Connect with us

तथ्य खोज

प्रा. डा. युवराज संग्रौलाः एक देशभक्त नागरिक

Published

on

प्रा.डा. युवराज संग्रौलाः व्यक्ति एक, व्यक्तित्व अनेक

विधिको शासन, सामाजिक नागरिकतन्त्र र देशभक्तिका पक्षमा पैरवी गर्दै आउनुभएका कानुनविद् प्राध्यापक डाक्टर युवराज संग्रौला समाज रूपान्तरणको महायज्ञमा समर्पित हुनुभएको छ । संग्रौलाको जीवनकथा एउटा खुला किताब हो, जसले समातामूलक समाज निर्माणमा योगदान पुर्याउन नेतृत्व प्रयत्न गरिरहनु भएको छ ।

सरोजा सिग्देल

संसारमै कानुन कलेजहरुबिच उदाहरणीय बनेको छ, ‘काठमाडौँ स्कुल अफ ल ।’ निजी क्षेत्रको नेपालकै पहिलो कानुन क्याम्पसका संस्थापक हुनुहुन्छ, प्राध्यापक डाक्टर युवराज संग्रौला । नेपालमा पाँच वर्षे स्नातक तहको कानुनी शिक्षा भित्र्याउने एकलौटी श्रेय संग्रौला नेतृत्वको समूहकै सोंचमा जान्छ ।

२५ वर्षको अवधिमा यस कलेजबाट करिब चार हजारभन्दा बढी विद्यार्थीले स्नातक उत्तीर्ण गरिसके । यहाँबाट उत्पादित सयौँ विद्यार्थी न्याय क्षेत्रमा सक्रिय छन् । उनीहरू परिवर्तनका संवाहक हुन् ।

काठमााडौं स्कुल अफ ल

‘काठमाडौँ स्कुल अफ ल’ छहारी दिने विशाल वृक्ष बनिसकेकाले संग्रौलाको मुहारमा सन्तुष्टि झल्किन्छ । यद्यपि केएसएललाई विश्वविद्यालयमा रूपान्तरण गर्ने उहाँको योजना पूरा हुन बाँकी नै छ ।

संग्रौला न्याय क्षेत्र मात्र होइन, समग्र देशको रूपान्तरणका पक्षमा समर्पित हुनुहुन्छ । त्यसैले मुलुकलाई समृद्ध बनाउन पूर्वीय दर्शनमा टेकेर एउटा नयाँ विचार अघि सार्नु भएको छ, ‘सामाजिक नागरिकतन्त्र ।’

जसका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई लक्ष्य भेद गरेर प्रतिनिधिसभा निर्वाचनको महासंग्राममा झापा–२ बाट उम्मेदवार बन्नु भएको छ । संसद भवनमा देशभक्ति, कानुन र विधिको शासनका पक्षमा वकालत गर्न प्रा.डा. संग्रौला निर्वाचनको महाअभियानमा होमिनु भएको हो ।

विधिको शासन, सामाजिक नागरिकतन्त्र र देशभक्तिका पक्षमा पैरवी गर्दै आउनुभएका डा. संग्रौलाकोे जीवनकथा एउटा खुला किताब हो, जसको आवाजले समातामूलक समाज निर्माणमा योगदान पुर्याउन प्रेरित गर्दछ ।

पूर्वी पहाडको ठिटो
प्रा.डा. संग्रौलाको जन्म पाँचथरको हालको हिलिहाङ गाउँपालिका, सुभाङमा भएको हो । चार दाजुभाइमध्ये उहाँ कान्छो । उहाँका तीन दिदीबहिनी थिए । त्यसैगरी बनारसमा पढ्दा बित्नुभएका काकाका दुई छोरी र सानीमा (काकी पनि) समेत सँगै बस्नुहुने भएकाले संयुक्त परिवार थियो ।

मध्यम वर्गीय किसान परिवार हो, उहाँको । परिवार श्रममा विश्वास गथ्र्यो । खेतीपातीको उब्जनीले खान पुग्ने जमिन थियो । मकै, गहुँ, फलफूल, तरकारी उत्पादन हुन्थ्यो । गाईभैँसी, बाख्रापालनबाट पनि आम्दानी हुन्थ्यो ।

उहाँको बुबा वामपन्थी झुकाव निकट रहेर राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । घरव्यवहार चलाउने दायित्व आमाको काँधमा थियो । महिलाको नेतृत्वमा चलेको परिवार निकै अनुशासित थियो ।

गाईभैँसीलाई घाँस काटेर, भैँसीको भकारो सोरेर हुर्केकाले बाल्यकालमा उहाँका ठुला सपना थिएनन् । मन्द गतिको नै सही, घरमा राजनीतिक वातावरणमा भएकाले कक्षा आठमा पढ्दा उहाँले समाज परिवर्तनमा राजनीतिको ठुलो महत्व राम्रोसँग बुझ्नुभयो । त्यसो त सानैदेखि उहाँको मनमा विभेदविरुद्ध विद्रोहको ज्वाला दन्केकै थियो ।

‘त्यसबेला मेरो सपना के थियो भने कि त म मेडिकल डाक्टर भएर मान्छेको सेवा गर्छु या राजनीति गरेर गरिबलाई पनि सजिलै जीवन बाँच्न पाउने वातावरण बनाउँछु’, उहाँ बाल्यकालमा आफूमा हुकिर्एको सपना सुनाउनु हुन्छ ।
त्यही राजनैतिक चेतका कारण उहाँ छुवाछुतविरुद्ध पैरवी गर्न थाल्नुभयो । दलित समुदायका घरमा पानी मागेर खाने, उनीहरूका बालबच्चासँग बसेर खाना खाने गर्नुभयो । अर्थात् व्यवहारमै विद्रोही बन्नुभयो ।

उहाँलाई पाँच वर्षको उमेरमा गाउँ नजिकैको नीलगिरि माध्यमिक विद्यालयमा भर्ना गरियो । खासमा उहाँको जन्म वि.स. २०१७ सालमा भएको हो । तर, विद्यालयले एसएलसी. परीक्षामा ठिक १६ वर्ष पुगेको देखाउन जन्ममिति वि.सं. २०१६ राखिदिएछ !

