कानूनी रुपमा नेपाल दर्ता हुन नआएसम्म सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गर्दैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय राख्न आजै अपरान्ह नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ ।
दर्ता हुन आएकै दिन फेसबुक तथा युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल सक्रिय गर्ने मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताए । “जो सूचीकरण प्रक्रियामा आएका छन्, त्यसलाई खुला राख्ने र जो प्रक्रियामा आएको छैन त्यसलाई निष्क्रियमा राख्ने निर्णय भएको छ,” ठाकुरले भने, “पाँच वटा सूचीकरण भएका छन्, बाँकीलाई निष्क्रिय गर्ने र सूचीकरणको प्रक्रियामा आएपछि सक्रिय बनाइनेछ ।”
ठाकुरका अनुसार भाइबर, टिकटक, विटक, निम्बस र पोपोलाइभ सूचीकरण भएका छन् । टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा रहेका छन् । दर्ता भएका सामाजिक सञ्जाललाई भने निष्क्रिय नपार्ने ठाकुरको भनाइ छ ।