पूर्वी नेपालको हिमाली जिल्ला सोलुखुम्बुमा नेपाली कांग्रेस विजय भएको छ । कांग्रेसका प्रकाशसिंह कार्की १३ हजार एक सय ६६ मत ल्याएर सोलुखुम्बुबाट विजयी भएका हुन् ।
कार्कीको निकटतम प्रतिद्धन्द्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का असिम राई भएका छन् । राईले नौ हजार चार सय १४ मत प्राप्त गरेका निर्वाचन आयोगको कार्यालय सोलुखुम्बुले जनाएको छ ।
राई तीन वटा सहकारी ठग हुन् । जसमध्ये काठमाडौंको गोंगबुमा रहेको युनिक ग्रुप बचत तथा सहकारी संस्था लिमिटेडको पाँच करोडभन्दा बढी रकम ठगेकोमा अदालतबाट ठग प्रमाणित भएका व्यक्ति हुन् । भलै यो बेग्लै कुरा हो कि अदालतबाट कसूरदार प्रमाणित भएपनि राई ठूलो रकमको चलखेल गरी उम्किएका थिए ।

सहकारी ठगी मात्र होइन, स्थानीय तहमा राईले गरेका अनियमितताका दर्जनौ फेहरिस्त भएपनि नेपालमुहारले निर्वाचन आचार संहिताको अक्षरशः पालना गरेर निर्वाचन अवधिभर कुनै समाचार लेखेको थिएन । अदालतमा बिचौलिया धन्दा गरी उम्किए पनि सोलुखुम्बुका जनता जनार्दनले राईलाई यसपटक दण्डित गरिदिएका छन् ।
नेकपा एमालेकी कल्पना राई आठ हजार दुई सय २८ मत प्राप्त गरी तेस्रो भएकी छन् । राई शिक्षित, अनुशासित र इमान्दार उम्मेदवार थिइन । सोलुमा रास्वपाका ऋषीधन राईले तीन हजार छ सय ४२ र श्रम संस्कृति पार्टीका वियस राईले तीन हजार तीन सय ६३ मत प्राप्त गरेका छन् ।
२०४८ सालको निर्वाचनपछि सोलुखुम्बु कांग्रेसमा यसपटक ‘अभूतपूर्व एकता’ भएकाले कार्कीको पोल्टामा जित पुग्ने पूर्वानुमान गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेका कार्की सफल व्यवसायी समेत हुन् । कार्कीको विजयले विकास निर्माणका योजनामा उनले कम्तिमा ‘कमिसन, घुस’ खाँदैनन् भन्ने अपेक्षा सोलुखुम्बुवासीले गरेका छन् ।
✏️ टिप्पणी लेख्नुहोस्