Connect with us

तथ्य खोज

विवेकशील ओली, विवेक कुल्चिएका ओली !

Published

on

११ वर्ष पार्टी अध्यक्ष र चार पटक प्रधानमन्त्री हुँदा ओलीले देखाउन सक्ने जति खुबी एवम् क्षमता देखाइसकेका छन् । अब उनले थप जिम्मेवारीको इच्छा गर्नु एमालेलाई बन्ध्याकरण गर्नु हो ।

ओलीले माधव नेपाल, झलनाथ खनालहरु विरुद्ध लड्न विद्यालाई विवेकपूर्वक प्रयोग गरेका थिए । यसबेला आफैँसँग प्रतिस्पर्धात्मक तयारी गरेपछि विवेक कुल्चिएर अपमान गरिरहेका छन् ।

जसरी माधव नेपाल एमालेमा तीन कार्यकाल महासचिव भए, ठिक त्यसैगरी ओलीलाई पनि नेपालको विरासत बराबर अध्यक्ष हुने इच्छा छ । त्यसको छेकबार विद्या भण्डारी त के ! आफ्नै श्रीमती राधिका शाक्य भइन भने पनि ओलीले उनलाई माफ दिने छैनन् ।

घटना एक
प्पु कन्स्ट्रक्सनका पूर्वसञ्चालक तथा २०७४ को निर्वाचनमा जनता समाजवादी पार्टीका तर्फबाट पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियारलाई ५ मंसिर २०८० मा नेकपा (एमाले) ले आफ्नो पार्टीमा भित्र्यायो । रौनियारलाई एमालेमा प्रवेश गराउन पर्साको पोखरियामा भएको सभामा एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ पुगेका थिए । जबकि रौनियार बदनाम निर्माण व्यवसायी त हुन् नै, सांसद पदमै हुँदा भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेका थिए ।

घटना दुई
झापा, गौरादह नगरपालिका वडा नं. ३ का वडाध्यक्ष दिलिप भण्डारीलाई केही समय अघि मात्र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा ‘स्वागत’ गरे । वडा अध्यक्ष भण्डारीलाई एमालेमा भित्र्याउन प्रधानमन्त्री ओली काठमाडौंदेखि हेलिकोप्टरमा गृह जिल्ला झापा पुगेका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा एमालेले घात गरेर टिकट नदिएपछि भण्डारी स्वतन्त्र उम्मेदवार बनेका थिए । समर्थक मतदातामाझ लोकप्रिय उनी एमालेको आधिकारिक उम्मेदवारलाई पराजित गर्दै भारी मतान्तरले विजयी भए । स्वतन्त्र उम्मेदवार बनेर विजयी भएको तीन वर्ष बित्दानबित्दै ओलीले उनलाई रातो कार्पेट बिछ्याएर पुनः एमालेमै भित्र्याएका हुन् ।

यी दृष्टान्त नेकपा (एमाले) ले आफूलाई मोटोघाटो देखाउन ‘कुडाकर्कट’ हरुदेखि स्वेच्छाले पार्टी परित्याग गरेकाहरुलाई समेत सोहोर्न तयार छ भन्ने प्रतिनिधि घटना हुन् । आफूलाई मोटो देखाउन एमालेले भ्रष्टाचारमा निलम्बित रौनियार जस्ता थुप्रै ‘कुडाकर्कट’ हरुलाई रातो कार्पेट ओछ्याएर स्वागत गरिरहेको छ । भलै, एमाले अध्यक्ष केपी शर्मा ओलीले २०३५ सालदेखि अनवरत तत्कालीन नेकपा (माले), एमालेमा आवद्ध, तुलनात्मक रुपमा वेदाग विद्या भण्डारीको भने नविकरण भइसकेको पार्टी सदस्यता समेत ‘बर्खास्ती’ गरेका छन् ।

राष्ट्रपतिको गरिमामय कुर्सीमा पुगिसकेकी विद्या भण्डारी पुनः सक्रिय राजनीतिमा फर्कनु हुन्थ्यो/हुन्नथ्यो ? यो एउटा ठूलै बहस एवम् स्वअनुशासनको विषय हो । तर, जसै भण्डारीले नेकपा (एमाले) को ११ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी हुने उद्घोषसहित सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिन, यसपछि ‘बहुलठ्ठी’ हरुको बहुमत देखाएर निषेधको जुन निकृष्ट खेल रचियो, यो घटना केपी शर्मा ओलीको ‘मैमत्त’ प्रवृति छर्लङ्ग बनाउने एउटा उत्कृष्ट आँखीझ्याल हो ।

