नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिवका अनुसार बैठक दिउँसो ३ बजे बीपी स्मृति भवन सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।
बैठकमा पार्टीको आशन्न महाधिवेशन, विशेष कि नियमित महाधिवेशनलगायत समसामयिक विषयमा छलफल हुनेछ । कांग्रेसभित्र विशेष कि नियमित महाधिवेशन भन्ने विषयलाई लिएर तीव्र विवाद छ । यही पुस २६ देखि २८ गतेसम्म हुनेगरी महाधिवेशनको तयारीमा रहेको कांग्रेस कार्यतालिका कार्यान्वयनमा चुकेको छ ।
क्रियाशील सदस्यता वितरण तथा नवीकरणको कार्यतालिका कार्यान्वयन गर्न नसकेपछि पुस १६ मा तोकिएको वडा अधिवेशन र पुस १७ मा तोकिएको पालिका अधिवेशन हुन सकेन ।
दुई अधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन हुन नसक्ने भन्दै पुस २७ र २८ का लागि विशेष महाधिवेशनको मिति तोकेका छन् । आजको बैठकमा मिति तोक्ने अधिकारको विषयसहित अधिवेशन आह्वान गर्नेसम्म वैधानिक क्षेत्राधिकारका विषयमा बहस हुने भएको छ ।
✏️ टिप्पणी लेख्नुहोस्