STP News Full version →
राजनीति

सरकार गठनको दुई महिनापछि शीर्ष नेतासँग छलफल गर्दै प्रधानमन्त्री कार्की

Nepalmuhar November 25, 2025
२१ फागुनको निर्वाचनका लागि विश्वासको वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्की यसै साता कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारीमा जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार र प्रमुख दलहरूबिच आपसी विश्वास र समन्...

२१ फागुनको निर्वाचनका लागि विश्वासको वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्की यसै साता कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारीमा

जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार र प्रमुख दलहरूबिच आपसी विश्वास र समन्वयको अभाव देखिएकै वेला प्रधानमन्त्री सुशीला कार्की प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने गृहकार्यमा जुटेकी छिन् । दलहरूका दोस्रो र तेस्रो तहका नेतासँग तीनपटक छलफल गरिसकेकी प्रधानमन्त्री कार्कीले सत्ता सम्हालेको दुई महिनापछि शीर्ष तहमा संवादको गृहकार्य थालेकी हुन् ।

२१ फागुनको निर्वाचनमा जुटेकी प्रधानमन्त्री कार्की यसै साता प्रमुख तीन दलका शीर्ष नेता कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारीमा छिन् । जेन–जी आन्दोलनपछि सत्ताबाट विस्थापित र जेन–जी युवाको आक्रोशमा परेका शीर्ष नेता र प्रधानमन्त्रीबिच संवाद नहुँदा २१ फागुनको निर्वाचनलाई लिएर अझै संशय छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले शीर्ष तीन नेतासँग प्रधानमन्त्रीको संयुक्त छलफलको गृहकार्य भइरहेको बताए । ‘पहिलो चरणमा तीनैजनालाई संयुक्त भेट्ने योजना छ । मिति निश्चित भएको छैन । मंगलबार आमन्त्रण–पत्र जान्छ होला । यो हप्ता भेटघाट हुन्छ,’ उनले नयाँ पत्रिकासँग भने ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार २१ फागुनको निर्वाचनका लागि विश्वासको वातावरण बनाउन तीन नेतासँग छलफल गर्न लागिएको हो । सबै परिस्थिति सामान्य बन्दै गएको र निर्वाचनको माहोल पनि बनिरहेका वेला दलहरूलाई एक ठाउँमा ल्याउन प्रधानमन्त्रीले छलफलको अग्रसरता लिएकी हुन् । खास गरेर एमालेले संवैधानिक हैसियत र चुनावी वातावरणलाई लिएर सरकार तथा प्रधानमन्त्री कार्कीको कठोर आलोचना गर्दै आएको छ ।

प्रमुख तीन दलका नेताले प्रधानमन्त्रीले छलफल नगरेको भन्दै गुनासो गर्दै आएका छन् । तीन नेतापछि अन्य दलका अध्यक्षसँग पनि छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री कार्कीले दलहरूका दोस्रो र तेस्रो तहका नेतासँग तीनपटक छलफल गरिसकेकी छन् ।
नयाँ पत्रिका

Featured प्रधानमन्त्री कार्की शीर्ष नेता