पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वका ‘समयावधि गुज्रिएका बुढा’ कांग्रेसहरुसँग विशेष महाधिवेशनमार्फत शक्तिशाली विद्रोह गरी गगनकुमार थापा सभापति र विश्वप्रकाश शर्मा उपसभापति बनेपछि सोलुखुम्बु कांग्रेसमा अभूतपूर्व एकता भएको छ । कांग्रेसजनहरुका अनुसार यो अभूतपूर्व एकताले प्रकाशसिंह कार्कीको विजय सुनिश्चित गराएको छ।
सिङ्गो देश निर्वाचनको संघारमा छ । पूर्वी नेपालको हिमाली जिल्ला सोलुखुम्बु पनि यसबाट अछुतो रहने कुनै भएन । सोलुखुम्बु जिल्लामा नेपाली कांग्रेसबाट प्रकाशसिंह कार्की, नेकपा (एमाले) बाट कल्पना राई, नेकपा (नेपाली कम्युनिष्ट पार्टी) बाट असिम राई, रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) बाट ऋषिधन राई (विद्यावारिधि), श्रम संस्कृति पार्टीबाट वियस राई, राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) बाट राजेन्द्र बस्नेतलगायत चुनावी मैदानमा छन् ।
खासमा सोलुखुम्बुमा अरु जे जति पात्रहरु चुनावी मैदानमा भए पनि मतदाताहरुको मत आकर्षित गर्ने मुख्य पार्टी एवम् उम्मेदवारहरु माथि उल्लेखित नै हुन् । सोलुखुम्बुबाट विगतमा निर्वाचित सांसदहरु नेपाली कांग्रेसका नेता बलबहादुर केसी पटक–पटक, तत्कालीन नेकपा (माओवादी) का गोपाल किराँती दुई पटक र नेकपा (एमाले) का मानवीर राई २३ र २४ भदौको जेन्जी आन्दोलन अघिसम्म एक पटक मन्त्री भइसकेका छन् ।
नेपाली कांग्रेसका हकमा सोलुखुम्बु एक यस्तो जिल्ला हो, २०४८ सालको निर्वाचनपछि कांग्रेस जिल्ला पार्टीभित्र सधैँ कलह उत्कर्षमा थियो । केन्द्रमा पार्टी एक ढिक्का हुँदा र तत्कालीन ७४ जिल्ला एकतावद्ध हुँदा समेत सोलुखुम्बूमा कांग्रेसभित्रको कलह कहिल्यै मथ्थर हुन सकेको थिएन । कलहको अगुवाई पूर्वमन्त्री एवम् निवर्तमान केन्द्रीय सदस्य बलबहादुर केसीले नै गरेका थिए ।
०४८ को निर्वाचनमा विजय भइसकेपछि केसीले आफूभन्दा अग्रज सोलु कांग्रेसका संस्थापक सभापति पुरुषोत्तम बस्नेत, पूर्वतीन नं. हुँदाकै सभापति देवीध्वज बस्नेत, ०४६ को जनआन्दोलन भइरहदाका सभापति एवम् टिम्बुरबोटे काण्डका ज्यूँदा सहिद छत्रध्वज बस्नेत, टिम्बुरबोटे काण्डकै अर्का ज्यूँदा सहिदद्धय दत्तसिंह कार्की, केशरबावु थुलुङ, २००७ सालदेखिका कांग्रेस रहबहादुर राई, जहरबहादुर मगर, कृष्णेश्वर राई, संविधानसभा सदस्य गोकर्ण राईलगायत दर्जनौ नेताहरुसँग गुटबन्दी गर्दै बेमेल गर्दा कलह उत्कर्षमा पुगेको थियो । फलतः सोलु कांग्रेसमा विजारोपण भएको कलह २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ का छ वटा निर्वाचनसम्म उत्कर्षमा रह्यो । कांग्रेसभित्रको किचलोकै कारण केसीले २०६४, २०७४ र २०७९ को निर्वाचन पराजय भोग्नु परेको थियो ।
रोचक के भने २९ बैशाख २०४८ मा भएको निर्वाचनपछि सालेखुम्बुका कांग्रेसमा यसपटक अभूतपूर्व एकता देखिएको छ । २३ र २४ भदौमा भएको नवयुवाहरुको विद्रोहबाट भवितव्य रुपमा ठिक सातादिनपछि २१ फागुन २०८२ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बु कांग्रेसमा अभूतपूर्व एकता देखिएको हो । अर्थात पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वका ‘समयावधि गुज्रिएका बुढा’ कांग्रेसहरुसँग विशेष महाधिवेशनमार्फत शक्तिशाली विद्रोह गरी गगनकुमार थापा सभापति र विश्वप्रकाश शर्मा उपसभापति बनेपछि सोलुखुम्बु कांग्रेसमा अभूतपूर्व एकता भएको हो ।
नेपाली कांग्रेस सोलुखुम्बुको अभूतपूर्व एकतापछि आफ्नो पार्टीका उम्मेदवार प्रकाशसिंह कार्कीका पक्षमा मत माग्न निवर्तमान केन्द्रीय सदस्य बलबहादुर केसी, पूर्वसभापतिहरु छत्रध्वज बस्नेत, प्रभुराम बस्नेत, आङगेलु शेर्पा, विनोद बस्नेत र बहालवाला सभापति एवम् दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्गबु शेर्पालगायत आठ वटै पालिकामा घरदैलो गरिरहेका छन् ।
कांग्रेस नेताहरुको एकतापछि सोलुखुम्बु कांग्रेसजनमा उत्साह भरिएको प्रदेश एकका महाधिवेशन प्रतिनिधि कैलास खतिवडा बताउँछन् । भन्छन्, “कांग्रेस जिल्ला नेताहरुको एकतापछि सोलुखुम्बुमा प्रकाशसिंह कार्कीको जित सुनिश्चित भएको छ ।”
खरो मिजास, प्रष्ट स्वभाव र निष्कपट व्यवहारका सोलुखुम्बु कांग्रेसका पूर्वसभापति एवम् नेपाल किसान संघका पूर्वकेन्द्रीय सदस्य छत्रध्वज बस्नेतका भनाइमा वीपीको विचार र व्यवहारलाई आदर्श एवम् प्रतिवद्ध मानेर हिडेका कांग्रेसजनलाई सत्ता लिप्सा, गुटमा आबद्ध स्थार्थी शीर्ष नेताहरुले मिल्नै नसक्ने अवस्थामा पुर्याएका थिए । तर, गगनकुमार थापाले विशेष महाधिवेशनको विद्रोहमार्फत कांग्रेसमा नयाँ रक्तसञ्चार गराएका छन् ।
बस्नेतका शब्दमा विद्रोहको त्यही रक्त सञ्चारले सोलु कांग्रेस पनि एक ढिक्का भएको छ । नयाँ जोश, जाँगर र उत्साहसहित आफूहरु कांग्रेस उम्मेदवार प्रकाशसिंह कार्कीलाई भारी मतका साथ विजयी गराउन गाउँगाउँमा खटिरहेको पूर्वसभापति बस्नेत बताउँछन् । भन्छन्, “यसपटक सोलु कांग्रेस एक भएको सन्देश हामी हाम्रो पार्टीका उम्मेदवार प्रकाशसिंह कार्कीलाई भारी बहुमतले जिताएर देखाउने छौं । सोलुमा कांग्रेसका अघि अरु फिक्का भइसकेका छन् ।”