आज मंसिर एक गते राष्ट्रिय कर दिवस । सरकारले २०५४ मंसिर १ गते मूल्यअभिवृद्धि कर लागू भएको दिनको सम्झनामा हरेक वर्ष मंसिर १ गतेलाई राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। आन्तरिक राजस्व विभागले यस वर्ष सबभन्दा धेरै कर तिर्नेहरुको नाम सार्वजनिक गरी सम्मान गरेको छ । विभागले विभिन्न कार्यक्रम आयोजना गरेर १४औँ राष्ट्रिय कर दिवस मनाएको हो।

विभागले सबैभन्दा धेरै कर तिर्ने करदातालाई विभिन्न विधामा सम्मान गर्दै आएको छ। यस वर्ष पनि व्यक्तिगत आयकर सबैभन्दा धेरै तिरेका राजबहादुर शाहलाई विभागले उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ । तर करदाताले तिरेको कर भने खुलाउने गरिएको छैन।

व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादर शाह

यी हुन् धेरै कर तिर्ने करदाता
त्यस्तै निकायहरुमा आ.व.२०८०/०८१ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला नेपाल दूरसञ्चार प्राधिकरणले तिरेको विभागले जनाएको छ।

एकलौटी फर्महरुमा आ.व. २०८०/०८१ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इण्टरनेशनल सम्मानित हुँदा वस्तु निर्माणको कारोबार गर्नेम सबैभन्दा बढी आयकर दाखिला डाबर नेपाल प्रा.लि.ले गरेको छ।

यसैगरी सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमा ओरिक्स नेपाल प्रा. लि. कृषि एवं पशुपंक्षीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रा.लि., बैंक, वित्तीय संस्था र बीमाको कारोवार गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि,. स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लि., पर्यटन व्यवसाय गर्नेमा सोल्टी होटल लिमिटेड सम्मानित भएका छन्।

त्यसैगरी वस्तु व्यापारको कारोवार गर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा.लि.ले धेरै कर तिरेको छ भने वार्षिक कारोवार रकम ५० करोडभन्दा बढी १०० करोडसम्म कारोवार गर्ने करदातामा ब्रि.डि.एस. एण्ड क्लियरिङ लि. सम्मानित भएको छ। डमीमूलक उद्योगमा सबैभन्दा बढी आयकर दाखिला भोटेकोशी पावर कम्पनी प्रा.लि.ले गरेको विभागले जनाएको छ।

यता रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोवार गर्नेमा आईएमई लिमिटेड उत्कृष्ट करदाता बनेको विभागले जनाएको छ। २०७६ श्रावण देखि २०८२ आषाढ मसान्तसम्मको कर अवधिमा मू.अ.कर विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूअ.कर दाखिला दूरसंचार नेपाल लिमिटेडले गरेको छ।

वार्षिक कारोवार रकम ५० करोडसम्म कारोवार गर्ने करदाताहरु मध्ये आ.व. २०८०/०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा भि।एफ। सर्भिसेज (मौरिसस) सम्मानित भएको छ। विशेष उद्योगहरुमध्ये आ.व. २०८०/०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा यूनिलिभर नेपाल लिमिटेडले सम्मान प्राप्त गरेको छ।