विद्यालय घरबाट आधा घण्टाको पैदलमा थियो । त्यतिबेला विद्यालयमा मेच, कुर्सी केही थिएनन् । चकटीमा बस्नुपथ्र्यो । चकटीको अगाडि सल्लोको तखता हुन्थ्यो । त्यहाँ रातोमाटोका डल्ला हुन्थे । त्यसकै धुलोमा सिमलीका छेस्काले क, ख लेखेर कखरा सिक्नुभयो ।

‘हाम्री जन्तरे बाउकी छोरीलाई हामी ठुलो फुपू भन्थ्यौँ । उनले नै क, ख सिकाउँथिन्’, डा. संग्रौलाले सम्झनुभयो, ‘ठुली फुपूू भनेपछि हामी डरले सतर्क हुन्थ्यौँ । तर, उनले माया गर्थिन् । सिँगान पनि पुछिदिन्थिन् ।’ ती ठुली फुपूूले जीवनभर पढाउनुभयो । केही वर्षअघि उहाँको निधन भइसक्यो ।

उहाँले कक्षा चारदेखि कक्षा छ सम्म झापाकोे गरामनि जुनियर मा.वि.मा पढ्नुभयो । वि.सं. २०२८ मा झापा विद्रोहको घटनापछि त्यो विद्यालय बन्द भयो । त्यसैले फेरि सुभाङमै फर्केर पढ्नुभयो ।

वास्तवमा मान्छे जन्मजात असाधारण क्षमताको हुँदैन । समाजसँग अन्तरक्रिया गर्दागर्दै मानिसले व्यक्तित्व र क्षमता विकास गर्दछ । उहाँ पनि सानैदेखि समाजसँग अन्तरक्रिया गर्नुहुन्थ्यो । भेला, बैठक, चौतारामा बुढापाकादेखि सबै उमेर समूहका कुरा सुन्ने गर्नुहुन्थ्यो ।

बालवयमा पढ्नभन्दा खेलकुदमा रुचि थियो । ‘कक्षा पाँचमा हुँदासम्म पढाइमा रुची जाग्दैनथ्यो । म खेल्न रुचाउँथें’, उहाँ भन्नुहुन्छ, ‘पौडी खेल्न, फुटबल खेल्न माहिर थिएँ । रुखका टुप्पाटुप्पा चढेर आँप टिप्थेँ, काभ्रोको गुभो टिप्थेँ ।’
नपढेकाले एकपल्ट उहाँलाई अभिभावकले धान राख्ने काठको ढुकुटीमा थुनिदिएछन् । त्यहाँ धानमा झुम्मिएका पुतलीले टोक्यो । उहाँले १० मिनेटमै पाठ कण्ठ पार्नुभएपछि बाहिर निकालिदिए ।

छोराछोरीले पढाइमा ध्यान नदिँदा हरेक आमाबाबु चिन्तित बन्छन् । एकदिन उहाँको बुबाले चिन्ता प्रकट गर्नुभयो, ‘यो पढ्दैन, यसले के गरेर खाला ?’

त्यति नै बेला उहाँको ठुल्दाइले थप्नुभएछ, ‘सबैले पढेर के गर्नु, एउटा त हलो जोत्ने पनि चाहियो नि, यो हली हुन्छ ।’ खासमा ठुल्दाइले व्ङ्ग्यात्मक स्नेहस्वरुप त्यसो भन्नुभएको थियो । तर, त्यो कुरा युवराजलाई बिझायो ।

‘म पनि उही बाउको छोरा हुँ नि, मलाई हेप्ने ?’, उहाँले पढाइमा मन दिनुभयो, ‘त्यसपछि म कक्षामा पहिलो हुन थालेँ । कक्षाको हिरो नै भएँ ।’

उहाँ प्रकृतिमा रमाउनुहुन्थ्यो । प्राकृतिक कुराप्रति जिज्ञासु हुनुहुन्थ्यो । राजनीतिमा पनि उत्तिकै लगाव थियो । त्यसैले शिक्षकहरू चिन्तित थिए, यसले राजनीतिमा लागेर पढाइ पो बिगार्छ कि !

उहाँ खेलकुदमा सक्रिय बन्नुभयो । स्कुलमा साथीहरूको नेतृत्व गर्नुहुन्थ्यो । यसरी सानैदेखि परिवारभन्दा समाजसँग बाँच्नुभयो । समाजलाई नजिकबाट विश्लेषण गर्नुभयो ।

एउटा घटना, सात वर्षको हुँदा उहाँलाई टाइफाइड भयो । चार दिन बेहोस हुनुभएछ । सबैले ‘युवराज म¥यो’ भनेर आशा मारेका रहेछन् ! ‘म बाँचें तर’, भावुुक हुँदै उहाँ सुनाउनु हुन्छ, ‘तर दुःखको कुरा त्यही टाइफाइडले थलिएर सात दिनमा मेरी सानी बहिनी बिती ।’

सानोमा निकै चुलबुले स्वाभाव थियो उहाँको । तिनताका घरका बार्दलीमा आमा, सानीमा सबै मिलेर काँक्रा, लप्सी, कुभिन्डाको अचार बनाएर राख्थे । उहाँ मौका हेरेर चोरेर खानुहुन्थ्यो । चोर्दाचोर्दै एकपटक डोरीमा अल्झिएर चिउँडो फुट्यो, २४ घण्टा बेहोस हुनुभयो । घरभन्दा पारी आठराई सङ्क्रान्तिका कम्पाउन्डरलाई घरमा बोलाएर उपचार गरेपछि बिस्तारै तङ्ग्रिनुभयो ।

पहाडी जीवनको प्राकृतिकता, उकालीओरालीले धेरै कुरा सिकाउँथ्यो । उहाँले कक्षा साततिर पढ्दा मात्र चप्पल लगाउन पाउनुभयो । नत्र खाली खुट्टा हिँड्नुपथ्र्यो । पछि वर्षमा दुई जोर रातो जुत्ता पाएको उहाँ सम्झिनुहुन्छ । त्यस्तै वर्षमा दुई जोर दौरासुरुवाल लगाउनुहुन्थ्यो । साथमा कोट, अस्टकोट पनि । गाउँमै खाडीको लुगा बनाउने चलन थियो । दसैँमा भने पपलिनका लुगा पाउनुहुन्थ्यो । बाल्यकालका अनगिन्ती सम्झना छन् । ती सबै सँगाल्ने हो भने, छुट्टै पुस्तक बन्छ ।

डाक्टर बन्ने सपना त्याग
मुलुकमा सङ्घीयता लागु भएको दुई दशक पुग्न लाग्दा समेत धेरै शक्ति, पहुँच काठमाडौँ केन्द्रित छ । पञ्चायतको त्यो समयमा त झन पढ्न, उपचार गर्न र कुनै काम गर्न काठमाडौँ नआई सुखै थिएन ।

एसएलसी.पछि एक वर्ष उहाँले इलाममा कृषि क्याम्पस पढ्नुभयो । उहाँलाई मेडिकल पढ्ने इच्छा थियो । मेडिकल पढ्न वीरगन्ज जानुपथ्र्यो । यता बुवाचाहिँ उहाँलाई सेनाको अधिकृत बनाउन चाहनुहुन्थ्यो । त्यसका लागि बुवाले प्रयत्न पनि गर्नु भयो । तर, युवराज स्वयम्ले लय नटिपेपछि बुवाकै सुझावमा काठमाडौँमै बसेर नेपाल कानुन क्याम्पस प्रदर्शनीमार्गमा आईएल पढ्न सुरु गर्नुुभयो । बुवा उहाँलाई सुझाउनुुहुन्थ्यो, ‘कृष्णप्रसाद भण्डारीजस्तो वकिल बन्नु पर्दछ ।’