नौ वर्ष अघि २७ चैत्र २०७३ मा यो पंक्तिकार आवद्ध तत्कालीन ‘नेपाल म्यागेजिन’ ले केपी ओलीको कार्यशैली, मनोविज्ञान र देवत्वकरणमाथि ‘कमरेड मैमत्त’ शीर्षकमा आवरण समाचार प्रकाशित गरेको थियो । ओलीको देवत्वकरण गरिएको विषयको त्यो आवरण समाचार यही पंक्तिकारले लेखेको थियो । संयोग- आवरण कथा प्रकाशित भएकै दिन नेकपा एमालेको प्रचार विभागले तत्कालीन पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको कार्यक्रममा ओलीले ’नेपाल म्यागेजिन’ को त्यो आवरणप्रति कटाक्ष गरेका थिए । समाचार लेख्ने पत्रकारको नाम भने आफूलाई याद नभएको उनले ‘व्यङ्ग्य’ गरेका थिए ।

त्यो आवरण समाचारलाई उद्धृत गर्दै ओलीले प्रचार विभागको कार्यक्रममा भनेका थिए, ‘एउटा सञ्चार माध्यमले मैमत्त नेता भनेर छापेछ । कसले छपायो, कसले किन छपायो, त्यो आफ्नो ठाउँमा होला । मेरो भव्य फोटो अगाडि राखेर मैमत्त, अलिक एग्रेसिभ । धन्न सिङ हालिदिएन । सिङ हाल्न बिर्सिएछ क्यारे । सिङ हालेनन् तैपनि मैमत्त नेता भनेर फ्रन्ट पेजमा राखे । म्यागेजिन भन्छ क्यारे त्यसलाई । म्यागेजिन जस्तै के हो त्यो !

मलाई शीर्षक सम्झना छ । लेख्यो कसले, लेख्यो के, भन्ने झुटमुटका कुराहरुलाई र गलत नियत र मनसायका साथ आएको हुनाले मैले केही भनिरहनु परेन । मैमत्तको कुरा होइन । हामीमा दृढता चाहिँ छ । त्यसले लेखेको छ – देवत्वकरण भनेर । देवता बनाएको हुनाले ।

मेरो कतै शालिक बनाएको छैन । कतै पूजा गरेको छैन । फूलमाला लगाइदिएको नेता भनेर सम्मान गरेको हो । देवता भनेर पूजा गरेको होइन । नबुझेको हो भने कुन पत्रकार हो ।’

ओलीसँगको चिनजान र समाचारको आक्रोशले बिर्साएको नाम
यो पंक्तिकारलाई ६ असार २०६२ मा गोकुल बाँस्कोटाले बागबजारस्थित भक्तपुर बसपार्कसँगै रहेको साँघु साप्ताहिकको तत्कालीन कार्यालयबाट बागबजारमै रहेको दृष्टि साप्ताहिकमा लगेर आवद्ध गराएका हुन् । स्मरणीय छ, पूर्वमन्त्री बास्कोटा अहिले काभ्रे–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य छन् । त्यसबेला बास्कोटा दृष्टि साप्ताहिकका कार्यकारी सम्पादक थिए । बास्कोटाले दृष्टिमा लैजानुअघि म किशोर श्रेष्ठ नेतृत्वको जनआस्था र गोपाल बुढाथोकी नेतृत्वको साँघु साप्ताहिकमा कार्यरत थिएँ । किशोर दाजुले नै मलाई गोपाल बुढाथोकीलाई भनेर साँघुमा जोडिदिएका थिए ।

गोकुल दाईले दृष्टिमा लगेपछि सम्पादक शम्भु श्रेष्ठले हार्दिकतासाथ ‘रिपोर्टिङ’ को जिम्मेवारी दिए । त्यसबेला दृष्टि साप्ताहिक एमालेको संस्थापनसँग सधैँ सिगौरी खेलिरहने बागी केपी शर्मा ओलीको मुखपत्र थियो । दृष्टिका कार्यकारी सम्पादक गोकुल बास्कोटा ओलीका एक बलशाली खम्बा थिए । बास्कोटाले यो पंक्तिकारलाई राम्रै स्नेह गर्दथे । बास्कोटा सञ्चार तथा सूचना प्रविधि मन्त्री भएका बेला कान्तिपुर पब्लिकेसन्सको ‘नेपाल म्यागेजिन’ ले उनका विरुद्ध यस पक्तिकारलाई जबरजस्ती लेख्न लगाएपछि भने पहिलेको जस्तो सुमधुर सम्बन्ध छैन बास्कोटासँग मेरो ।

