नेपालको महिला बिच भलिबल टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानको राजधानी थिम्पुमा भएको प्रतियोगिताको फाइनल खेलमा नेपालका कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान ए टिमलाई २-० को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।
नेपालले उज्वेकिस्तान ए लाई २१-१७, २१-१४ ले पराजित गरेको छ । नेपालले खेलेको सबै ५ खेलमा अपराजित रहँदै उपाधि जितेको हो । समूह चरणमा तीनवटै खेल जितेको कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले शनिबारै भएको सेमिफाइनलमा उज्वेकिस्तान बी टिमलाई २१-१३, २१-१२ ले पराजित गर्दै फाइनल पुगेको थियो ।
दुई वर्षअघि बंगलादेशमा भएको एभिसी बिच भलिबलमा कमल पुन र कोपिला उप्रेतीको जोडीले रजत जितेको थियो ।यस्तै पुरुषतर्फ पनि नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले फाइनल खेल्दैछ ।