भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले आजबाट दैनिक उडान गर्दैछ। कतार एयरवेजको दैनिक उडानसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या ५ वटा पुगेको छ ।
भैरहवा विमानस्थलबाट कतार एयरवेजले आज मंगलबारदेखि दोहा–भैरहवा–काठमाडौं–दोहा दैनिक एक उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन्। दोहाबाट उडान भर्ने एयरवेजको विमान प्रत्येक दिन अपराह्न २ः४५ बजे भैरहवामा अवतरण गरेर यहाँबाट अपराह्न ४ः४५ बजे काठमाडौं हुँदै दोहा प्रस्थान गर्ने छ।
यस अघि कतार एयरवेजले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलकाठमाडौंबाट दैनिक चार वटा उडान गर्दै आएको थियो। त्रिभुवन विमानस्थलमा मर्मतसम्भार सुरु भएसँगै दुई उडान कटौती भएपछि एयरवेजले भैरहवालाई ट्रान्जिट बनाएर दैनिक एक उडान सुरु गर्ने भएको छ
नागरिक उड्ययन प्राधिकरणका अनुसार कतार एयरवेजले मंसिर १५ गतेसम्म उक्त रुटमा दैनिक एक उडान गर्ने गरी प्राधिकरणमा जाडोयामको तालिका पेस गरेको थियो। आइतबार प्राधिकरणले स्वीकृत गरेसँगै एयरवेजको भैरहवाबाट उडान गर्ने बाटो खुलेको हो। भुलका भनाइमा मंसिर १५ गतेसम्मका लागि पेस गरेको तालिका स्वीकृत भएकाले एयरवेजले १९ वटा उडान गर्ने अनुमति पाएको छ।
एयरवेजले मंसिर १५ गतेसम्म मात्र अनुमति मागे पनि क्रमशः एयरवेजले नियमित उडान गर्ने प्राधिकरणको अपेक्षा छ। भैरहवा अन्तराष्ट्रिय विमानस्थलबाट गत शुक्रबारदेखि थाई एयर एसिया सातामा दुईवटा, शनिबारदेखि नेपाल एयरलाइन्सले सातामा चार वटा, जजिरा एयरवेजले सातामा तीनवटा र फ्लाई दुबईले दैनिक एउटा उडान थालिसकेका छन्।