले किसानहरूको दूधलाई उचित मूल्यमा बिक्री गर्न र गुणस्तरीय उत्पादन सुनिश्चित गर्न सघाएका छन्। यी सबै दूध सुजल डेरी प्रालि पोखराले लैजान्छ ।

दुग्ध उत्पादनमा आत्मनिर्भर बन्दै जाँदा पालुङटारका किसानहरूको जीवनस्तरमा सुधार आएको छ। नियमित रूपमा दूध बेचेर किसानहरूले स्थिर आय स्रोत बनाउन सकेका छन्। यसले स्थानीय युवाहरूलाई वैदेशिक रोजगारीको सट्टा कृषि पेशा अपनाउन प्रेरित गरेको छ। मेयर चिन्तनले पालुङटारलाई दुग्ध उत्पादनको केन्द्र बनाउने दीर्घकालीन योजना रहेको दाबी गरे ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.