मैले यो प्रसंग किन जोडिरहेको छु भने दृष्टि, शम्भु दाई र गोकुल दाईसँगको सम्बन्धका कारण ओलीसँग यस पंक्तिकारको ‘राम्रै’ चिनजान भएको थियो । २०६३ को अन्त्यतिर ओलीले पहिलो पटक भारतको दिल्लीमा मृगौला प्रत्यारोपण गरेर स्वदेश फर्किएपछि पहिलो अन्तर्वार्ता यही पंक्तिकारले लिएको थियो । ओलीको अन्तर्वार्ता र फोटोका लागि रवी मानन्धर दाजु र म उनको निवास बालकोट पुगेका थियौँ । त्यसबेला उनी उपप्रधान र परराष्ट्र मन्त्रीको जिम्मेवारीमा थिए । पछि ‘नेपाल म्यागेजिन’ मा कार्यरत रहदा पनि ओलीसँग भेटघाट, कुराकानी र अन्तर्वार्ता गरेको छु । पेसागत सवालमा बाहेक व्यक्तिगत काम र लाभका लागि भने मैले ओलीलाई एक पटक पनि भेटेको छुइँन ।

सत्ता, शक्तिको मातले बिर्सने समस्या भएन भने ओलीले मलाई व्यक्तिगत रुपमै चिन्नु पर्ने हो । किनभने उनी सितिमिति बिर्सने स्वभावका नेता होइनन् । व्यक्तिगत रुपमा यस पंक्तिकारको ओलीसँग रौँ बराबर कुनै वैरभाव, आग्रह, पूर्वाग्रह छैन । राज्यको प्रधानमन्त्री र एउटा ठूलो पार्टीका अध्यक्षका हिसाबले उनीप्रति मेरो सम्मान छ । तर, प्रवृतिप्रति भने हामो पहरेदारी नै खबरदारी गर्ने हो ।

चैत्र ०७३ मा पनि कुनै व्यक्तिगत आग्रह/पूर्वाग्रहका कारण ओलीमाथि आवरण कथा लेखिएको थिएन । उनको शैली, प्रवृति र देवत्करणमाथि मात्र आवरण समाचार लेखिएको थियो । समाचार पढ्दा ओलीले मेरो ‘बाइलाइन’ नपढ्ने र मलाई नचिन्ने कुरै थिएन । तर, समाचारबाट आक्रोशित भएकै कारण उनले ‘बाइलाइन’ थाहा हुँदाहुँदै र चिन्दाचिन्दै पनि यस पंक्तिकारको नाम लिएका थिएनन् । त्यस घटनाबाट ओलीको आधारभूत चरित्र चियाउन सकिन्छ ।

ओली कुटिलता, प्रतिशोध अति नै भएका नेता हुन् । त्यसैले नै ११ वर्ष पार्टी अध्यक्ष र चार पटक प्रधानमन्त्री हुँदा समेत जालझेल, तिकडम बाहेक बौद्धिक नेताका रुपमा स्थापित हुन सकेनन् । अहिले ओलीको देवत्वकरण नौ वर्षअघिभन्दा अझ बढेको छ । जुन लोकतन्त्रका लागि घातक हो ।

११ वर्ष पार्टी अध्यक्ष र चार पटक प्रधानमन्त्री हुँदा ओलीले देखाउन सक्ने जति खुबी एवम् क्षमता देखाइसकेका छन् । अब उनले थप जिम्मेवारीको इच्छा गर्नु एमालेलाई बन्ध्याकरण गर्नु हो । तर, ओली अहंले यो तथ्यलाई सत्यको कसीमा बुझ्न इन्कार गरिरहेको छ । उनका आसेपासेहरुले ओलीलाई थप निरंकुश बन्न उक्साइरहेका छन् ।

