Connect with us

समसामयिक

आज ठूलो एकादशी, तुलसीको विवाह गरेर, घाट किनारमा फूल तारेर मनाइँदै

Published

on

आज ठूलो एकादशी पर्व श्रद्धाजु भक्तजनहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । ब्रतालुले आज अन्न नखाने परम्परा छ । त्यसैले खरखन्ड, पिँडालु, वन तरुललगायत उसिनेर फलाहार गरिन्छ । आज अन्न नखाई व्रत बसेमा पापको नाश भई पुण्य वृद्धि र मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ

हरिशयनी एकादशी (असार साउन) देखि हरिबोधिनी एकादशी (कात्तिक मंसिर) सम्म कम्तिमा चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकोमा आज दामोदरसँग विवाह गरी यो पर्व पूरा गर्दैछन् ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीक दामोदरसँग तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी मनाइन्छ । आषाढ शुक्ल एकादशीमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी भनिन्छ । हरिशयनी एकादशी अर्थात आषाढ शुक्ल एकादशीका दिन घरघरमा गाईको गोबर र रातो माटोले पोतेर मठ उठाई सिँगारपतार गरी तुलसी रोपिन्छ ।

त्यहीँ तुलसीलाई आज दामोदरसँग विवाह गर्ने परम्परा छ । पूर्वीय दर्शनमा पूजाको परम्परा रहेको तुलसीको महिमा वैज्ञानिक रूपमासमेत लाभदायक प्रमाणित भइसकेको छ । आज घाटघाटमा फूलमाला तार्ने कार्य समेत गरिन्छ ।

आजबाट कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । तसर्थ एक महिनासम्म निरन्तर आकाशदीप बालिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.