निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का पाँच जना नेताहरूमाथि कारबाहीको विषयलाई लिएर छानविन थालेको छ । नवराज सुवेदी, सगुनसुन्दर लावती, मुकुन्द श्याम गिरी, धवलशम्शेर राणा र धनशुर शाहीले आफुहरुलाई अवैधानिक तरिकाले कारबाही गरिएको भन्दै दिएको निवेदन उपर आयोगले छानबिन थालेको हो ।

आफूहरूमाथि विधान विपरीत कारबाही गरेको भन्दै पाँच नेताहरूले उजुरी दिएपछि त्यस विषयमा बुझ्न राप्रपालाई पत्र पठाएको निर्वाचन आयोगकी प्रवक्ता सीता पोखरेलले बताएकी छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले हालै पार्टीको अनुशासन समिति अध्यक्षबाट सुवेदीलाई हटाएका थिए भने लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यस्तै गिरीलाई पनि उनले उपाध्यक्षबाट पदमुक्त गरेका छन् ।

त्यसअघि लिङदेनले महामन्त्री डा। धवलशम्शेर राणाको संगठन विभाग प्रमुख पद खोसेका थिए भने संयोजित संगठन विभागका सदस्य सचिव धनशुर शाहीलाई पनि पदमुक्त गरेका थिए ।