काठमाडौँमा बस्न त्यति गाह्रो भएन, दालचामल र तरकारी घरबाटै आउँथ्यो । स्नातक तह दोस्रो वर्षमा पढ्दा उहाँले दरबारमार्गको एउटा ट्रेकिङ कम्पनीमा गाइडको काम गर्नुभयो । त्यो पार्टटाइम ‘जब’ बाट केही कमाइ हुन्थ्यो ।
पढाइसँगै राजनीतिमा पनि सक्रिय बन्न थाल्नु भयो ।

वि.सं. २०३५ साल चैत्रबाट सुरु विद्यार्थी आन्दोलनमा सक्रिय अगुवाइ गर्नेमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो । पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुलिफीकर अलि भुट्टोलाई मृत्युदण्ड दिएपछि नेपालमा विद्यार्थी आन्दोलन सुरु भयो । खासमा तिनताका युवराजजस्ता तन्नेरीहरू एम्नेस्टी इन्टरनेसनलका कार्यक्रममा पहिलेदेखि सहभागी हुने गरेका थिए ।

पाकिस्तानी घटनाको विरोधमा एम्नेस्टीले राति नै विज्ञप्ति निकाल्यो । भोलिपल्ट त्रिचन्द्र, ल कलेज पढ्ने विद्यार्थीले मृत्युदण्डको विरोधमा कार्यक्रम गरे । त्यसमा युवराज त संलग्न थिए नै, पूर्वप्रधान न्यायाधीश गोपाल पराजुली (२०७४–०४–०२–०७४–१२–०१) लगायतले पनि भाषण गरे ।

भाषणपछि विरोध जुलुस निस्कियो । बागबजारस्थित भक्तपुर बसपार्क हुँदै जुलुस रत्नपार्क भएर कलेज फर्कन लाग्दा प्रहरीले दमन ग¥यो । रत्नपार्कमा पञ्चायती विद्यार्थीहरूको सङ्गठन ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’ को कार्यालय थियो । जुलुसको कुनै घुसपैठियाले रत्नपार्कको रातो घरमा ढुङ्गा हानिदिएछ ।

पञ्चायतका गुण्डाहरुले प्रगतिशील विद्यार्थीमाथि आक्रमण गर्न थाले । ‘मेरो ढाडमा दाउराले हाने । म ढलमा खसेँ’, उहाँ भन्नुहुन्छ, ‘त्यहाँबाट हामी काठमाडौँका हरेक क्याम्पसमा पुग्यौँ । पब्लिक युथ क्याम्पसमा विद्यार्थीले धेरै मण्डलेलाई पिटे ।’

पछि सरकारसँग विद्यार्थीको सम्झौता भयो । ने.वि. सङ्घका बलबहादुर केसी, पुष्पलालको अनेरास्ववियुका शरणविक्रम मल्ल र केशरजङ्ग रायमाझी निकट फेडरेसनका कैलाश कार्कीले सरकारसँग गरेको सम्झौता धोका भयो भनेर विद्यार्थी फेरि आन्दोलित बने ।

२०३६ साल जेठ १० गते अमृत साइन्स क्याम्पसबाट विशाल जुलुस निस्कियो । त्यहीबाट विद्यार्थीले केसी, मल्ल र कार्कीलाई कालो मोसो दल्दै ठेलागाडामा राखेर नयाँ सडक ल्याइपुर्याए । त्यही बेला केही अराजक युवाले नयाँ सडकमै रहेको शाही नेपाल वायुसेवा निगमको कार्यालयमा आगो झोसिदिए ।

प्रहरीले ठुलो धरपकड गर्यो । धेरै विद्यार्थी पक्राउ परे । उहाँलाई पनि ३६ दिन हिरासतमा राखियो । आन्दोलन चर्कियो । राजा वीरेन्द्रले जनमत सङ्ग्रह घोषणा गरेर सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएपछि मात्र उहाँहरूलाई जेलबाट रिहा गरियो ।

समय बित्दै थियो । मन्त्रिपरिषद् कार्यालयले सुब्बा पदमा आवेदन खुलायो । त्यहाँ ल क्याम्पस पढेका संग्रौला र अर्का एक जनाले काम पाए । तर, सात महिना नपुग्दै राजनीतिका कारण जागिर गुम्यो ।

नेपाल ल क्याम्पसको पढाइ सकेर उहाँ र हालका भूमि व्यवस्था मन्त्री कुमार इङ्नाम एलएलएम जुरिसप्रुडेन्स र अन्तर्राष्ट्रिय कानुन अध्ययन गर्न भारत जानुभयो । दिल्ली पुग्दा कलेजको फर्म भर्ने अवधि सकिएको रहेछ । त्यसैले फर्कंदा पटना भएर आउनुभयो । पटनामा चाहिँ भर्नाको म्याद बाँकी नै रहेछ । त्यहीँ आवेदन दिएर आउनुभयो । पछि युवराज मात्र भर्ना हुनुभयो ।

पटनाको कलेजमा पहिलो वर्षमा ३० जना विद्यार्थी थिए । तर, परीक्षामा सबै विषय उत्तीर्ण गरे मात्र दोस्रो वर्षमा पढ्न पाइने नियम रहेछ । कुनै एक विषयमा मात्र फेल भए पनि पुरै दोहो¥याउनुपर्ने हुन्थ्यो ।

उहाँले दिनरातै मिहिनेत गर्नुभयो । परीक्षा दिँदा उहाँ मात्रै उत्तीर्ण हुनुभयो । उहाँ सम्झनुहुन्छ, ‘दोस्रो वर्षमा म एउटा विद्यार्थीलाई ६ जना प्रोफेसर थिए ।’ त्यहाँको दुई वर्षे पढाइ सकेर उहाँ नेपाल फर्कनुभयो । अनि पृथ्वीनारायण क्याम्पस पोखराबाट कानुन पढाउन सुरु गर्नुभयो ।

उहाँले पछि ‘क्रिमिनल ल’ मा विद्यावारिधि (पिएचडी) गर्नुभयो । धेरै देशबाट प्रशिक्षण लिनुभयो । आफैँले पनि धेरै ठाउँमा पुगेर प्रशिक्षण दिनुभयो । संग्रौला समयसमयमा विदेशमा भिजिटिङ प्रोफेसरका रूपमा पढाउन पुग्नुहुन्छ ।
एउटा कुरा, शिक्षण पेसामा रहुन्जेल उहाँले कहिल्यै राजनीति गर्नु भएन । कुनै प्राध्यापक सङ्घ वा सङ्गठनको सदस्य पनि बन्नु भएन । उल्लेख भइसक्यो, अहिले भने राजनीीतक मैदानमा स्वतन्त्र उम्मेदवार बन्नु भएको छ ।

वकालतसँगै प्राध्यापन
उहाँको भित्रीमनदेखि न्यायाधीश हुनुपर्छ भन्ने कहिल्यै आएन । बरु एउटा गतिलो प्राध्यापक बन्नुपर्छ भन्ने हुटहुटी जागिरहन्थ्यो । सर्वोच्च अदालतमा कृष्णप्रसाद पन्त र बासुदेव ढुंगानाका बहस खुब मन पराउनुहुन्थ्यो । पन्त खरर बोलेर बहस गर्नुहुन्थ्यो । उहाँकै प्रभाव संग्रौलामा पनि भेटिन्छ ।

