Connect with us

समसामयिक

स्वयम्भु महोत्सवको तयारी अन्तिम चरणमा, जान्नुहोस् त्यस क्षेत्रको रोचक इतिहास

Published

on

यही फागुन १० गतेदेखि १७ गतेसम्म आयोजना हुने स्वयम्भू महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

स्वयम्भु कार्यक्षेत्रसमेत रहेका  वडा नं. १५ का अध्यक्ष इश्वरमान डंगोलले स्वयम्भु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्न १५ नम्बर वडाले महोत्सवको आयोजना गर्न लागेको हो । 

महोत्सव आयोजनाका विषयमा वडाध्यक्ष डंगोलले भने,  ‘सबैले मेरो महोत्सव हो भन्न सक्ने, सद्भावयुक्त पहिचानको प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो, यो पहिचानले वडासँगै वडाबासी व्यक्ति, समुदाय, निजी तथा सामाजिक क्षेत्र सबैको दिगो विकास हुन सकोस् भन्ने हाम्रो अभिप्राय रहेको छ ।’ क्रियाकलापका बारेमा विषयमा जानकारी दिँदै उनले महोत्सव अवलोकनका लागि वडा समितिकातर्फबाट सवैलाई निमन्त्रणा दिएका छन् ।

महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गर्ने योजना छ । प्रदर्शनीमा परम्परागत बाजा, वडाबासीका जन्म देखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा राख्ने तयारी गरिएको छ । वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तु पनि प्रदर्शन गरिनेछ । 

यस्तै मौलिक खानाका स्टल, स्वास्थ्य परिक्षण, रक्तदानलगायत सेवा हुनेछन् । रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलाप महोत्सवका आकर्षण हुनेछन् । ‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछ । 

महोत्सवमा स्थानीय सहभागिता गर्न वडाले वडास्तरीय छलफल आयोजना गरिसकेको छ । यस्तै, महोत्सव प्रवर्धनका लागि साइकल ¥यालीलगागत कार्यक्रम सम्पन्न गरेको छ । अहिले स्थानीयहरु महोत्सवमा प्रदर्शन गर्ने सामान तथा वस्तु व्यवस्थापन गर्न र सांस्कृतिक कार्यक्रमको अभ्यास गर्नमा व्यस्त रहेको जनाइएको छ ।

वडाको संक्षिप्त चिनारी 

वडाको क्षेत्रफल ३१६.५ हेक्टर रहेको छ ।  २०७८ सालको जनगणनाअनुसार वडाको जनसंख्या ५२ हजार ६६८ जना रहेको छ, जसमा २६ हजार ३२३ जना पुरुष र २६ हजार ३४५ जना महिला छन । घरधुरी संख्या १४ हजार ८१ रहेको छ । 

स्वयम्भू महाचैत्य वडाको अभिन्न पहिचान हो । उपत्यकाभरि पानी जम्मा भएर पोखरी भएको प्राचीन कालमा स्वयम्भू उत्पत्ति भएको मानिन्छ । महा मञ्जुश्री (बोधिसत्व) ले फूच्व, धिलाच्व, जामाच्व र सिपूच्व गरी चार दिशाबाट पोखरी खोलेर पानी बाहिर पठाएपछि बस्ती बनाएको मान्यता छ । बस्ती बसेपछि राजा बनाइएका प्रचण्ड देवले अर्धगोलाकार गुम्बज बनाएर स्वयम्भूको संरक्षण गरेका थिए । स्थूरको गर्भमा पञ्चबुद्ध (पञ्चतत्वको प्रतीक) चारतारा (चतुर्महाभूतको प्रतीक) विराजमान गराइएको छ ।

 त्यसमाथि बुद्धका आँखा प्रज्ञा र उपायको रुपमा, प्रश्नबाचक चिन्ह सम्पूर्ण प्रकारका प्राणीहरुलाई उद्धार गर्ने प्रतीकका रुपमा राखिएको छ । अर्धगोलाकार आकृतिमाथि रहेको त्रयोदश भुवनलाई बुद्धत्व प्राप्त गर्ने खुड्किलाका रुपमा लिइन्छ । प्राचीनकालमा गोशृङ्गपर्वत एरियालाई सिंगु÷स्यंगु नामबाट स्वयम्भू हुन गएको भन्ने कथन पनि रहेको छ । स्वयम्भू स्तूपका चार दिशामा चार वटा पुर रहेका छन् । आग्नेय कोणमा बसुपुर ९पृथ्वी०, नैर्ऋत्य कोणमा वायुपुर ९वायु०, वायव्य कोणमा अग्निपुर ९तेज० र ईशान कोणमा नागपुर ९जल० रहेका छन् । यी हरेक पुरलाई स्वतन्त्र र सम्पूर्णताको संसारका प्रतीक मानिन्छ । 

शान्तिपुर, हारती माता, महामञ्जुश्री सरस्वती स्थान, लखु तीर्थ, विष्णुमती नदी किनारामा रहेको शोभाभगवती मन्दिर, ससुख्वात टोलमा रहेको सरस्वती मन्दिर, डल्लु टोलमा रहेको महाविष्णु मन्दिर र गणेश मन्दिर, धिमेल्वहँमा रहेका भीमसेन मन्दिर र नासल देवता स्थानीयको आस्थाको देव स्थानहरु हुन् । 

यस्तै तुलसीधारामा रहेको माधवनारायण मन्दिर, धुम्बाखेलमा रहेको बाघभैरब मन्दिर, मचाखुशीमा रहेको घोरीनाग मन्दिर, स्वयम्भू परिक्रमा मार्गमा रहेको विश्वकर्मा मन्दिर, किमडोल डाँडामा रहेको सेतीदेवी मन्दिर, डल्लुमा रहेको भेलु  (भिंपु) महादेव, भगवान पाउँमा रहेको सूर्यविनायक, चक्रपथ बाहिर रहेको कार्य विनायकप्रति स्थानीयको प्रगाढ आस्था छ । वडाभित्र साम्हेगु विहार, किण्डोल बिहार, आनन्दकुटी बिहार, आनन्द भूवन बिहार, भुइखेल बहाल, जगतउद्धार बिहार, सिद्धि विहार, धिमेल्वहँ बौद्ध विहार, श्रद्धा कीर्ति विहार बौद्ध विहार हुन् । 

प्रसिद्ध कर्णदीप, लामाहरुको दीप, कपालीहरुको समाधिस्थल, लखुतीर्थ दीप, मुस्लिमहरुको कब्रस्तान, भन्तेहरुको दीप यस वडामा रहेका मृत्य संस्कारसँग सम्बन्धित स्थलहरु हुन् । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.