ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । आज मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । राज्य व्यवस्था समितिबाट पारित विधेयकमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको थियो ।

प्रतिवेदन आइसकेपछि सभापति खतिवडा समेत जिम्मेवार रहेको भनेर प्रश्न उठिरहेका बेला खतिवडाले राजीनामा दिएका हुन् । राजीनामा दिनु अघि सभामा बोल्दै खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने बताए ।सर्वसम्मत रुपमै सरकारी कर्मचारीका लागि दुई वर्ष कुलिङ अफ पिरियडको प्रावधान राखिएको उनले बताए ।

निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको दलिल गरे । तथापि, अन्तिम रुपमा गहिरिएर नहेर्नु कमजोरी रहेको स्वीकार गरे । प्रतिनिधि सभामा बोल्ने क्रममा खतिवडाले राष्ट्रिय सभामा एमालेका तर्फबाट कुलिङ अफ पिरियड हटाउने संशोधन प्रस्ताव परेको स्मरण गरे । राजनीतिमा कतिपय बेला नगरेको गल्तीसमेत बेहोर्नुपर्ने अवस्थामा पुग्न सक्ने र आफूमाथि त्यस्तै भएको बताए ।

आफूलाई कारबाहीको सिफारिस समेत नभएको उल्लेख गर्दै उनले प्रतिनिधिसभा बैठकमा भनेका छन्, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’