विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै १२ दिनदृेखि सडकमा उत्रिएका शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन् ।
यही चैत २० गतेदेखि आन्दोलन सुरु गरेका शिक्षकहरूले शैक्षिक हड्ताल गर्दै माइतीघर–नयाँबानेश्वर क्षेत्रमा आन्दोलनमा सक्रिय छन् ।
सरकारले आजदेखि नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सर्कुलर गरेको छ । तर, शिक्षकहरूले माग पूरा नभएसम्म विद्यालय नफर्किने अडान लिएका छन् ।
शिक्षकहरूको आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ भने माध्यामिक शिक्षा परीक्षा ९एसईई० को उत्तर पुस्तिका परीक्षणको काम पनि सुरु हुन सकेको छैन ।
सोमबार साँझ बसेको महासङ्घको बैठकपछि जारी विज्ञप्तिमा माग पूरा नभएसम्म उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक तथा शिक्षक–कर्मचारीलाई आग्रह गरेको छ ।
यस्तै महासङ्घले यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा समेत केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन अपील गरेको छ ।
महासङ्घले विद्यालय शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनमा समर्थन र सहभागिताका लागि विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँरनगरपालिका तथा सबै शैक्षिक सरोकार पक्षसँग अनुरोध समेत गरेको छ ।
दुईपटकसम्म शिक्षा मन्त्रालयसँग वार्ता र संवादमा बस्दा पनि माग पूरा गराउन सरकार गम्भीर नदेखिएकाले आन्दोलनलाई थप चर्काउन बाध्य भएको महासङ्घले जनाएको छ ।