मिथिलाञ्चलमा भव्यताका साथ मनाइने छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधि मनाउँदैछन् । हिजो छठको पहिलो दिन कात्तिक शुक्ल चौथीमा ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमीमा ‘खरना’ को तयारीमा जुटेका छन् ।
अहिले बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खिर छठी देवी र कुल देवतालाई चढाइ बर्तालुले त्यही खिर खानेछन् । हो यही विधिलाई ‘खरना’ भनिन्छ ।
छठमा श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिन्छ । यो पर्वमा ‘खरना’का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मंसिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्र दर्शन गरेर ब्रत पुरा गर्छन ।
पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगी कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ दिन्छन् । जसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।
सप्तमी तिथिमा बर्तालुले बिहानै उदाउँदो सूर्यलाई दोश्रो अर्घय दिएर पर्व समापन गर्ने मैथिल संस्कृति छ छ । उदाउँदो सूर्यलाई दिइने अर्घलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घय दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ ।
छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पु¥याउन जाने मैथिली संस्कार छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ ।
अर्घ दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अर्घ दिने पवित्र जलाशय किनारमा घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