विद्यामाथि विधानको अपव्याख्या
रोचक के भने ०५१ सालदेखि ०८१ को अन्त्यसम्म ओली, विद्या भण्डारी एउटै समूहमा थिए । ओली समूहको अभियान्ता नभएको भए भण्डारी सायदै राष्ट्रपति बन्थिन । भण्डारीलाई ३० वर्षसम्म सदाबहार र बामदेव गौतमलाई ०७० सालमा संसदीय दलको नेतामा झलनाथ खनालसँग प्रतिस्पर्धा तथा असार ०७१ को नवौं महाधिवेशनमा उपयोग गर्ने विवेक प्रयोग गरेर ओली अहिलेको आसनमा आइपुग्न सफल भएका हुन् ।

विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्केको घोषणा गरे पनि अध्यक्षको कुर्सीकै दाबेदार नगरेकी हुन्थिन भने ओली उनलाई निषेधको निषेध गर्ने तहमा पक्कै पुग्ने थिएनन् । ओलीको एउटा जबरजस्त मान्यता छ, त्यो हो, आफूलाई चुनौती दिने, प्रश्न उठाउने कोही खडा नहोस् । अध्यक्षका लागि भण्डारी चुनौतीका रुपमा खडा भएकैले ओलीले उनलाई सर्वोत्तम उपयोग गर्नेभन्दा निषेधको निषेध गर्ने नीति लिएका सजिलै बुझ्न सकिन्छ ।

भण्डारीलाई रोक्न ओलीले सुरुमा पार्टी विधानको धारा आठ र नौ देखाए । जुन सर्वथा गलत व्याख्या हो । विगतमा पार्टीले जिम्मेवारी दिएपछि सदस्यता त्यागेर सुवास नेम्वाङ सभामुख र गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षको जिम्मेवारीमा गएका नजिर छँदै छ । सभामुख र अध्यक्षको कार्यकाल पुरा भएपछि उनीहरुको सदस्यता नविकरण भएर पार्टी काममै सक्रिय भएका नजिर छ ।

त्यसैले ओलीले देखाएको विधानको धाराको जग कति कमजोर छ भने विगतमा तटस्थता देखाउनु पर्ने राजकीय पदमा पुग्दा त्यही धारा अन्तरगत पार्टी सदस्यता त्यागेका नेम्वाङदेखि तिमिल्सिनासम्मलाई आर्कषित नहुने, विद्या भण्डारीलाई मात्र आर्कषित हुनै सक्तैन । उही धारा उस्तै प्रकृतिमा फरक–फरक व्याख्या हुँदैन । कुटिल खेलाडीहरुको मात्र त्यस्तो भद्दा व्याख्या गर्छन । तर, ओली राजमा जे हुनै नसक्ने हो, त्यही हुँदैछ । अध्यक्ष पद नताकुन्जेल भण्डारीको सदस्यता पनि नविकरण भएकै हो । तर, अध्यक्ष पद ताकेपछि पार्टी विधान र संविधानकै अपव्याख्या गरिएको छ ।

ओली मनोदशा र शासनमा अहिले विधानको अपव्याख्या किन गरियो भने नेम्वाङ र तिमिल्सिनाले फर्किएर अध्यक्ष पद ताकेका थिएनन्, उनको सेवक मात्र हुन तयार भएका थिए । तर, भण्डारीले ओलीले मनमौजी आसन जमाइरहेको अध्यक्ष पद नै ताकिन । त्यसैले ओली अतालिन पुगे । अतालिएका ओली सम्हालिन चाहिँ सकेनन् । त्यसैले ओलीले आफ्नो विवेकको कमजोरी भदौरे घामको राप झैँ देखाए ।

विद्या भण्डारीलाई पुनः राजनीतिमा आउन नदिने ओलीको मनोदशा एमालेको आन्तरिक लडाइँ मात्रै नभएर भूराजनीतिक लडाइँ समेत भएको बताउँछन् कतिपय जानकारहरु । त्यसमाथि भण्डारीलाई रोक्न बबण्डर मच्चाउनु उनीसँग प्रतिस्पर्धा गर्ने हिम्मत ओलीमा छैन भन्ने लज्जाहीन स्वीकारोक्ति हो ।

