Connect with us

अन्तर्राष्ट्रिय

रुस-चीन सम्बन्ध अभूतपूर्वः पुटिन

Published

on

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज बेइजिङमा चिनियाँ समकक्षी सी चिनफिङसँग भएको वार्तामा दुवै मुलुकबिचको सम्बन्ध ‘अभूतपूर्व स्तरमा’ पुगेको बताएका छन् । भेटवार्ता चीनमा भोलि बुधबार हुने विशाल सैन्य परेडअघि भएको हो ।

पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनसहितका थुप्रै विश्व नेता चीनको शक्ति प्रदर्शनमा सहभागी हुन चीनको राजधानी बेइजिङमा भेला भएका छन् । “हाम्रो घनिष्ठ संवादले रुसी(चिनियाँ सम्बन्धको रणनीतिक प्रकृतिलाई स्पष्ट गर्छ, जुन अहिले अभूतपूर्व स्तरमा पुगेको छ”, पूल गरिएको लाइभ फिडमार्फत सीलाई पुटिनले भनेका छन्। युद्धको समयमा दुवै मुलुकबिच भएको सहकार्यलाई स्वीकार गर्दै पुटिनले थप्का छन्, “हामी सधैँ सँगै थियौँ र अहिले पनि सँगै छौँ ।”

सीले यस हप्ताको सुरुआतदेखि कूटनीतिक बैठक आरम्भ गरेका छन्, जसमा उत्तरी सहर तियानजिनमा भएको साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनसमेत यही बैठक अन्तरगत हो । चीनले यस मञ्चलाई पश्चिमा प्रभुत्वको विकल्पको रूपमा प्रस्तुत गरेको छ । भोलि बुधबार हुने सैन्य परेड दोस्रो विश्वयुद्धको अन्त्य जापानलाई हराएको ८० वर्षको स्मरणमा आयोजना गरिएको हो । यसमा करिब दुई दर्जन विश्व नेता सहभागी हुँदैछन् ।

विश्वव्यापी अशान्ति

हिजो सोमबार सम्पन्न शिखर सम्मेलनमा चीन र रुसका नेताहरूले पश्चिमा सरकारको आलोचना गरेका थिए । सीले केही मुलुकको ‘बदमासीपूर्ण व्यवहार’ को निन्दा गर्दै अप्रत्यक्षरूपमा अमेरिकालाई इङ्गित गरे भने पुटिनले रुसको युक्रेन आक्रमणलाई औचित्यपूर्ण ठहर गर्दै द्वन्द्व सुरु गराएकोमा पश्चिमालाई दोष दिए । “चीन–रुस सम्बन्धले अन्तर्राष्ट्रिय परिवर्तनको परीक्षालाई सफलतापूर्वक सामना गरेको छ”, सीले आजको भेटवार्तामा पुटिनलाई भनेका छन् ।

सीले ‘अझ न्यायपूर्ण र सन्तुलित विश्वव्यवस्था निर्माण गर्न’ मस्कोसँग सहकार्य गर्न बेइजिङ इच्छुक रहेको बताए । सन् २०२२ को फेब्रुअरीमा पुटिनले युक्रेनमाथि आक्रमणको आदेश दिनुभन्दा केही अघि नै चीन र रुसले ‘सीमाविहीन साझेदारी’ को घोषणा गरेका थिए । त्यसयता दुवै मुलुकबिच सैन्य तथा व्यापारिक सम्बन्ध अझ प्रगाढ बनेका छन्, जसले पश्चिमी मुलुकलाई चिन्तित पारेको छ ।

चीनले रुसको युद्धलाई न त प्रत्यक्ष समर्थन गरेको छ, न त निन्दा नै गरेको छ । उसले आफू तटस्थ रहेको दाबी गर्दै आएको छ र नियमितरूपमा युद्ध अन्त्यको आह्वान गर्ने गरेको छ । तर पश्चिमा देशहरूमाथि चीनले युक्रेनलाई हतियार उपलब्ध गराएर द्वन्द्व लामो बनाएको आरोप लगाउँदै आएको छ ।

सी र पुटिनबिच नियमित सम्पर्क हुने गरेको छ । उनीहरूले गत महिना फोनमा कुराकानी गरेका थिए, जहाँ चिनियाँ नेताले मस्को र वासिङ्टनबिच सम्बन्ध सुधार भएको देखेर खुशी व्यक्त गरेका थिए । यसअघि मे महिनामा सीले दोस्रो विश्वयुद्धमा नाजीको पराजयको स्मरणमा रुसमा आयोजित मे ९ को उत्सवमा सहभागी हुन मस्को भ्रमण गरेका थिए ।

“चीन र रुसले राजनीतिक आपसी विश्वास र रणनीतिक सहकार्यलाई निरन्तर गहिरो बनाइरहेका छन् । यसले अन्तर्राष्ट्रिय उथलपुथलबिच बहुमूल्य स्थिरता र सकारात्मक ऊर्जा प्रदान गरेको छ”, सीले मे महिनाको भ्रमणका क्रममा भनेका थिए।
विभिन्न समाचार एजेन्सीहरु

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.