Connect with us

समसामयिक

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

Published

on

पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भार गरी प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो ।

कोरोनाको समयमा सङ्घीय सरकारबाट बजेट विनियोजन भई पाल्पा अस्पतालमा निमार्ण गरिएको अक्सिजन प्लान्ट केही वर्षयता बिग्रिएर थन्किएको थियो । अहिले प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन अभावको समस्या समाधान हुने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । यसअघि यहाँ अक्सिजन प्लान्ट नहुँदा बुटवल, भैरहवाबाट ल्याउनुपर्ने बाध्यता थियो ।

जिल्लामा अक्सिजन प्लान्ट सञ्चालन भएपछि अन्य अस्पतालका साथै सबै बिरामीलाई सजिलो भएको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिञ्जालीले बताएका छन्। प्लान्ट सञ्चालनपछि पाल्पा अस्पतालमा भर्ना हुने बिरामी मात्र नभई लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल, रामपुर अस्पताल तथा जिल्लाका निजी मेडिकल र क्लिनिकहरूलाई समेत अक्सिजन सिलिण्डर आपूर्ति गर्न सहज हुने उहाँले विश्वास व्यक्त गरे । 

जिल्लामा मासिक चार सयदेखि पाँच सय अक्सिजन सिलिण्डर खपत हुने गरेको छ । प्लान्टमा अक्सिजन सिलिण्डर सानोको रु तीन सय ५० र ठूलाको रु छ सय ५० सम्ममा खरिदबिक्री हुँदै आएको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले जानकारी दिए। जिल्लामा अक्सिजन उत्पादन हुँदा यहाँका अस्पतालहरूको ढुवानी खर्च र समयको बचत समेत हुने उनको भनाइ छ ।

पाल्पा अस्पताललाई सुविधायुक्त, विश्वसनीय र भरपर्दो बनाउन अक्सिजन प्लान्ट महत्वपूर्ण रहेको समितिका अध्यक्ष कर्माचार्यले बताए । उनले भने, “अक्सिजनको अभावमा कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य रहेको छ ।” 

अक्सिजन प्लान्ट सञ्चालन भएसँगै अस्पतालले आगामी वैशाख दोस्रो साताभित्र शल्यक्रिया सेवा सुरु गर्ने योजना बनाएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र पौडेलले बताए । सङ्घीय सरकारअन्तर्गत अर्थ मन्त्रालयले विसं २०७८ जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । 

सरकारले स्वीकृत गरेको रकमबाट अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरी प्लान्ट सञ्चालनमा ल्याइएको थियो । प्लान्टका लागि अस्पताल नजिकै २६ लाख लागतमा भवन निर्माण गरिएको छ । कोभिडका बेला प्लान्ट सञ्चालनमा आउँदा सहज भए पनि त्यसयता बन्द भएपछि दीर्घरोगीहरूमर्कामा पर्दै आएका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.