नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन गर्न दुई तिहाइ मत नचाहिने बताएको छ। आज सोमबार विशेष महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षधर नेता सुवाषकुमार पोखरेलले सभापतिविरुद्ध अविश्वास प्रस्ताव ल्याए मात्रै दुई तिहाइ चाहिने बताए।
‘यो विशेष महाधिवेशन हो । यसले ५१ प्रतिशतलाई आकर्षित गर्छ,’ पोखरेलले भने, ‘अविश्वासको प्रस्तावले दुई तिहाइलाई आकर्षित गर्छ।’ नेपाली कांग्रेसका नेता रमेश लेखकले सभापति हटाउन दुई तिहाइ महाधिवेशन प्रतिनिधिको मत चाहिने बताएका थिए।
त्यसको जवाफ दिँदै पोखरेलले आफूहरुले कुनै व्यक्तिविरुद्ध विशेष महाधिवेशन नगरेको बताए। ‘हामीले सभापति उपर अविश्वास प्रस्ताव राखेको होइन,’ उनले भने, ‘सिंगो केन्द्रीय समितिले लिने नीति र नेतृत्वविरुद्ध राखेको हो। यो कुनै व्यक्ति उपर हुँदैन।’