ह्यारिसले अमेरिकाको प्रथम राष्ट्रपतिमा रच्लिन् इतिहास ?
अमेरिकामा राष्ट्रपतिको निर्वाचन आज हुँदैछ । विश्वको शक्तिशाली अमेरिकाको ४७ औं राष्ट्रपति बन्न पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस कडा चुनावी प्रतिस्पर्धामा छन् । रिपब्लिकन उम्मेदवार ट्रम्प र डेमोक्रेटिक उम्मेदवार ह्यारिस बीचको प्रतिस्पर्धा ‘इतिहासकै कडा’ रहेको चुनावी सर्वेक्षणहरुले देखाएका छन् । एनबीसी न्युजको सर्वेक्षणमा दुवै उम्मेदवारको अवस्था समान छ । ट्रम्प र ह्यारिस दुवैलाई बराबरी ४९ प्रतिशत मतदाताले मत दिने बताएका छन् भने दुई प्रतिशतले निर्णय लिइनसकेको जनाएका छन् ।
यद्यपि चुनावी सर्वेक्षणले ट्रम्पभन्दा ह्यारिस अगाडि देखाएका छन् । एबीसी न्युजकै सर्वेक्षणअनुसार ट्रम्पलाई ४७ प्रतिशत मतदाता पत्याएका छन् भने पहिलो महिला राष्ट्रपति हुने दौडमा रहेकी ह्यारिसले ४८ प्रतिशत मतदाताको समर्थन जुटाएकी छन् । तर यो सर्वेक्षण निर्वाचित हुनका लागि यकिन छैन । किनभने ५ प्रतिशत मतदाता निर्वाचनको सम्मुखसम्म पनि कसलाई मत दिने भन्ने निश्कर्षमा पुगिसकेका छैनन् । जसले गर्दा ट्रम्प र ह्यारिसमध्ये जुनसुकै उम्मेदवारले जित हासिल गर्न सक्ने देखिएको छ ।
अर्को एक सर्वेक्षण अनुसार निकै कडा प्रतिस्पर्धा भएकोले दुवै उम्मेदवारले जित्ने सम्भावना उत्तिकै छ । अस्ति आइतबार सार्वजनिक गरिएको सिबिएस न्युज्युगोभ सर्वेक्षणले ट्रम्पको ४९ प्रतिशत र ह्यारिसको ५० प्रतिशत जीतको सम्भावना देखाएको छ । राष्ट्रिय सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा एक अंकले अगाडि छिन् । अमेरिकाको एबिसी टेलिभिजनले गरेको अन्तिम सर्वेक्षणअनुसार राष्ट्रिय रूपमा दुवै उम्मेदवारले बराबर ९४९र४९ प्रतिशत प्राप्त गरेका छन् ।
रोचक के भने निर्वाचनका क्रममा ठुलो संख्यामा लैंगिक विभाजन रहेको पनि सर्वेक्षणले देखाएको छ । पुरुष मध्ये धेरैले ट्रम्पलाई रोजेका छन् भने महिलाको निकै ठूलो हिस्साले ह्यारिसलाई रुचाएका छन् । सर्वेक्षणअनुसार ट्रम्पले ४५ प्रतिशतदेखि ५४ प्रतिशतले पुरुष मतदातामा अग्रता लिएका छन् । ह्यारिस महिला मतदाताबीच ४३ देखि ५५ प्रतिशतले अगाडि छिन् ।
अमेरिकामा करिब २४ करोड मतदाता छन् । ७ करोड ८० लाखले ‘प्रि–भोटिङ’ गरिसकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । १८ देखि २७ वर्षसम्मका ४ करोड ८ लाख युवा मतदातामध्ये ८३ लाखले पहिलो पटक मताधिकार प्रयोग गर्दै छन् । त्यसको ४५ प्रतिशत ‘जेन–जी’ पुस्ताका छन् । त्यस्तै अनुमानित ४ करोड ७९ लाख अश्वेत अमेरिकी छन् । ल्याटिन अमेरिकी मूलका कम्तीमा ६ करोड २० लाख छन् । भारतीय–अमेरिकी मतदाताको संख्या ५२ लाख छ । ह्यारिस भारतीय मुलकी भएकाले जसमध्ये धेरै मत उनलाई जान सक्छ । ह्यारिस विजयी भएमा उनी अमेृरिकाको प्रथम महिला राष्ट्रपति बन्नेछिन् ।