Connect with us

तथ्य खोज

यस्तो छ, बाढीले बगाएको थामे गाउँको कथा

Published

on

“थामेमा बाटो छैन । बत्ती छैन । फोन लाग्दैन । स्थानीयको ज्यानबाहेक पर्यटकीय गाउँ, श्रीसम्पती सबै बगाएको छ । प्राकृतिक मनोरम स्थान थामे अहिले देख्दै विरक्त लाग्दो बनेको छ ।”

सोलुखुम्बूबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् रक्षा मन्त्री मानवीर राईलगायत ‘टीम’ आज बिहान नौ बजेतिर बाढीग्रस्त थामे पुगेर त्यहाँको वस्तुस्थिति अवलोकन गरी फर्किएको छ । रक्षा मन्त्री राईसहित कोसी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति सोनाम गेल्जेन शेर्पा, सोलुखुम्बु प्रदेश सभा क्षेत्र नं. दुई (बाढीग्रस्त थामे क्षेत्रबाट निर्वाचित) का सांसद एवम् कोसी प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बूको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री र प्रहरी नायव उपरीक्षक (डिएपी) द्धारिकाप्रसाद घिमिरेलगायत बाढीले क्षतिग्रस्त थामे पुगेका थिए ।

बाढीग्रस्त क्षेत्र पुगेका राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति शेर्पा, जो खुम्बु क्षेत्रकै स्थायी बासिन्दा समेत हुन्, का भनाइमा थामेको अवस्था निकै दर्दनाक छ । भविष्यमा समेत थामेमा वस्ती बस्न कठिन छ । “क्षणभरको बाढीले थामेको अवस्था भयानक बनेको छ । फेरि तत्काल बाढीको जोखिम त देखिन्न”, शेर्पा नेपालमुहारसँग भन्छन्, “तर, थामे पहिलेको प्राकृतिक थामे जस्तो रहेन । त्यहाँको अवस्था निकै दुःखद छ ।”

कोसी प्रदेशका सांसद एवम् पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी पनि आफू निर्वाचित थामेको अवस्था देखेर निकै दुःखी छन् । “थामेको अवस्था निकै पीडादायी छ । थामेलाई निकै ठूलो विपत आइलाग्यो”, राजभण्डारी थप्छन्, “त्यहाँ बाटो छैन । बत्ती छैन । फोन लाग्दैन । स्थानीयको ज्यानबाहेक पर्यटकीय गाउँ, श्रीसम्पती सबै बगाएको छ । प्राकृतिक मनोरम स्थान थामे अहिले देख्दै विरक्त लाग्दो बनेको छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ थामे बाढीको वस्तुस्थिति बुझ्न सोलुखुम्बूकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीसँग फोन संवाद गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले मानवीय क्षति हुन नदिन प्रजिअ पाण्डेलाई निर्देशन दिएका थिए । संयोग, थामे बाढीले विद्यालय, छात्रवास, स्वास्थ्य क्लिनिक, १४ वटा घर–होटल बगाउँदा एक जना निमा नुरु टुडु शेर्पा, ५५ लाई मात्र वेपत्ता बनाएको छ । यस हिसाबले एक अर्बभन्दा बढीको भौतिक क्षति हुँदा मानवीय क्षति न्यून भएको छ । जुन निकै खुशीको कुरा हो ।

जानकारका अनुसार थामेको जनसंख्या करिब चार सय हो । तर पर्यटकीय मौसम नभएकाले आधाभन्दा बढी जनसंख्या काठमाडौं लगायत स्थानमा गएका थिए । सोलुखुम्बू प्रहरीका भनाइमा बाढी प्रभावित क्षेत्रका ९३ जना, विद्यालयको छात्रावासका आठ शिक्षक, दुई कर्मचारी र ३२ विद्यार्थीसमेत १ सय ४२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी यदि रातिको समयमा मात्र आएको हुन्थ्यो भने एक सयभन्दा बढीको मानवीय क्षति हुने थियो । सुरुमा एक विद्यार्थीले बाढी आएको देखेपछि उनकै जानकारीमा सबै भागाभाग गरेर बाँचेका थिए ।

