भारतका चर्चित सन्त पाइलट बाबाको निधन भएको छ । भारतीय मिडिया एबिपी न्यूजका अनुसार जुना अखडाका महामण्डलेश्वर पाइलट बाबा लामो समयदेखि बिरामी थिए । उनको दिल्लीको एपोलो अस्पतालमा निधन भएको हो ।
उनको समाधि हरिद्वारमा गरिने बताइएको छ । कुनै समय उनी भारतीय वायुसेनामा विंग कमाण्डर थिए, त्यसैले उनलाई पाइलट बाबाको नामले प्रसिद्धि मिलेको थियो । उनले पाकिस्तानसँगको दुई युद्धमा फाइटर पाइलटको भूमिका खेलेपछि सन्यास लिएका थिए ।
पाइलट बाबाको महासमाधिको जानकारी उनको इन्स्टा एकाउन्टमार्फत आएको हो ।
इन्स्टाग्राममा लेखिएको छ- ‘ओम नमो नारायण, हार्दिक श्रद्धाञ्जलीका साथ हाम्रा प्यारा गुरुदेवप्रति विश्वभरका सम्पुर्ण शिष्य, भक्तजनहरुमा हाम्रो पूज्य गुरुदेव महायोगी पायलट बाबाजीले आज महासमाधि लिनुभएको छ । उहाँले नश्वर समाधि त्यागेको यो समय हामी सबैले घरमा बसेर प्रार्थना गर्ने समय हो । कृपया यसलाई सहज रूपमा लिनुहोस् । यो समय शान्त रहन र उहाँप्रति कृतज्ञता व्यक्त गर्ने समय हो । थप जानकारी साझा गरिनेछ ।’