Connect with us

अर्थ

सञ्चित कोष एक खर्ब नौ अर्बले घाटामा

Published

on

लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसक्दा तिनै तहका सरकारको सञ्चित कोष घाटामा रहेको छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाल र महालेखा परीक्षक तोयम रायसमक्ष प्रस्तुत गरेको गत आर्थिक वर्ष २०८१/८२ को एकीकृत वित्तीय विवरणले सञ्चित कोष एक खर्ब आठ अर्ब ९९ करोड रुपियाँले घाटामा देखाएको हो ।

तिनै तहका सरकारको आम्दानी बाँधिने कोष सञ्चित कोष हो । यसै कोषमार्फत सम्बन्धित सरकारले आफ्नो खर्च गर्छन् तर आम्दानीभन्दा खर्च बढी भएपछि यस्ता कोष ऋणात्मक हुन्छन्, जसलाई घाटा पनि भनिन्छ । सरकारले राजस्वको लक्ष्य बढाउने तर सो बराबर सङ्कलन नहुँदा सञ्चित कोषमाथि दबाब पर्छ । यसरी कोष घाटामा रहँदा सरकारले बचतमा रहेको रकमबाट भुक्तानी गर्नुपर्ने हुन्छ । सञ्चित कोष घाटामा रहँदा सरकारले नेपाल राष्ट्र बैङ्कबाट ओभर ड्राफ्ट लिएर पनि खर्च व्यवस्थापन गर्छ ।

सञ्चित कोष घाटामा रहे पनि नगद अवस्था भने एक खर्ब चार अर्ब १३ करोड रुपियाँले धनात्मक रहेको प्रतिवेदनमा उल्लेख छ । यसबाहेक तिनै तहका सरकार र एक्स्ट्रा बजेटरी निकायका विभिन्न कोषमा रहेको मौज्दात रकमसमेत गर्दा नगद र मौज्दात एक खर्ब ८८ अर्ब ९४ करोड रुपियाँले धनात्मक रहेको प्रतिवेदनमा जनाइएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम सरकारको एकीकृत वित्तीय प्रतिवेदन तयार गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयको हुन्छ । सोही अनुसार कार्यालयले अर्थ मन्त्रालय र महालेखा परीक्षकको कार्यालयलाई प्रतिवेदन बुझाएको हो ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.