प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेश गरेपछि प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकोमा बधाई र धन्यवाद दिएकी छन् ।
‘निकै प्रतिकूल अवस्थामा तपाईँले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘रातदिन नभनी खट्नुभयो । देशका विभिन्न भागमा पुग्नुभयो । विपद्का बेला उस्तै सक्रिय रहनुभयो । विपद्ग्रस्त क्षेत्रमा आफैं पुगेर खट्नुभयो । हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो । यो कुरा देशले सम्झनेछ । जनताले मूल्यांकन गर्नुहुनेछ ।’
प्रधानमन्त्री कार्कीले घिसिङलाई आगामी राजनीतिक जीवन थप सफल रहोस् भन्दै शुभकामना पनि व्यक्त गरेकी छन् । कार्कीले घिसिङलाई सम्मानस्वरुप खादा पहिराइदिँदै थपिन्, ‘तपाईं आफ्नो रहरले वा कुनै स्वार्थ राखेर आउनुभएको होइन । हामीले नै निम्त्याएका हौं । अझ जेनजी युवाले तपाईँको माग गरेका हुन् ।’
उनको थप भनाइ थियो, ‘चुनाव लागेपछि राजनीतिमा जान छुट पाउनेगरी नै तपाईंलाई हामीले भित्र्याएका हौं । कुनै सुविधा पनि नलिएर तपाईंले निस्स्वार्थ सेवा गर्नुभयो । आउँदा दिनमा अझै देशको निम्ति अझै ठूलो काम गर्न सक्नुहुनेछ । यसका निम्ति म बधाई अहिले नै दिन चाहन्छु ।’
मन्त्री घिसिङले पनि अन्तरिमकालमा मन्त्रीका रुपमा काम गर्ने अवसर प्रदान गरेको भन्दै प्रधानमन्त्री कार्कीप्रति आभार प्रकट गरे ।