आफ्नो अनुकूलता र प्रतिकूलता एवम् पक्षधरताको आँखाबाट होइन, न्याय र अन्यायको, तटस्थताको दृष्टिबाट नियाल्ने हो भने केपी ओलीले विद्या भण्डारीमाथि निकै ठूलो ज्यादती गरेका छन् यसपटक । आफ्ना लागि दुई कार्यकाल र ७० वर्षे उमेर हद जालसाझीपूर्वक सच्याएका ओलीले भण्डारीको पार्टी सदस्यता नविकरण समेत रद्द गरिदिनु अक्षम्य गल्ती हो । जुन ज्यादतीबाहेक इमानजमान, प्राकृतिक न्याय र कानूनको सिद्धान्त कतैबाट पनि युक्ति संगत देखिदैन ।

ओली विज्ञान विरुद्ध समेत मनमस्त बोल्छन्, सार्वजनिक रुपमा कोही कसैले प्रतिवाद गर्दैनन् । म नै ब्रम्ह, विष्णु र महेश्वर हुँ भन्ने ओलीको घातक आत्मप्रवन्चना एमालेको संभावित असफलताको कारण त बन्दैछ नै, त्यो मुलुकका लागि पनि दुर्भाग्य बन्दैछ ।

ओलीका मनपरी कति–कति ?
ओलीले मुलुकको सर्वोच्च कार्यकारी पदमा हुँदा पनि भण्डारीलाई दुरुपयोग गरेर विवादमा ल्याए । संविधानको धारा ७६ (५) अनुसार बहुमत सांसदहरूले हस्ताक्षर गरेर अमुक व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरियोस् भनेपछि राष्ट्रपतिले लुरुक्क स्वीकार गर्नुको विकल्प थिएन । तर भण्डारी ओलीकै उक्साहटमा लागिन । उनले प्रतिनिधि सभाका एक सय ५६ जना सांसदले हस्ताक्षर गरेर प्रधानमन्त्री नियुक्त गर्न दिएको सिफारिस स्वीकार गरिनन् । प्रधानमन्त्री चुन्न पाउने सांसदको अधिकार कुल्चिइन् । सांसदहरूको त्यो अधिकार पछि सर्वोच्चले स्थापित गरिदियो । यी काम भण्डारीले ओलीकै इसारामा गरेकी थिइन ।

राष्ट्रपतिको कुर्सीबाट बाहिरिएपछि पनि ओलीले भण्डारीको नविकरण भइसकेको सदस्यता समेत रद्द गरिदिएका छन् र राष्ट्रपति भइसकेको मान्छे पुनः सक्रिय राजनीतिमा आउनु हुन्न भनेर ‘लविइङ’ गर्दै खुइल्याउनुसम्म खुइल्याएर थप बदनाम बनाइरहेका छन् । फलतः ओली भण्डारीका लागि भरोसाभन्दा भँडास एवम् अभिशाप बनेका छन् ।

एमालेको सदस्यता कहिल्यै नलिएका दुर्गा प्रसाईलाई ओलीले अघिल्लो पटक गोदावरीमा विधान महाधिवेशन प्रतिनिधि र सौराहामा १० औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि मात्र बनाएनन्, केन्द्रीय सदस्य तथा उद्योग विभाग सह–इन्चार्जको जिम्मेवारी दिएका थिए । स्थापनादेखि नै एमालेमा आबद्ध कार्यकर्ताका लागि त्यो जिम्मेवारी निकै उचो हो । जुन विधान सम्मत विल्कुलै थिएन । एमाले विधानले न्युनतम छ महीना त परीक्षणकाल नै भन्छ । त्यसमाथि केन्द्रीय सदस्य चुनिन संगठित सदस्यता लिएको लामो अवधि गुजार्नु पर्ने व्यवस्था छ । तर, ओलीको मनमौजी अघि विधानको केही पनि परिपालना भएन ।

ओलीले राप्रपा केन्द्रीय सदस्य कोमल ओलीलाई एमालेमा भित्र्याउँदै राष्ट्रियसभा सदस्य मात्र बनाएनन्, पार्टी केन्द्रीय सदस्य नै मनोनित गरे । विधानको धारा पल्टाउने हो भने केन्द्रीय सदस्य बन्न ओलीको पनि योग्यता पुग्थेन । पार्टीको सदस्यता कहीँ-कहिल्यै नलिएका राष्ट्रिय परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई ओलीले एमालेको कोटाबाट सांसद बनाएका छन् । फरक पार्टीको अध्यक्षलाई एमालेबाट सांसद बनाउनु जति मनमौजी वा खेलाँची, अरु के हुनसक्ला ?

