यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाउने पश्चिम फर्कदा शुभ हुने
हिन्दू नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको खास अर्थात अन्तिम दिन आज भाइटीका पर्व मनाइँदै छ। आज दिदीबहिनीहरुले आफ्ना दाजुभाइलाई उच्च श्रद्धाका साथ आर्शिवाद दिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरी परम्पराअनुसार सप्तरंगी वा पञ्चरंगी टीका लगाए दिएर यो पर्व मनाइन्छ।
दिदीबहिनीहरुले दाजुभाइलाई टीका लगाइदिएर आ आफ्नो गच्छेअनुसार भाइमसलालगायत सगुन एवम् उपहार समेत दिने गरिन्छ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
आज भाइटीकाको सबैभन्दा शुभ साइत बिहान ११स्३७ बजे अभिजित् मुहूर्त उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। यद्यपि समितिका अनुसार आज दिनभर भाइटीका लगाउन कुनै बाधा छैन । साइत खोज्नेका लागि यसवर्ष भाइटीका लगाइदिने चेलीबेटी पूर्व र लगाउने माइती पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरंगी टीका लगाउने भनिए शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।