सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक साेमबार पनि जारी रहनेछ ।
हिजाेदेखि सुरू भएकाे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेकाे राजनीतिक प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ । बैठकले बिहान ११ बजेबाट केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा निरन्तरता पाउनेछ ।
जसअनुसार आजको बैठकमा पेश गरिएकाे राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको छ । जसमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्न सुरू गर्नेछन् ।
साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बीच पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नेछन् ।
एमाले केन्द्रीय समिति बैठकमा सदस्यहरुलाई बोल्ने समय जम्मा तीन मिनेट दिइएको छ । एक जना स्थायी समिति सदस्यका अनुसार आफ्नो मत राख्ने त्यो समय कम भयो भन्दै केन्द्रीय सदस्यहरुले् गुनासो राखेका छन् । गत वर्षको फागुनपछि १० महिनामा केन्द्रीय समिति बैठक हुँदैछ ।
१० महिनामा भएको केन्द्रीय समिति बैठकमा पनि बोल्ने समय जम्मा तीन मिनेट छ । तीन मिनेटमा के, कति कुरा राख्न सकिन्छ र ? हामीलाई कुरा राख्ने समय अलि थपिदिनु पर्यो भनेर केन्द्रीय सदस्यहरुले अनौपचारिक आग्रह गरेका छन् । तर, औपचारिक कुरा भने राख्न सकेका छैनन् ।
औपचारिक कुरा राख्दा कारबाहीमा परिने हो कि भन्ने त्रासले केन्द्रीय सदस्यहरु बोल्न नसकेका ती स्थायी समिति सदस्यको ठम्याइ छ ।