स्थापनाका दिनदेखि नेकपा (माले), एमालेमा आबद्ध भएर रगत पसिना बगाएका हजारौं नेता–कार्यकर्ताहरु छन् एमालेमा । पार्टीका लागि जीवन समर्पण गरेकाहरुलाई सजिलै पन्छाएर राष्ट्रिय परिवार दलका ढकाललाई प्रतिनिधिसभा सदस्य बनाउन ओलीलाई अलिकति पनि संकोच लागेन ।

राष्ट्र बैंकका पूर्वगर्भनर युवराज खतिवडालाई ओलीले राष्ट्रियसभा सदस्य त बनाए नै, पार्टी केन्द्रीय सदस्य समेत बनाए । पछि अर्थमन्त्रीको भारी बोकाए । त्यतिले नपुगेर अमेरिकाका लागि नेपाली राजदूत र अहिले आर्थिक विकास सल्लाहकारको ढाकर बोकाएका छन् । तर, खतिवडाले आर्थिक विकासको सल्लाह कति दिए ? कहीँ, कतै देखिदैन । कसैलाई ‘लाभमाथि लाभ अनि कसैलाई लातैलात’ एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको अस्त्र बनिरहेको छ । उल्लेखित उदाहरण प्रतिनिधि घटना मात्र हुन् । खोज्दै जाने हो भने यस्तो सूची लामै बन्छ ।

ओलीले आफू जस्तै कलिलो उमेरमै तत्कालीन (माले, एमाले) मा आवद्ध भएर जवानी खर्चिएका भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई घुस, रिसवत (चन्दा पनि प्रकारान्तरले घुस नै हो) नदिउँ भने वापत निष्कासन र निलम्बन गरेर विवेकशील दुनियाँलाई चकित बनाए । नेपालमा आजका दिनमा बोली र व्यवहारबीच सयमा सय आनका तान फरक भएका नेता कुनै छन् भने ती केपी ओली हुन् । उनी सधैँ कुनै न कुनै अनुहारहीन अभ्यास गरिरहेका हुन्छन् । त्यस्तो अभ्यासले कसलाई कतिबेला दानवीकरण र देवत्वकरण गर्ने हो ? टुङ्गै हुँदैन ।

स्वर्ग–नर्क सँगै जाने बचन दिएर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बल्ड्याङ ख्वाउन होस् वा आफैँले उपप्रधान र गृहमन्त्री बनाएका रवी लामिछानेलाई यसबेला जेलमा कोच्न होस्, ओलीको भूमिका दुनियाँले बुझ पचाए जस्तो गरे पनि बुझेकै छ ।

अरुलाई अनादर गर्ने जण्ड स्वभाव
प्रतिपक्ष त सामान्य भइहाल्यो, अग्रज, सहयोद्धा, आसेपासे वा अरु जो कोही हुन्, उनीहरुलाई कुनै न कुनै रुपमा छेडखानी, अनादर गर्नु ओलीको रक्तकणमा प्रवाह भइरहने सबभन्दा ‘उम्दो’ आदत हो । उनले ऐनमौकामा अनादर गर्न कोही, कसैलाई पनि बाँकी राखेका छैनन् । दिवंगत भएको ३२ वर्षपछि हीरक जयन्तीको अवसरमा १४ असारमा राष्ट्रियसभा गृहमा आफैँ प्रमुख अतिथि भएको कार्यक्रम ओलीले पूर्वमहासचिव मदन भण्डारीलाई चार वटी श्रीमती ल्याएको, सहकारी ठगी गरेको जस्ता आरोप लागेको भन्दै कुटिल अनादर गरे । जुन कुरा उनले वेतुक र वेप्रसंगमा निकालेका थिए । एमालेका हजारौं कार्यकर्ताहरुलाई भण्डारीमाथि लगाएको त्यो आरोपबारे छेकछन्दै छैन सायद ।