थामेको वैभव
थामे तीन हजार आठ सय मिटरको उचाइमा अवस्थित गाउँ हो । थामेमा २०२८ सालमै कक्षा तीनसम्म पढनपाठन हुने सरकारी विद्यालय थामे प्रा.वि. खुलेको थियो, जो यसबेला थामे आधारभुत विद्यालयका रुपमा सञ्चालित छ । उक्त विद्यालय र त्यसको छात्रवास समेत बाढीले बगाएको छ । यस क्षेत्रलाई हिलारी फाउण्डेसनले समेत ठूलो सहयोग गरेको छ ।

थामे प्रा.वि. खुम्बु क्षेत्रको पुरानो सरकारी विद्यालयमा पर्छ । जहाँ सोलुखुम्बु काँगेलका जनकराज बस्नेतले २०४६ सालदेखि ५० सालसम्म पढाएका थिए । उनै बस्नेतका भनाइमा थामे गाउँ खुम्बु क्षेत्रको पुरानो वस्ती त हो नै, तिब्बतबाट नेपाल छिर्ने प्रमुख द्धार पनि हो । तिब्बतीहरु थामे खोलाको गडतीरै गडतीर थामे गाउँ आउँछन् । अनि त्यहाँबाट नाम्चे बजार झर्छन् । नाम्चेबाट तिब्बत पनि थामे हुँदै जाने हो । नाम्चे बजारलाई बायाँ पारेर करिब तीन घण्टा पैदल हिडेपछि थामे गाउँ पुगिन्छ ।

नाम्चे बजारबाट दायाँ बढेपछि पैदल एकदेखि डेड घण्टामा खुम्जुङ पुगिन्छ । नाम्चेबाट खुम्जुङ, खुन्दे, तेङ्बोचे, फोर्चे, पाङ्बोचे, फिरिचे, दिङ्बोचे, गोक्यो, लबुचे, गोरखेप, कालापथ्थरपछि पाँच हजार तीन सय ८० मिटर उचाइको सगरमाथा आधार शिबिर पुगिन्छ । उल्लेख भइसक्यो, नाम्चेबाट, बायाँ तीन घण्टा हिडेपछि चाहिँ थामे पुगिन्छ । यस अर्थमा थामे सगरमाथा आधार शिबिर पुग्ने मुल बाटो भने होइन । भलै ‘सिजन’ मा पर्यटकहरु हुलका हुल ओइरिने ठाउँ भने हो ।

https://fb.watch/u0a8X_uF1o/

खुम्बु पासाङल्हामु गाउँपालिकाको फेसबुक पेजबाट

थामे ०७२ अघि साविक नाम्चे गा.वि.स.को वडा नं. ५ मा पर्दथ्यो भने हाल पनि खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नंं. ५ मै पर्छ । साविक खुम्जुङ, नाम्चे, चौरिखर्क र जुभिङ गा.वि.स का चार वटा वडा १, ५, ६ र ९ मिलाएर खुम्बु पासाङल्हामु गाउँपालिका बनाइएको हो । यही गाउँपालिकाको एउटा शक्तिशाली वैभव हो, थामे ।

जानकारका अनुसार थामे खोलालाई स्थानीय स्तरमा भोटेकोसी पनि भनिन्छ । तिब्बती भूमिमा समेत जोडिएको टसी लाप्चा हिमाल थामे खोला/भोटेकोसीको मुहान हो । टसी लाप्चा हिमालको भोट क्षेत्रबाट उत्पत्ति भएको खोलालाई भोटेकोसी भनिएको हो । तर, केहीले ‘हामीलाई अपमान गरेर भोटेकोसी नामाकरण गरिएको’ भन्दै पहिचान नै मेट्ने प्रयत्न गरिरहेका छन् । भोट प्रदेशको माग गर्नेहरुले नै भोटेकोसीको पहिचान मेट्न खोज्नु कति जायज हो ? यो छुट्टै बहसको विषय हो । जुन विपत्ति, बाढीसँग सम्बन्धित सवाल होइन ।

