फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले एक लाख ३३ हजार नौ सय ८० जना निर्वाचन प्रहरीको भर्ना खोलेको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरीको भर्ना खोलिएको हो ।
निर्वाचन प्रहरीमा भाग लिन इच्छुक नेपाली नागरिकलाई आज पुस २४ बाट माघ १० गतेसम्म आवेदन दिन आह्वान गरिएको छ । जसमा प्रहरी, सशस्त्र प्रहरी र सेनाबाट अवकाश पाएकाहरुले पनि आवेदन दिन सक्नेछन् ।
यस्तै २०८२ पुससम्म सेना, प्रहरी र सशस्त्रमा आवेदन दिएकाहरु पनि प्राथमिकतामा पर्नेछन् । यसअघिका निर्वाचनमा सहभागी भएका म्यादी प्रहरी र विदेशी फौजमा काम गरेकाहरुलाई पनि यसपटक प्राथमिकतामा राखिएको छ ।
पुरुषका हकमा कम्तीमा ५ फिट र महिलाका हकमा ४ फिट १० इन्च उचाइ र गर्भवती नभएको प्रावधान राखेर आवेदन आह्वान गरिएको छ । आवेदकहरुबाट माघ ९ गतेभित्र छनौट गरी माघ १५ गते प्रशिक्षण शुरु हुने नेपाल प्रहरीको सूचनामा उल्लेख छ ।