विद्यालाई उसैगरी अनादर गरिरहेका छन् यसबेला । केही दिन अघि एउटा अन्तर्वार्तामा ओलीले विद्या भण्डारीलाई अध्यक्ष हुने अनुभव नै नभएको भनेर होच्याए । ०३५ सालमा भोजपुर क्याम्पसमा आईए पढ्दै गर्दा वाम समूहबाट प्रभावित भएर विद्यार्थी राजनीतिमा आबद्ध भएकी भण्डारी ०३७ सालमै अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा भाग लिन काठमाडौं आएकी थिइन् । २४ साउन ०३९ मा मदनसँग वैवाहिक बन्धनमा बाँधिनु अघि नै उनी महेन्द्र मोरङ क्याम्पस बिराटनगरमा अनेराववियुबाट कोषाध्यक्ष निर्वाचित भएकी हुन् ।

०५० को उपनिर्वाचनपछि पटक–पटक सांसद, मन्त्री, दुई कार्यकाल अनेमसंघको अध्यक्ष, दुई कार्यकाल नै एमालेको निर्वाचित उपाध्यक्ष, सात वर्षभन्दा बढी राष्ट्रपति भएकी भण्डारीलाई ओलीले अनुभव नभएको भन्नु अनादरको नियतबाहेक अरु कोही थिएन । तीन दशकसम्म ओली र भण्डारी सँगै रहदा उनीहरुको सहकार्यलाई मजबुत उदाहरण मानिन्थ्यो । तर यसबेला आएर पुष्टि भएको छ कि ओलीले भण्डारीसँग सहकार्य नभई आफ्नो फाइदा र माधव नेपाल, झलनाथ खनालहरु विरुद्ध लड्न उनलाई बुद्धिमतापूर्वक उपयोग गरेका रहेछन् । अहिले भण्डारी उनैसँग प्रतिस्पर्धा गर्ने थलोमा पुगेपछि पार्टी सदस्यता समेत खाइदिनुले त्यही पुष्टि गर्छ । अर्थात ओलीले नेपाल, खनालहरु विरुद्ध लड्न विद्यालाई विवेकपूर्वक प्रयोग गरेका थिए । यसबेला आफैँसँग प्रतिस्पर्धात्मक तयारी गरेपछि विवेक कुल्चिएर अपमान गरिरहेका छन् ।

पूर्वमन्त्री राधाकृष्ण मैनालीका अनुसार गोलघरका कठिनतम् दिनहरुमा ओलीको दिसापिसाब सोरेर, शरीरभरी तेल लगाई दिएर, तागतिलो खानेकुरा जोहो गरी ख्वाएर बचाएका थिए । जुनबेला ओली टिबी रोगले सिठ्ठो भएका थिए र खोक्दाखोक्दै हिरिक्क हुने अवस्थामा थिए । आफूलाई कठिनतम क्षणमा अघात सहयोग गरेका तिनै मैनालीलाई समेत ऐनमौकामा धोकाको तातो तावाले हान्न ओलीपछि परेनन् । माधवकुमार नेपालले सामान्य कारणमै मैनालीलाई पार्टीबाट निष्कासन गर्दा होस् वा आफैंले स्थायी समितिमा लैजान्छु भन्ने आश्वासन दिएर पुनः एमाले भित्र्याइसकेपछि अपमानको तरबार बर्साएर होस्, ओलीले मैनालीलाई अनादर गरिरहे ।

०७३ मा प्रधानमन्त्रीको कुर्सीमै रहदा ओलीले वामदेव गौतमलाई बालुवाटारभित्रै निकै तितो अनादर गरेका जानकारहरु सुनाउँछन् । ०७० मा झलनाथ खनालसँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न ओलीले गौतमको सहयोग लिएका थिए । त्यसबेला गौतमले सहयोग नगरेका हुन्थे भने ओली कुनै हालतमा संसदीय दलको नेता निर्वाचित हुने थिएनन् । अनि संसदीय दलको नेता नभएका भए पार्टी अध्यक्ष हुन सक्ने थिएनन् ।

यो ‘ओपन सेक्रेट’ भइसकेको कुरा हो कि त्यसबेला ओलीले गौतमलाइ प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । तर, त्यो आश्वासन त पुरा गरेनन् नै, एक दिन बालुवाटारभित्रै गौतमलाई हियाएर ‘ए बामदेव प्रधानमन्त्री हुने हो भने अंग्रेजी बोल्न जान्नु पर्दछ । अंग्रेजी बोल्न सिकेका छौं ? भनेका थिए । ओलीले त्यसो भन्दा गौतमले निकै ठूलो अनादर महसुस गरेका एक जना नेता बताउँछन् ।

