समयमै भुक्तानी नपाउँदा चितवनका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिए । उनका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन बाँकी छ ।

पछिल्लो समय डिडिसीबाट हुने भुक्तानीमा केही सुधार देखिए समस्या भने यथावत रहेको अध्यक्ष बगालेको भनाइ छ । उनले भने, “डिडिसी केही सुधार हुने सम्भावना देखिएको छ । पहिलेभन्दा भुक्तानी पनि अलि छिटो आएको छ । तथापि चारदेखि साढे चार महिनासम्म भुक्तानी बाँकी रहनु, रकम जति भए पनि, राम्रो पक्ष होइन ।” उनले सरकारले किसानको भुक्तानी छिटो गरिदियोस् भन्ने आग्रह रहेको बताए ।
 
अध्यक्ष बगालेले डिडिसी र अन्य उद्योगीसँग गरेर करिब रु ५५ करोड भुक्तानी बाँकी रहेको बताए । किसानले लामो समयसम्म रकम नपाउँदा दैनिक जीवन सञ्चालनमै समस्या हुने गरेको उनको भनाइ छ । डिडिसीसँगै अन्य उद्योगीलेले अब छिट्टै भुक्तानी गरेर किसानलाई राहत मिल्ने अपेक्षा गरिएको उनले बताए ।
 
सङ्घले सञ्चालन गरेको जिल्लाका विभिन्न मार्टमा आफ्नै उत्पादनका दुग्धजन्य वस्तु उपलब्ध हुँदै आएका छन् । दूध, दही, पनिर, चिज, मोही, नौनी र घ्युजस्ता वस्तु बिक्री हुँदै आएका छन् । सङ्घले आफ्नो उत्पादनलाई बजारीकरण गर्न रत्ननगरस्थित आफ्नै उद्योगमार्फत दुग्धजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । 

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यहाँका ११५ वटा दुग्ध उत्पादन सहकारीमार्फत ४० हजार किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ । 

भरतपुर महानगरद्वारा ‘काउ लिफ्ट’ मेसिन वितरण

भरतपुर महानगरपालिकाको पशुपन्छी विकास शाखाले आर्थिक वर्ष २०८२र८३ को वार्षिक कार्यक्रमअन्तर्गत चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको अनुरोधमा बसेर उठ्न नसक्ने गाईलाई सुरक्षित रूपमा उठाउन प्रयोग गरिने उपकरण (काउ लिफ्ट) हस्तान्तरण गरेको छ ।

प्रतिगोटा ६४ हजार मूल्यपर्ने उक्त मेसिन ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घलाई तीन वटा, अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्थालाई दुई वटा तथा अन्य चार सहकारी संस्थालाई एक÷एक वटा र एउटा फार्मलाई हस्तान्तरण गरिएको हो । जम्मा १० वटा मेसिन वितरण गरिएको महानगर कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाका प्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए ।

प्रमुख भण्डारीले उन्नत जातका दुधालु गाईमा उठ्न नसक्ने समस्या देखिने भएकाले किसानलाई सहज बनाउन उक्त मेसिन वितरण गरिएको बताए । उनले भने, “उन्नत खालका दुधालु गाईमा ‘डाउनर काउ सिन्ड्रोम’ भन्ने एक प्रकारको रोग देखिन्छ । यसका कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन । गाई बसेपछि दुई–तीन दिनसम्म उठ्न नसक्दा खुट्टामा घाउ हुनेजस्ता समस्या हुन्छन् । किसानले आफैँ उठाउन पनि सक्दैनन् ।” यस समस्याको समाधानका लागि सहकारी र सङ्घमार्फत मेसिन वितरण गरिएको उनले बताए । आवश्यक पर्दा सहकारीमार्फत मेसिन लैजान र प्रयोग गर्न सहज हुने उनको भनाइ छ । 

प्रमुख भण्डारीका अनुसार मेसिनको सहायताले एक जना किसानले मात्रै पनि गाई उठाएर स्याहार गर्न सक्नेछन् । गाई उठेपछि विस्तारै खुट्टा चल्न थाल्ने र पुनःतङ्ग्रिन सक्ने छन् ।