२१ फागुनको निर्वाचनका लागि विश्वासको वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्की यसै साता कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारीमा
जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार र प्रमुख दलहरूबिच आपसी विश्वास र समन्वयको अभाव देखिएकै वेला प्रधानमन्त्री सुशीला कार्की प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने गृहकार्यमा जुटेकी छिन् । दलहरूका दोस्रो र तेस्रो तहका नेतासँग तीनपटक छलफल गरिसकेकी प्रधानमन्त्री कार्कीले सत्ता सम्हालेको दुई महिनापछि शीर्ष तहमा संवादको गृहकार्य थालेकी हुन् ।
२१ फागुनको निर्वाचनमा जुटेकी प्रधानमन्त्री कार्की यसै साता प्रमुख तीन दलका शीर्ष नेता कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारीमा छिन् । जेन–जी आन्दोलनपछि सत्ताबाट विस्थापित र जेन–जी युवाको आक्रोशमा परेका शीर्ष नेता र प्रधानमन्त्रीबिच संवाद नहुँदा २१ फागुनको निर्वाचनलाई लिएर अझै संशय छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले शीर्ष तीन नेतासँग प्रधानमन्त्रीको संयुक्त छलफलको गृहकार्य भइरहेको बताए । ‘पहिलो चरणमा तीनैजनालाई संयुक्त भेट्ने योजना छ । मिति निश्चित भएको छैन । मंगलबार आमन्त्रण–पत्र जान्छ होला । यो हप्ता भेटघाट हुन्छ,’ उनले नयाँ पत्रिकासँग भने ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार २१ फागुनको निर्वाचनका लागि विश्वासको वातावरण बनाउन तीन नेतासँग छलफल गर्न लागिएको हो । सबै परिस्थिति सामान्य बन्दै गएको र निर्वाचनको माहोल पनि बनिरहेका वेला दलहरूलाई एक ठाउँमा ल्याउन प्रधानमन्त्रीले छलफलको अग्रसरता लिएकी हुन् । खास गरेर एमालेले संवैधानिक हैसियत र चुनावी वातावरणलाई लिएर सरकार तथा प्रधानमन्त्री कार्कीको कठोर आलोचना गर्दै आएको छ ।
प्रमुख तीन दलका नेताले प्रधानमन्त्रीले छलफल नगरेको भन्दै गुनासो गर्दै आएका छन् । तीन नेतापछि अन्य दलका अध्यक्षसँग पनि छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री कार्कीले दलहरूका दोस्रो र तेस्रो तहका नेतासँग तीनपटक छलफल गरिसकेकी छन् ।
नयाँ पत्रिका
✏️ टिप्पणी लेख्नुहोस्