पटनामा पढ्दा प्राध्यापक प्रोफेसर आर.सी हिङरानी थिए । उनी इन्दिरा गान्धीका कानुनी सल्लाहकार पनि थिए । उनको ज्ञानको गहिराइ र पढाउने शैलीबाट उहाँ प्रभावित बन्नुभयो । लगातार लेक्चर दिने र विद्यार्थींसँग अन्तरक्रिया गर्ने त्यो शैलीबाट उहाँ प्रभावित हुनुहुन्छ ।

पटनाबाट फर्केर आएपछि वि.सं. २०४३ सालको सुरुदेखि उहाँले नेपाल ल क्याम्पसमा पढाउन प्रयत्न गर्नुभयो । बामपन्थी पृष्ठभूमिका संग्रौलालाई पञ्चायती शासनले स्वीकारेन । बरु पृथ्वीनारायण क्याम्पस, पोखराका प्रमुख गणेश गुरुङले उहाँलाई पोखरा निम्त्याउनु भयो । त्यहाँ उहाँले चार वर्ष पढाउनुभयो । सँगसँगै ल फर्म पनि चलाउनुभयो । ल फर्म एकदमै चलेको थियो ।

पोखराबाट काठमाडौँ आएपछि त्रिभुवन विश्वविद्यालयको डिन कार्यालयमा नियुक्त हुनुभयो । त्यहाँ उहाँले कार्यमूलक कानुन प्रशिक्षण कार्यक्रम ‘क्लिनिकल एजुकेसन’ सुरु गर्नुभयो । चार वर्ष कार्यक्रम चलाएपछि पुराना शिक्षक र दलीय राजनैतिक असहयोग भयो । त्यसैले एक वर्षे बेतलबी बिदा लिएर राजीनामा दिनुभयो । त्यतिन्जेल उहाँले त्रिभुवन विश्वविद्यालयमा ११ वर्ष सेवा गरिसक्नुभएको थियो ।

जागिर छाडेपछि फेरि वकालतमा फर्किनुभयो । तीन वर्ष सक्रिय वकालत गरेपछि साथीहरूसँग मिलेर ‘सेन्टर फर लिगल रिसोर्स डेभलपमेन्ट’ (सेलर्ड) नामक संस्था खोल्नुभयो । र, कानुनी अनुसन्धानमा लाग्नुभयो । सेलर्डको मुख्य उद्देश्य नै कानुन र फौजदारी मुद्दामा अनुसन्धान गर्नु थियो । जसबाट गरिबलाई कानुनी सेवा दिने र कलेज सुरु गर्ने आधारभूमि तयार बनाउनुथियो ।

उहाँले त्यही संस्थाबाटै महिला बेचबिखनबिरुद्ध नुवाकोट, सिन्धुपाल्चोक, चितवनलगायतका जिल्लामा अभियान चलाउनुभयो । महिला सशक्तिकरणका लागि तालिम सञ्चालन गर्नुभयो । साथै सन् १९९५ देखि नै ब्रिटिस गोर्खा सैनिकमा कार्यरत नेपालीको समान अधिकारको आन्दोलनमा कानुनी सहयोग पु¥याउँदै आउनुभएको छ ।

वि.सं. २०५७ मा उहाँहरूले ‘काठमाडौँ स्कुल अफ ल’ सुरु गर्नुभयो । त्यसपछिका दिनमा खासखास मुद्धामा मात्र वकालत गर्नुभयो । कमाइ गर्ने तरिकाले वकालत गर्नु भएको छैन ।

आठ महिना महान्यायाधिवक्ता
नेपाल सरकारको कानुनी सल्लाहकार हो महान्यायाधिवक्ता । उहाँ वि.सं. २०६८ साल माघमा महान्यायाधिवक्तामा नियुक्त हुनुभयो । त्यो बेला पहिलो संविधान सभाले संविधान बनाउन नसकेपछि म्याद थपिएको थियो । फेरि पनि म्याद थपिने विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

त्यतिबेला प्रधानमन्त्री हुनुहुन्थ्यो, झलनाथ खनाल । पूर्वेली भएका नाताले सामान्य चिनजान भए तापनि उनीसँग संग्रौलाको गहिरो हिमचिम थिएन । संविधानसभाको मुद्दालाई पार लगाउने प्रभावशाली कानुनविद्को खोजी गर्दै जाँदा तत्कालीन एमालेका नेता राजेन्द्र पाण्डेले डा. संग्रौलाको नाम प्रस्ताव गरेपछि प्रधानमन्त्री खनालले उहाँसँग अनुरोध गर्नुभएको थियो ।

उहाँ सिन्धुपाल्चोकको हेलम्बुमा काम गरिरहनुभएको थियो । फर्केर परिवारसँग सल्लाह गर्नुभयो । छोरी युगिच्छाले ‘नजानू बुबा तपाईंको शिक्षकको भूमिका र पहिचान समाप्त हुन्छ’ भनिन् । अर्की छोरी स्वेच्छाले ‘यसबाट त हाम्रो कलेजलाई पनि फाइदा पुग्छ जानुस्’ भनिन् ।

छोरी र श्रीमती गीताको सुझावपछि महान्यायाधिवक्ता बन्ने प्रस्ताव स्वीकार गरेको बताउनुहुन्छ उहाँ ।

छोटो समयमा पनि आफ्नो कार्यकाललाई उहाँले उल्लेखनीय बनाउनुभयो । महान्यायाधिवक्ता कार्यालयलाई विभागमा ढाल्ने, पाँच वर्षे योजना बनाउने काम गर्नुभयो । अर्को महत्वपूर्ण कुरा, महान्यायाधिवक्ताले निर्णय गर्ने होइन, नायब महान्यायाधिवक्ता चार जना र सहन्यायाधिवक्ताले सामूहिक निर्णय गर्ने प्रचलन बसाउनुभयो । साथै अनुसन्धान केन्द्र र जर्नल प्रकाशनका काम शुभारम्भ गर्नुभयो ।

काठमाडौँ सरकारी वकिल कार्यालयलाई तीन महिनामै नमुना बनाउने श्रेय पनि पाउनुभयो । उहाँले तीन जना वकिलबाट बढाएर १६ जना वकिल राख्ने व्यवस्था मिलाउनुभयो ।

काम गर्दै जाँदा प्रधानमन्त्री खनालको सरकार ढल्यो । डाक्टर बाबुराम भट्टराईको सरकार आयो । अनि उहाँले पनि राजीनामा दिनुभयो । त्यतिबेलै उहाँले घोषणा गर्नुभयो, ‘अब म सरकारका विरुद्धमा फौजदारी मुद्दा लड्दिनँ ।’
पछि उहाँ गृह मन्त्रालयमा सुरक्षा निकाय सुदृढीकरण उच्चस्तरीय कार्यदलको संयोजक भएर काम गर्नुभयो । उहाँले बुझाएको प्रतिवेदनअनुसार सुरक्षा निकाय सुदृढीकरणका लागि गहिकला सुझावहरु छन् । त्यस्तै राष्ट्रिय शिक्षा आयोगमा पनि नियुुक्ति पाउनुभयो । तर, त्यसले केही काम गरेन ।