पार्टी संगठनमा ईश्वर पोखरेल ओलीभन्दा माथि रहेको इतिहास छ । पोखरेल कोअर्डिनेश केन्द्र, मालेका संस्थापक समेत हुन् । महासचिव, वरिष्ठ उपाध्यक्ष जस्ता पदमा पोखरेल निर्वाचित भएका हुन् । तर, कतिसम्म भने बालुवाटारमा ओलीलाई भेट्न जाँदासमेत पोखरेललाई घण्टौं कुराएर भेट नै नदिइ निराश बनाएर फर्काएका छन् । हुँदाहुँदा अहिले त वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरिदिए । सौराहामा भएको १० औं महाधिवेशनमा सुवास नेम्वाङ्गले वरिष्ठ उपाध्यक्षमा निर्वाचन लड्छु के भनेका थिए, ओलीले कनिष्ठ उपाध्यक्षको पछिल्लो लहरमा राखिदिए ।

उपाध्यक्ष भीम रावल (विद्यावारिधि) र स्थायी समिति सदस्य घनश्याम भूसाललाई ओलीले ०७९ को निर्वाचनमा टिकट समेत दिएनन् । २०६२/६३ को सडक आन्दोलनमा कहिल्यै सक्रियतापूर्वक नखटेका ओलीलाई तत्कालीन महासचिव माधव नेपालले उपप्रधान र परराष्ट्रमन्त्री बनाएका थिए । जबकि त्यसबेला नेपाललाई एमालेभित्रका धेरै नेताहरुले जनआन्दोलनमा सक्रियतापूर्वक सहभागी नभएका ओलीलाई उपप्रधान र परराष्ट्र मन्त्री बनाउनु हुन्न । उनलाई त्यो जिम्मेवारी दिँदा जनआन्दोलनको अपमान हुन्छ भनेर सुझाव दिएका थिए । नेपालले उनीहरुको त्यो आवाजलाई वेवास्ता गरेर उडाइदिए । तर, तिनै ओलीले कालान्तरतमा नेपाललाई भित्तामा पुर्याई दिएका छन् ।

मदन, विद्या, माधव, बामदेव, ईश्वर, भीम, घनश्यामलगायत मात्र होइन, विद्यार्थी नेता प्रकाश पौडेल, युवा संघका बागी सुमन पुरी, प्रेस चौतारीमा राजेश राईलगायत ‘भुरा’ हरुलाई समेत एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले हुर्मत लिएका छन् । गुलामहरु बाहेक स्वस्थ आलोचनात्मक चेत राख्नेहरुलाई समेत बैरी देख्ने ओली मनोविज्ञान निकै अत्यासिलो छ ।

मदन भण्डारीले अघि सारेको जबज (जनताको बहुदलीय जनवाद) को सिद्धान्त देखाएर हिड्ने तर उनकै श्रीमती, पार्टीकी पूर्वउपाध्यक्षको सदस्यता रद्द गर्ने र गर्न उकास्नेहरुले देशमा समृद्धि ल्याउँछन् भनेर कल्पना गर्नु भन्दा ‘ठट्टा’ केही हुनै सक्तैन । जानकारका अनुसार जसरी माधव नेपाल एमालेमा तीन कार्यकाल महासचिव भए, ठिक त्यसैगरी ओलीलाई पनि नेपालको विरासत बराबर अध्यक्ष हुने इच्छा छ । त्यसको छेकबार विद्या भण्डारी त के ! आफ्नै श्रीमती राधिका शाक्य भइन भने पनि ओलीले उनलाई माफ दिने छैनन् ।

माधव बस्‍नेत नेपालमुहार डटकमका सम्पादक हुन् । उनी सुशासन, सुरक्षा र राजनीतिका विषयमा औँला चलाउँछन् ।

Continue Reading
1 Comment

1 Comment

  1. Subodh Raj Pyakurel

    July 25, 2025 at 10:28

    आलोचनात्मक चेत नभएको मानिस विवेकशील हुन सक्दैन। सटिक सत्य र तार्किक आलोचना जीवन्त समाजको पहिचान हो। मदन भण्डारी बारम्बार भन्नुहुन्थ्यो, जो आलोचनाको घेराभित्र रहँदैन त्यसले उन्नति गर्न सक्दैन।
    तपाइको लेख मनपय्रो।कृपया निरन्तर रहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.