भोलि १३ गते आइतबारबाट मौसममा सुधार आउने आकलन
आज देशभर वर्षा हुने छ । अस्ति १० गते बिहिबारदेखि देशभर झरी परिरहेको छ । । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा भोलि आइतबारसम्म कायमै रहनेछ । तर, आइतबार बिहानपछि मौसममा सुधार आउन सक्ने आकलन गरिएको छ ।
महाशाखाका अनुसार आज शनिबार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ । सुदूरपश्चिममा भने केही स्थानमा वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानमा अति भारीको चेतावनी दिइएको छ । राति बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको आकलन छ ।
आइतबार भने शुक्रबार र शनिबारको तुलनामा कम वर्षा हुने देखिन्छ । बागमती, गण्डकी, लुम्बिनी केही स्थान तथा बाँकीका एक–दुई स्थानमा वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने देखिन्छ ।
बिहीबार र शुक्रबार कोशीदेखि लुम्बिनी क्षेत्रमा धेरै पानी परेको छ । मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहानसम्म सबैभन्दा धेरै वर्षा झापाको केचनामा २३० मिलिमिटर भएको छ । बिहीबार रातिदेखिको वर्षा हेर्दा पश्चिममा अर्घाखाँची, कपिलवस्तुसम्म झरी परेको देखिन्छ । शुक्रबार राति साढे ९ बजेसम्मको तथ्यांक हेर्दा झापाको चन्द्रगढी विमानस्थल क्षेत्रमा २९८.६, इलाममा २९७, ललितपुरको लेलेमा १९४.४, मकवानपुरको दामनमा २०८, चितवनको कल्याणपुरमा १७७, नवलपरासीको डन्डामा २०५.४, पाल्पामा २३४.८ र अर्घाखाँचीमा १९५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
हेर्नुहोस्, मौसम विज्ञान विभागको प्रक्षेपण जस्ताको तस्तैः
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
जारी मिति: २०८१ असोज १२ गते विहान ०६:०० बजे
मौसम विश्लेषण (Meteorological Analysis):
देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status):
हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ।देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।
२०८१ असोज १२ गते (शनिबार)
दिउँसोː देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डक र, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी,मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक-दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको तराई क्षेत्रमा हावाहुरीको समेत संभावना रहेको छ।
रातीː देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ। मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।देशको तराई क्षेत्रमा हावाहुरीको समेत संभावना रहेको छ।
२०८१ असोज १३ गते (आइतबार)
दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । मधेश,बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डक र, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी,मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक-दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना छ भने तराई क्षेत्रमा हावाहुरीको समेत संभावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जन-जीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।