Connect with us

राजनीति

दुई दिनसम्म भएन रविको थुनछेक बहस, अब भोलि मात्र हुन सक्ने

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछाने विरुद्ध मुद्दा दायर भए पनि थुनछेक बहस सुरु हुन सकेको छैन । 

थुनछेक बहसका लागि सोमवार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको अझै बयान हुन नसकेको हो । थुनछेक बहस नै सुरु नभए पनि उनी संघीय संसदको सांसदबाट निलम्बन भइसकेका छन् ।

मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिए पछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो । जसका कारण हिजो उनी अदालतमा गए पनि बयान दिन नपाए पछि यसै हिरासतमा फर्केका थिए ।

जोशीको भने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा न्यायाधीश नितिज राईले अदालतमा  लिएको थुनछेक बहस सकिएको छ । छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग थुनछेक बहस सुरु गरिएको छ । आज सार्वजनिक बिदा भएकाले अब रविको पालो भोलि आउने अनुमान गरिएको छ ।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ । 

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । रबि पक्राउ परेको  ९२औँ दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो ।  लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।

गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो। १८ असोज, २०८० मा राई लगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिएपनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ । लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको थियो ।  

रवि लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबि छ ।  सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.