प्रदेश उच्च शिक्षा कार्यालय र परिषद्मा पनि काम गर्नुभयो । मिहिनेतपूर्वक प्रतिवेदन बनाउनुभयो । तर, लागुु भएन । त्यसैले उहाँले त्यहाँबाट राजीनामा दिनुभयो । नेपाली सेनाको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा पनि जिम्मेवारी पाउनुभयो । तर, त्यो त्यतिधेरै कामयावी हुन सकेन ।

उहाँको जीवनको अर्को महत्वपूर्ण काम, विश्वविद्यालय अनुदान आयोगले नेपालका तर्फबाट सार्क युनिभर्सिटी बनाउन उहाँलाई प्रतिनिधि बनायो । दिल्लीमा भएको ‘साउथ एसियन युनिभर्सिटी’का नियमकानुन सबै उहाँले बनाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘त्यहीँ मलाई डिन बन्ने प्रस्ताव आएको थियो । तर, म त्यहाँ बसिनँ ।’

काठमाडौँ स्कुल अफ ल
वि.सं. २०४६ को जनआन्दोलनसँगै मुलुक नयाँ युगमा प्रवेश ग¥यो । नेपालमा आधुनिक शिक्षा स्थापित गर्नुपर्ने आवश्यकता थियो । कानुनी शिक्षामा सुधार चाहिएको थियो ।

मौजुदा कानुनी शिक्षाले परिवर्तित सन्दर्भलाई सम्बोधन गर्न सक्दैनथ्यो । त्यसैले कानुनी शासन प्रवद्र्धन र आर्थिक समृद्धिको बाटोमा मुलुकलाई डो¥याउने शिक्षाको खाँचो महसुस भयो ।

पुरातन मानसिकतामा जकडिएको त्रिभुवन विश्वविद्यालयलाई सुधार्नतिर लाग्नु त भयो । तर, त्यो प्रयास निरर्थक बनेपछि नयाँ ढङ्गले अघि बढ्ने निधोमा उहाँहरूको समूह पुग्यो । त्यसैले विद्यार्थीले विशिष्ट ज्ञान प्राप्त गर्ने गरी समाजशास्त्र, अर्थशास्त्र र भाषासमेत समेटेर वस्तुगत दृष्टिबाट कानुनलाई बुझ्ने र व्याख्या गर्ने कानुन व्यवसायी उत्पादन गर्न पाँच वर्षे स्नातक कक्षा चलाउने निर्णयमा पुग्नुभयो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर २०५७ मा काठमाडौँ स्कुल अफ ल सुरु गरियो । यसको मुख्य उद्देश्य राष्ट्रको कानुनी शिक्षाको विकासमा योगदान पु¥याउनु हो । निजी लगानी गरेर फाइदा कमाउन खोलिएको संस्था होइन यो । लाभांश नबाँड्ने, कलेज व्यवस्थापन समितिले सञ्चालन गर्ने हिसाबले खोलियो । कुनै कारणवश चल्न नसके कलेज सरकारको स्वामित्वमा जान्छ ।

शून्यबाट कलेज सुरु गर्ने काम सजिलो थिएन, केही प्राध्यापक र वकिल मिलेर स्रोत खोजियो । सहकारीबाट ऋण लिइयो । बिस्तारै भवनसहितका संरचना बनाइयो । विद्यार्थीको आकर्षण बढ्दै गयो, उनीहरूले तिरेको शुल्कबाट विकास हुँदै गयो ।

सुरुमा पाँच वर्षे स्नातक तह कसरी चलाउने भन्ने चुनौती थियो । तर, सबैको सहयोगले सफलता मिल्यो । यहाँसम्म आइपुग्न धेरै शिक्षक, कर्मचारी, विद्यार्थी र प्राध्यापकको अतुलनीय योगदान छ ।

दूरदृष्टि भएको अगुवा हुनुहुन्छ उहाँ । राज्यले गर्न नसकेको काम उहाँले आँटेर पूरा पनि गर्नुभयो । भक्तपुरको दधिकोटमा सञ्चालित कलेजले त्यस क्षेत्रकै गौरब बढाएको छ । आज यसको ख्याति एसियामा मात्र होइन, युरोप, अमेरिकासम्म फैलिएको छ । यहाँबाट उत्पादित हजारौँ विद्यार्थी कानुनी अभ्यास गरिराखेका छन् ।

रजत वर्षमा आइपुग्दासम्म कलेजले धेरै उतारचढाव बेर्होनुपरेको छ । व्यक्तिगत रूपमा उहाँ, उहाँकी जीवनसाथी प्राध्यापक डाक्टर गीता पाठक संग्रौला र छोरीहरू युगिच्छा र स्वेच्छाले पनि धेरै त्याग गर्नुभएको छ ।

आमा मृत्युशैयामा हुँदा पनि युवराज कलेजकै कार्यक्रममा हुनुहुन्थ्यो । आफन्त बिरामी हुँदा भेट्न जाने फुर्सद पाउनु भएन । बिहानदेखि बेलुकीसम्म कलेजमै व्यस्त बन्नुभयो ।

अर्को संवेदनशील घटना पनि छ, जीवनसाथी प्राध्यापक डाक्टर गीतालाई अप्रेसन थिएटरभित्र पठाएपछि कलेजमा कक्षा लिएर फेरि अस्पताल गएको क्षण ।

काठमाडौँ विशालनगरको घर बेचेर दधिकोटमा आउँदा त्यो घरको रकम पनि कलेजमै खर्च गर्नुभयो । यसरी कलेजको विकासमा उहाँकी जीवनसाथीले पनि उत्तिकै साथ र सहयोग गर्नुभयो । पछि कलेजबाट त्यो रकम फिर्ता त पाउनुभयो तर यसरी तन, मन र धन दिएर त्यागको जिन्दगी बाँच्ने कमै मान्छे भेटिन्छन् ।

संग्रौला दम्पतीका दुवै छोेरीहरूले त्यही कलेजमा पढे । राम्रो पढेर छात्रवृत्ति पाए । त्यसैले पढाइमा ठुलो लगानी लागेन ।

जसरी २५ वर्षमा काठमाडौँ स्कुल अफ ल एउटा नमुना शिक्षालयका रूपमा विकसित भएको छ, यसलाई उदाहरण मानेर नेपाललाई पनि नमुना बनाउन सकिन्छ । इच्छाशक्ति, इमान्दार प्रयास र मिहिनेत गरेमा नेपालको काँचुली फेर्न सकिन्छ भन्ने आत्माविश्वास छ उहाँमा । त्यसैले देश समृद्ध बनाउन हरेक नेता, कर्मचारी र नागरिक सबैले हातेमालो गर्नु पर्दछ भन्ने मान्यतामा दृढतापूर्वक लागिरहनु भएको छ संग्रौला ।