थामे खोलाको मुहान टसी लाप्चा हिमाल सोलुको खुम्बू क्षेत्र, दोलखाको रोल्वालिङ उपत्यका र तिब्बतको सीमाना हो । जहाँबाट तिब्बत र दोलखाको रोल्वालिङ उपत्यका दुवैतिर पुगिन्छ । थामेमाथिको टसी लाप्चा ‘ट्रेल’ पर्यटकहरुका लागि मनोरमका साथै चुनौतीपूर्ण र जोखिमको गन्तव्य हो । जो पाँच हजार सात सय ५५ मिटर उचाइमा पर्छ । यो क्षेत्र साना–ठूला हिमताल/ हिमपोखरी भएको क्षेत्र पनि हो । सन् १९५१ मा प्रसिद्ध बेलायती आरोही एरिक शिप्टनले रोल्वालिङ उपत्यका, टसी लाप्चा ‘ट्रेल’ आसपास हिम मानव यतिको फोटो खिचेका थिए । यसपछि नै यति नेपालको हिमालयको यस क्षेत्रमा पाइन्छ भन्ने विस्वास संसारभर जागृत भएको थियो ।

खुम्बु क्षेत्रको अध्ययन, अनुसन्धान अनुसार थामे खोलाको माथिल्लो तटीय क्षेत्र अर्थात टसी लाप्चा हिमालको सेरोफेरोमा तीन/चार वटा हिमताल/हिमपोखरी छन् । जसमध्ये पारेचोम्बुचो सबैभन्दा ठूलो हिमताल हो । टसी लाप्चा पोखरी अर्को ठूलो जोखिमको तरबार हो । हिजो दिउँसो थामे खोलामा बाढी आउँदा सुरुमा स्थानीयले पारेचोम्बुचो ताल फुटेको अनुमान गरेका थिए । जसले अझ् धेरै क्षति पुर्याउने उनीहरुको अनुमान थियो । तर, बाढी छिट्टै कम भएपछि त्यो अनुमान गलत सावित भएको थियो ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययन अनुसार दूधकोसी नदीको मुहान क्षेत्रमा नौ वटा ताल जोखिमका छन् । जसमध्ये खुम्बू क्षेत्रको इम्जा हिमताल नेपालकै सबैभन्दा जोखिमयुक्त रहेको इसिमोडको प्रतिवेदनमा उल्लेख छ । इम्जा हिमतालमा ७ करोड ५२ लाख घन लिटर पानी रहेको अनुमान छ । विष्फोटको सम्भावना रहेको यो तालको पानी साउन २०७३ मा नेपाली सेनाले निकालेर जोखिम कम गरेको थियो ।

थामे खेलो/भोटेकोसी नाम्चे भन्दा तल लार्चा दोभानमा दुधकोसी नदीमा समाहित हुन्छ । लार्चा दोभानबाट ओर्लाङघाट, जोरसल्ले, टक्टक, मोन्जु, फाक्दिङ, मुसे, सुर्के, खरिखोला, वाक्सा, बासा, काया, दिब्ली, खोर्दा हुँदै दुधकोसी नदी थुलुङ दुधकोसी (साविक दुधकौशिका) गाउँपालिकाको वडा नंं. एक नेलेबाहेक ८ वटा वडा छुँदै बग्छ । खोर्दा नजिकै छेस्केम, बुङ, सोताङ हुँदै बग्ने हुँगा खोला समेत दुधकोसी नदीमा मिसिएपछि यसको बहाव झन् शक्तिशाली बन्छ ।

काठमाडौंबाट होस् वा सदरमुकाम सल्लेरीबाट– पैदल र गाडीमा जाँदा खुम्बू पासाङल्हमु गाउँपालिकाको प्रमुख प्रवेश द्धार खरिखोला हो । जो पहिले जुभिङ गा.वि.स.को केन्द्रविन्दु थियो । खरीखोलामा खासगरी मगर र राईहरुको सघन वस्ती छ । खरिखोलाबाट पैँया, लुक्ला, फाक्दिङ, मोन्जु, हुँदै नाम्चे बजार पुगिन्छ । अनि नाम्चेबाट खुम्जुङ र थामे जाने बाटो छुट्टिन्छ ।

