चार हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने मुलुकका सामुदायिक विद्यालयमध्ये रूपन्देहीमा सबैभन्दा धेरै दर्ज भएका छन् । मुलुकभरमा चार हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने नौ वटा सामुदायिक विद्यालयमध्ये तीन वटा रूपन्देहीमा छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार रूपन्देहीको बुटवल उपमहानगरपालिकास्थित कालिका मानवज्ञान माविमा देशभरिमा सबैभन्दा बढी आठ हजार दुई सय ३९ विद्यार्थी छन् ।
रूपन्देहीकै तिलोत्तमा नगरपालिकाको शान्ति नमूना माविमा सात हजार एक सय २०, बुटवल उपमहानगरपालिकाकै कान्ति माविमा छ हजार ३४ र नवीन औद्योगिक कदरबहादुर रीता माविमा पाँच हजार तीन सय ४० विद्यार्थी रहेका छन् ।
रूपन्देहीपछि काठमाडौँमा बढी विद्यार्थी भएका सामुदायिक विद्यालय रहेका छन् । काठमाडौँ महानगरपालिकाको ज्ञानोदय माविमा चार हजार सात सय ४६ र विश्वनिकेतन माविमा चार हजार तीन सय एक विद्यार्थी रहेको छन् ।
धनुषाको विदेह नगरपालिकाको जनता नमूना माविमा छ हजार दुई सय ६६, मोरङको सुन्दरहरैचा नगरपालिकाको सुकुना माविमा चार हजार छ सय ४२, भक्तपुरको भक्तपुर नगरपालिकास्थित वागीश्वरी माविमा चार हजार एक सय ८५ र कपिलवस्तुको शिवराज नगरपालिकाको नेपाल आदर्श माविमा चार हजार एक सय १४ विद्यार्थी रहेका छन् ।
अर्थ मन्त्रालयद्वारा प्रकाशित आर्थिक सर्वेक्षण, २०८२/८३ का अनुसार पछिल्लो समयमा विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । हाल देशभर परम्परागतसहित २७ हजार १० सरकारी विद्यालय छन् ।
✏️ टिप्पणी लेख्नुहोस्