Nepalmuhar Full version →
समसामयिक

चार हजारभन्दा बढी विद्यार्थी भएका यी सामुदायिक विद्यालय

Nepalmuhar June 3, 2026
बुटवल उपमहानगरपालिकास्थित कालिका मानवज्ञान माविमा देशभरिमा सबैभन्दा बढी आठ हजार दुई सय ३९ विद्यार्थी छन्
चार हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने मुलुकका सामुदायिक विद्यालयमध्ये रूपन्देहीमा सबैभन्दा धेरै दर्ज भएका छन् । मुलुकभरमा चार हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने नौ वटा सामुदायिक विद्यालयमध्ये तीन वटा रूपन्देहीमा छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार रूपन्देहीको बुटवल उपमहानगरपालिकास्थित कालिका मानवज्ञान माविमा देशभरिमा सबैभन्दा बढी आठ हजार दुई सय ३९ विद्यार्थी छन् । 

रूपन्देहीकै तिलोत्तमा नगरपालिकाको शान्ति नमूना माविमा सात हजार एक सय २०, बुटवल उपमहानगरपालिकाकै कान्ति माविमा छ हजार ३४ र नवीन औद्योगिक कदरबहादुर रीता माविमा पाँच हजार तीन सय ४० विद्यार्थी रहेका छन् ।

रूपन्देहीपछि काठमाडौँमा बढी विद्यार्थी भएका सामुदायिक विद्यालय रहेका छन् । काठमाडौँ महानगरपालिकाको ज्ञानोदय माविमा चार हजार सात सय ४६ र विश्वनिकेतन माविमा चार हजार तीन सय एक विद्यार्थी रहेको छन् ।

धनुषाको विदेह नगरपालिकाको जनता नमूना माविमा छ हजार दुई सय ६६, मोरङको सुन्दरहरैचा नगरपालिकाको सुकुना माविमा चार हजार छ सय ४२, भक्तपुरको भक्तपुर नगरपालिकास्थित वागीश्वरी माविमा चार हजार एक सय ८५ र कपिलवस्तुको शिवराज नगरपालिकाको नेपाल आदर्श माविमा चार हजार एक सय १४ विद्यार्थी रहेका छन् ।

अर्थ मन्त्रालयद्वारा प्रकाशित आर्थिक सर्वेक्षण, २०८२/८३ का अनुसार पछिल्लो समयमा विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । हाल देशभर परम्परागतसहित २७ हजार १० सरकारी विद्यालय छन् ।  
सामुदायिक विद्यालय विद्यार्थी