पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनालाई मुद्दा दायर भएको छ । सहकारी ठगीमा उजुरी परेका १९ जनाविरुद्ध थप प्रमाणसहित मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी छन् ।
“सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध मुद्दा दायर गरेका छौँ,” शर्माले आज कार्यालय समयअघि सञ्चारकर्मीसँग भनिन्, “संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धान भई प्रहरीले प्रतिवेदन बुझाएकाहरूविरुद्ध समयसीमाभित्रै मुद्दा दायर गर्छौं।”
सूर्यदर्शन सहकारीमा संकलन भएको पैसा गोर्खा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल बन्जाडे जोशीविरुद्ध अनुसन्धान गरेर प्रहरीले जिल्ला सरकारी वकिलमा प्रतिवेदन बुझाइसकेको छ । जोशीलाई असोज ६ गते प्रहरीले पक्राउ गरेको थियो । संगठित अपराधमा ९० दिनसम्म हिरासतमा राख्न पाइन्छ । यस हिसावले जोशीलाई हिरासतमा लिएको आज ८९ दिन भइसकेको छ ।
अन्तिम दिन सार्वजनिक बिदाको दिन परे त्यसपछि कार्यालय खुल्ने दिनलाई अन्तिम समयवधि मानिने हुँदा आइतबार ९० दिनको हदम्याद सकिने भएकाले जोशीलाई समेत सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा पर्सी आइतबार रिव लामिछानेसँगै मुघा दर्ता गर्न सरकारी वकील कार्यालयको तयारी छ ।