नेपालको निजी क्षेत्रमा खुलेका कानुन कलेजले उहाँकै सिको गरेका छन् । अर्थात् पाँच वर्षे स्नातक तह लागु गरेका छन् । एउटा समय थियो, कतै नबिकेका विद्यार्थी कानुन पढ्थे । अहिले मेडिकलमा प्रवेश परीक्षा दिएर नाम निकालेका विद्यार्थी पनि कानुन पढ्न आउँछन् । कानुन राम्रा विद्यार्थीको रोजाइमा पर्दै गएको छ । कतिपय आमाबुबा आफ्ना सन्तानलाई भन्छन्, ‘तिमीले डाक्टर वा इन्जिनियर होइन, वकिल बन्नुपर्छ ।’

कलेजको प्रगति देख्दा संग्रौलाको मनमा सन्तोष लाग्छ । तर, नेपालीको प्रवृत्ति के भने समाजमा राम्रो काम गर्नेलाई कसैले राम्रो भन्दैन, भोज खुवाउनेको प्रशंसा गरिन्छ । संग्रौला निर्भीक योद्धा हुनुहुन्छ । कलेजको विकाससँगै प्रतिस्पर्धी जन्मनु स्वाभाविक हो । तर, ईर्ष्या र पूर्वाग्रह हुनु हुँदैन भन्ने संग्रौलाको मान्यता छ । केहीले उहाँको चरित्रहत्या गर्ने प्रयास पनि गरे । तर, उहाँ आफ्नो कर्मबाट कहिल्यै विचलित हुनु भएन । बरु सङ्घर्षले खारिएर झन बलियो बन्नुभएको छ ।

हरेक मान्छेले जन्मेपछि कर्म त गर्नै पर्छ । उहाँ भन्नुहुन्छ, ‘मैले पनि आफ्नो कर्म गरेको हुँ । यसमा सन्तुष्ट छु । बाँचुन्जेल समाजकै हितमा काम गर्नेछु । देश र समाजकै हितका खातिर राजनीतिक मैदानमा उत्रिएको हुँ ।’
कलेज बलियो खम्बा बनेर उभिइसकेको छ । विद्यार्थीको शुल्क र अनुसन्धान परियोजनाबाट प्राप्त रकमले चलिरहेको छ ।

त्यसबाहेक काभ्रेको भकुण्डेमा भएको कलेजको आवासीय भवनबाट पनि आम्दानी लिन सकिन्छ ।
हिजो यही कलेजमा पढेका कतिपय विद्यार्थी अहिले यहीँ पढाइरहेका छन् । पुस्तान्तरणको अभ्यास भइरहेको छ । ३७ वर्ष कानुन अध्यापन गराएपछि भर्खरै उहाँले पनि विश्राम लिनुभएको छ ।

कलेजका हकमा उहाँको एउटै सपना बाँकी छ, यसलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने । नेपालमा कानुनी शिक्षाको पहिलो विश्वविद्यालय बनाउने सपना ।

यसमा देशको कानुन र शासन सहयोगी नभएको उहाँको अनुभव छ । ‘विश्वविद्यालय बनाउने बित्तिकै यसको नियुक्तिमा राजनैतिक हस्तक्षेप हुन्छ । विद्यार्थी सङ्गठन हुन्छन्’, उहाँ भन्नुहुन्छ, ‘त्यसैले तुरुन्तै विश्वविद्यालय बनाइयो भने राजनीतिकरण गरेर यसलाई ध्वस्त बनाउँछन् ।’

समय एकनास रहँदैन । मुलुकमा भोलि राजनीतिमा असल मान्छे पनि आउने छन् । त्यतिबेला यसलाई विश्वविद्यालय बनाउने उहाँको चाहना छ ।

साहित्यकार/लेखक संग्रौला
प्राध्यापक डाक्टर युवराज संग्रौला साहित्यको असल पाठक मात्र होइन, अब्बल लेखक पनि हुनुहुन्छ । उहाँ विशेषतः सामाजिक संरचनाभित्रका अन्तरद्वन्द्व, त्यसमा सामाजिक न्यायका पृष्ठभूमिका लेखिएका पुुस्तक पढ्नुहुन्छ । उहाँलाई गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा र लेखनाथ पौड्यालका कृतिले प्रभाव पारेका छन् ।

आँखीझ्यालबाट हेर्दा घरभित्र के भइरहेछ भन्ने साहित्यले उजागर गर्नुपर्ने मान्यता राख्नुहुन्छ उहाँ । समाजको संरचनाभित्र कहाँनेर मानिसका अन्तरद्वन्द्वका लाभा घुमिरहेका छन् ? कहाँनेर मानिसका अन्तरसम्बन्धमा प्रेम र सद्भावको भावना छ भनेर खोतलिएको साहित्यले मात्र सामाजिक संरचना बदल्न योगदान पुर्याउन सक्छ ।

भारतीय लेखक प्रेमचन्द उहाँलाई मनपर्छ । उनका कृतिमा समाजमा कसले कसरी अन्याय गरेको छ र समाधान के हो भन्ने पनि देखाइएको हुन्छ । चिनियाँ लेखक लुसुन पनि संग्रौलाका प्रिय लेखक हुन् । त्यस्तै अरू धेरै साहित्यकार छन्, समाजको मनोविज्ञान विश्लेषण गर्ने, नैतिकता, प्रेम र शान्तिको सन्देश दिने ।

चाल्र्स डिकेन्स, भिक्टर ह्युगो, टोल्सटोयलगायत धेरैलाई उहाँले पढ्नुभएको छ । उहाँ साहित्यलाई समाजको दुर्बिन मान्नुहुन्छ । त्यो दुर्बिनबाट जसले हेर्दा पनि वास्तविकता देखिन्छ । अझ यसलाई माइक्रोस्कोप भन्न सकिन्छ ।

वर्गीय, जातीय, भौगालिक र सामाजिक विभेदविरुद्ध आवाज उठाउँदै समाज रूपान्तरणमा समर्पित लेखनप्रति उहाँ प्रतिबद्ध हुनुहुन्छ ।

उहाँ स्कुल पढ्दादेखि नै कविता लेख्नुहुन्थ्यो । पहिलो पटक वि.सं. २०३६ मा मातृभूमि साप्ताहिकमा उहाँको कविता छापिएको थियो । उहाँले कविता, कथा, उपन्यास र कानुनका विषयमा कलम चलाउनु भएको छ ।
उहाँको पहिलो उपन्यास ‘शिशिरमा फुलेको गुराँस’ हो ।

विं.सं. २०२८ सालमा लागु भएको नयाँ शिक्षाले नेपालीलाई औपनिवेशिक बनायो । नेपाल धनी देशका लागि जनशक्ति उत्पादन गर्ने कारखाना बन्यो । युवाको राजनीतिप्रतिको वितृष्णा बढ्यो । विलासिता, लागुपदार्थ सेवन, देशभक्तिको मृत्युको अवस्था र भ्रष्टाचारप्रति विमति जनाउँछ ‘शिशिरमा फुलेको गुुराँस’ ले । विषम अवस्थामा समेत स्वदेशमै बसेर काम गर्नेहरू शिशिरमा फुलेका गुराँस हुन् ।