विश्वका आठ हजार भन्दा अग्ला ३ वटा शिखर सगरमाथा, लोह्त्से, र चोयु लिएर उभिएको छ यो भूगोल । नुत्से, आमादब्लम, पोमोरी, थामसेर्कु पनि यस क्षेत्रका स्थापित शिखर हुन् । यस क्षेत्रमा स्याङ्बोचे र लुक्ला गरी दुई वटा विमानस्थल छन् । भलै सानो पिलासपोर्टर जहाज मात्र उडान/अवतरण गर्न मिल्ने भएकोले यसबेला स्याङ्बोचे विमानस्थल खासै चलन चल्तीमा छैन ।

सगरमाथा राष्ट्रिय निकुञ्ज यही क्षेत्रभित्र पर्छ । नेपालकै कान्छो मकालु/बरुण राष्ट्रिय संरक्षण क्षेत्रले पनि छुन्छ यस क्षेत्रलाई । थामेले प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा (भलै उनीपछि भारतीय नागरिक भए), आप्पा शेर्पा, आङरिता शेर्पा, कामिरिता शेर्पा, लाक्पारिता शेर्पा जस्ता बिख्यात आरोहीहरुलाई जन्माएको, हुर्काएको छ । आरोहीहरु यस क्षेत्रका तेङबोचे, पाङबोचे गुम्बामा लामा विधि अनुसार पूजा गरेर मात्र सगरमाथा, लोहत्से, नुत्सेलगायत आरोहण गर्न जान्छन् ।

०७२ मा संविधान जारी भएपछिका दुई वटा स्थानीय तह निर्वाचनमा खुम्बू पासाङल्हामु गाउँपालिकामा दुई पटक नै नेकपा (एमाले) ले बाजी मारेको छ । जानकारका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिकामा दुई पटक नै एमालेले बाजी मार्नुमा राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पाको भूमिका बलशाली छ ।

यद्यपि यस क्षेत्रमा कांग्रेस नेताहरु पनि कम शक्तिशाली छैनन् । आङ्गगेलु शेर्पा (नेपाली कांग्रेस सोलुखुम्बुका पूर्वसभापति), आङछिरिङ शेर्पा (एसियन आङछिरिङ) चुङ्बा शेर्पा, नाम्गेल जाङबु शेर्पा (दूधकुण्ड नगरपालिकाका मेयर) लगायत खुम्बु क्षेत्रका स्थापित नेताहरु हुन् । एमाले, कांग्रेसका यी नेताहरुले विपतग्रस्त थामेलाई कसरी सहयोग गर्छन ? त्यसैले उनीहरु थप स्थापित र विस्थापित हुने संभावना ज्यादा छ ।

खुम्बु क्षेत्र सोलुखुम्बुका लागि मात्र नभएर देशकै लागि बरदान र अभिशाप दुवै हो । बरदान यस अर्थ कि यहाँ धर्तीकै उच्च शिखर सगरमाथा त छ नै, विश्वकै अनुपम एवम् मनोरम भूदृश्य छ । अभिशाप यसर्थ कि यस क्षेत्रका हिमताल/हिमपोखरी सधैँ त्रासका तरबार बनिरहेका छन् ।

२०४२ साल साउन २० गते खुम्बु क्षेत्रकै ताम पोखरी फुटेर दुधकोसीले बितण्डा मच्चाउँदा नदीको बहाब नै परिवर्तन भएको थियो । जसले कैयनको घरबास मात्र उठाएन्, जग्गाको स्वामित्व नै उलटपुलट बनाइदिएको थियो । कायाघाट, दिब्ली, बर्खु, देम्लीटार, सिलौरी, रबुवालगायत स्थानका आधा दर्जन बढी झोलुङ्गे पुल बगाएर आवागमन नै ठप्प बनाएको थियो । धन्य ! यसपटक भने थामे गाउँबाहेक दुधकोसी तटका वासिन्दाहरुले धेरै ठूलो क्षति व्यहोर्नु परेन ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Copyright © 2024 Nepal Muhar. powered by Nepal Muhar.