उहाँको कविता सङ्ग्रह ‘लुटिएको वसन्त’ हो । माओवादी युद्धमा भएका रक्तपातका घटनाको चित्रण छ यसमा । तेस्रो किताब ‘युगोगका कथाहरू’ मा तीन जना कथाकारका दश–दश ओटा कथा छन् । चौथो कृति उपन्यास हो, ‘एकादेशका बाँदर ।’ संग्र्रौलाले दुई दर्जन बढी पुस्तक लेखिसक्नु भएको छ ।

उहाँसँग भएका उपन्यासका केही पाण्डुलिपि पूरा हुँदैछन् । त्यस्तै ३० ओटा कथाहरूको सँगालो तयारी अवस्थामा छ ।

उहाँ तार्किक र वैज्ञानिक दृष्टिले लेख्नुहुन्छ । मूलतः समाजको अन्तरङ्गलाई खोतल्दै तर्कका आधारमा समाजलाई यसरी परिवर्तन गर्न सकिन्छ भनेर बाटो पनि देखाइदिनु हुन्छ ।

उहाँले पछिल्लो पटक मुलुकको विकासका लागि ‘सामाजिक नागरिकतन्त्र’को अवधारणामा आधारित पुस्तक लेख्नुभएको छ । आफूले कमाएको ज्ञान र बुद्धि पुस्तकमार्फत् लिपिबद्ध गर्न सकिन्छ । किताब थपिँदै जाँदा ज्ञानको तलाउ बन्छ । त्यो तलाउबाट मान्छेले बाल्टी उबाएर चाहे जति लिन सक्छ ।

उहाँका लागि लेखन आत्मसन्तुष्टिको माध्यम हो । अब आफूले लेखेका कृतिको आफैँ समीक्षा गरेर एउटा पुस्तक लेख्ने उहाँको योजना छ ।

सामाजिक नागरिकतन्त्रबाट समृद्धि
उहाँ सानैदेखि राजनीतिक वातावरणमा हुर्किनुभयो । राजनीतिक कर्ममा लाग्नुभयो । कलेजमा नेतृत्व पनि गर्नुभयो । फेरि पनि प्राध्यापन पेसामा भने राजनीति नगरेको उहाँको जिकिर छ ।

मुलुक बदल्ने प्रमुख नीति नै राजनीति हो । त्यसैले उहाँ सामाजिक नागरिकतन्त्र सिद्धान्तका माध्यमबाट मुलुकलाई समृद्ध बनाउन प्रत्यक्ष राजनीतिमा होमिँदै हुनुहुन्छ ।

जीवनका छ दशक समाजमा भोगेका, देखेका सबै कुराबाट समाजको अन्तरङ्ग समस्यालाई वस्तुुगत र यथार्थवादी ढङ्गबाट समाधान गर्न उहाँले राजनीतिलाई माध्यम बनाउँदै हुनुहुन्छ ।

उहाँका अनुसार हरेक समाजले आफ्नो राजनैतिक प्रणाली र दर्शन आफैँले बनाउनु पर्दछ । संसारमा वामपन्थीले भन्ने गरेको समाजवाद कतै आएन, प्रजातन्त्रवादीले भन्ने गरेको साँचो लोकतन्त्र पनि आएन ।

नेपालमा पनि दलतन्त्र हाबी भएको छ । वास्तवमा नागरिक मुक्तिको आधार नागरिकतन्त्र हो । नेपालमा नेता र नीति दुवै राम्रा भएनन् । विचारबिना नीति बन्दैन । विचार चिन्तनबाट आउँछ । चिन्तन अनुसन्धानबाट आउँछ । अनुसन्धान समाजको अन्तरविरोध र समाजको गतिशक्तिमा आधारित हुन्छ । अन्तरविरोधमा मानिसको सङ्घर्ष हुन्छ ।

पुराना दल आफ्ना विचारमा अडिएका छैनन् । नयाँले विचारलाई होइन, व्यक्तिलाई महत्व दिन्छन् । त्यसै कारण मुलुक दलदलमा फसेको छ ।

अब के गर्ने त ?
शासकीय स्वरूप परिवर्तन गरेर मात्र पुग्दैन, राज्य प्रणाली नै बदल्नु पर्दछ भन्ने निचोडमा पुगेर उहाँ राजनीतिमा होमिनु भएको हो । सामाजिक नागरिकतन्त्रले मात्र समृद्धिको भ¥याङ चढ्न सकिन्छ भन्ने उहाँको विश्वास छ । उहाँ नागरिक सर्वोच्चतामा जोड दिनुहुन्छ ।

नागरिकको सर्वोच्चताको अभ्यास किराँत, खस, शाक्य, लिच्छवीले हिजो नेपाली माटोमै प्रयोग गरेका थिए । त्यसैको जगमा उहाँले सामाजिक नागरिकतन्त्रको सिद्धान्त प्रतिपादन गर्नुभएको हो । उहाँ भन्नुहुन्छ, “यस सिद्धान्तले नेपाली माटोमा विकास भएका खस, मगरात, थारु, मिथिला, नेवा, किराँत र भोट सभ्यताको संरक्षण गर्दछ ।”

थप्नुहुन्छ, “शिक्षा, स्वास्थ्य, रोजगार र आत्मनिर्णयको अधिकारमा नागरिक स्वतन्त्र हुनेछन् । गरिब, किसान, मजदुर, उद्यमी, सबैले सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनाउने छ ।”

एउटा उदाहरण, कक्षा १२ मा विद्यार्थीले व्यावसायिकता सिकिसकेको हुन्छ । त्यसपछि ऊ राज्यको सहयोगमा मन लागेको उद्यम गर्छ । पाँच वर्षको अनुभवपछि खुला विश्वविद्यालयबाट उसले स्नातकको परीक्षा दिन सक्छ । एउटा अनुभवी किसानले पनिर उत्पादनमै स्नातकको प्रमाणपत्र पाउन सक्छ । त्यस्तै १२ वर्ष कृषिमा काम गरेको किसानले कृषि डाक्टरको उपाधि पाउन सक्छ ।

उहाँको विकास मोडलअनुसार उदयपुरको गाईघाट, काठमाडौँ, पोखरा, दाङ, सुर्खेत र साँफेबगरमा गरी छ ओटा उपत्यकामा केन्द्र सहर निर्माण गरिने छ । त्यसको ४० किलोमिटर वरपर वृत्त सहर बनाइने छ । अनि ‘फास्ट ट्रयाक रेल’ बाट सबै सहरलाई जोडिने छ ।

गाउँको अर्थतन्त्रलाई बलियो बनाइने छ । गाउँजस्तो सहर बनाइने छ । यस्तैयस्तै विकास मोडलका नवीनतम् खाका छन्, उहाँसँग ।

सुखी परिवार
काठमाडौँको नेपाल ल क्याम्पसमा पढ्दा गीता पाठकसँग भएको प्रेम नै विवाहमा बदलिएको हो । प्राध्यापक डाक्टर गीता पनि प्रतिष्ठित कानुनविद् हुनुहुन्छ । उहाँ काठमाडौँ स्कुल अफ ल को कार्यकारी निर्देशकका जिम्मेवारीमा हुनुहुन्छ । उहाँहरूका दुई छोरी छन्, युगिच्छा र स्वेच्छा । दुवैजना कानुनविद् हुन् ।

छोरी युगिच्छाको दृष्टिमा पिता
सानैदेखि सिपमूूलक शिक्षामा आमा र बाबाले जोड दिनुभएको उहाँकी छोरी युगिच्छा बताउनुहुन्छ, ‘बाबा सधैँ नैतिक शिक्षामा जोड दिनुहुन्थ्यो । सधैँ बालबालिकाका जिज्ञासालाई सम्बोधन गर्नुपर्दछ । विद्यार्थीले प्रश्न गर्र्नुपर्दछ भनेर बाबा सोध्न प्रोत्साहित गर्नुहुन्थ्यो । समय पाउनेबित्तिकै उहाँ परिवारसँग अन्तरक्रिया गर्नुहुन्थ्यो ।’

कक्षा छ पछि मात्रै उहाँले समय दिन पाउनुभएको युगिच्छाको अनुभव छ । त्यतिबेलादेखि बाबाले उहाँहरूलाई हरेक कार्यक्रममा लैजान थाल्नुभयो । उहाँले गाउँगाउँमा लानुहुन्थ्यो । ग्रामीण जीवनशैलीसँग साक्षात्कार गराउनुहुन्थ्यो ।

उहाँले धर्मका नाममा सांस्कृतिक अन्धविश्वास कहिल्यै स्वीकार्नु भएन । सधैँ विद्रोह गर्नुभयो । ‘उहाँ कक्षामा जे पढाउनुहुन्छ, घरमा पनि त्यही सिकाउनुहुन्छ’, युगिच्छा भन्नुहुन्छ, ‘अब त हामी सबै हुर्किसक्यौँ । आपसमा आत्मीयता छ । ठुलो कुरा त्यही हो । अब हामीले आआफ्ना सपना पूरा गर्ने हो ।’ युगिच्छाले जेनेभा विश्वविद्यालयबाट उच्च शिक्षा लिनुभयो ।

छोरी स्वेच्छाका दृष्टिमा पिता
प्राध्यापक डाक्टर युवराज संग्रौलाको राम्रो बानी छ, घरमा हुँदा केही न केही पढिरहने । उहाँले पढेको देखेर छोरीहरूमा पनि रुचिका विषय पढ्ने बानी बस्यो ।

‘बाबाको हातमा कुनै न कुनै किताब हुन्थ्यो । पढ र गृहकार्य गर भनेर कहिल्यै कर गर्नु हुन्नथ्यो’, कान्छी छोरी स्वेच्छा भन्नुहुन्छ, ‘उहाँको अध्ययनशीलताले हामीलाई पनि पढ्न प्रेरित ग¥यो ।’

उहाँले छोरीहरूलाई विभिन्न गोष्ठी या अन्य कार्यक्रममा लैजानुहुन्थ्यो । ‘बाबासँग हिँडेपछि मिठो खाना पाइन्छ । धेरैजनासँग भेट हुन्छ भनेर हामी खुसी हुन्थ्यौँ’, स्वेच्छा थप्नुुहुन्छ, ‘कार्यक्रम सकिएपछि सबैका अघि बोलाएर आज के सिक्यौ भनेर हामीलाई भन्न लगाउनुहुुन्थ्यो ।’

स्वेच्छाले हावर्ड विश्वविद्यालयमा छात्रवृत्ति पाउनुभयो । छात्रवृत्तिको खबर सुनाउँदा बाबाले ढाडमा हात राखेर यति मात्र भन्नुभयो, ‘ठिक छ ।’

उहाँमा अनावश्यक प्रशंसा वा गाली गर्ने बानी छैन । यद्यपि छोरीहरूलाई बाबासँग डर लाग्छ । ‘बाबाले वरपर घेरा लगाएर कफ्र्यु कोरिदिनुहुन्थ्यो । हामी त्यहीँ बसिराख्थ्यौँ’, उहाँ भन्नुहुन्छ, ‘बाबाले सधैँ अनुशासनमा जोड दिनुभयो ।’

एकपटकको घटना स्वेच्छाकी हजुरआमा अस्पतालमा हुनुहुन्थ्यो । आमा बितेको खबर सुन्दा प्रा.डा. संग्रौला नगरकोटमा विदेशीलाई कक्षा लिँदै हुनुुहुन्थ्यो । मामु एउटा कार्यक्रमका लागि विदेश जानुभएको थियो ।

‘आमाको मुुत्युको खबर सुन्दा पनि बाबा हड्बडाउनु भएन । खबर सुनेको ४५ मिनेटपछि मात्र कक्षा छाडेर पशुपति आर्यघाट आउनुभयो’, स्वेच्छालाई त्यो क्षण अविस्मरणीय लाग्छ ।

समस्या पर्दा मनका भावना डायरीमा लेख्ने प्रा. डा. संग्रौलाको बानी छ । जतिसुकै दुःख पर्दा पनि लेखेरै मन हलुका बनाउनुहुन्छ । त्यसको सिको छोरीहरूले पनि गर्नुभएको छ ।

‘बाबाले मनका कुरा परिवारसँग बसेर अलिक बढी सेयर गर्दा राम्रो हुन्छ’, स्वेच्छाको सुुझाव छ, ‘अब त हामी पनि ठुला भइसक्यौँ । हामीलाई सुनाउँदा मन हल्का हुन्छ ।’

अन्त्यमा
यो आलेख तयार पार्नेक्रममा युवराज संग्रौलालाई मैले मुत्युका बारेमा पनि सोधेकी थिएँ । ‘मुत्यु अर्को जीवनको सुरुवात हो । हाम्रो पञ्चतत्व माटोमा मिल्छ । त्यसबाटै अर्को जन्म हुन्छ’, उहाँले मृत्युबोध सुनाउनुभयो, ‘त्यसैले मलाई मुत्यसँग डर लाग्दैन ।’

आखिर जन्म र मुत्यु शाश्वत सत्य हुन् । त्यसैले कोही पनि मुत्युसँग तर्सिनु हुँदैन । मुत्युको मुखमा पुग्नुअघि भने सबैले सत्कर्म गर्नैपर्छ । प्राध्यापक डाक्टर युवराज संग्रौलाले जस्तै समाज रुपान्तरणमा योगदान पुर्याउनु पर्दछ ।

प्राध्यापनपछिको संग्रौलाको राजनीतिक जीवन पूर्ण सफल बनोस्, मुलुकलाई विधिको शासनमा हिडाउन सफल हुनुहोस्, प्रा.डा. संग्रौलाको दीर्घ जीवनका साथै दीर्घ सपना कार्यान्वयनको कामना !

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.