भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण विभागमा ज्ञापनपत्र बुझाएको छ । आज दिउँसो राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितको समूह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र त्यसपछि सम्पति शुद्धिकरण विभागको कार्यालय पुगेर २०४६ सालपछिको उच्च पदस्त नेता एवमे् प्रशासकहरुको सम्पति छानबिन गर्न ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङदेनले देशमा यसबेला भ्रष्टाचार महामारीको रूपमा फैलिएको बताए ।

०४६ साल पछिका उच्चपदस्थ नेता, कर्मचारी र तिनिहरुका आफन्तहरूसमेतको सम्पतिमाथि अनुसन्धान हुनुपर्ने उनको भनाइ छ । अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको सुनाए । मन्त्रीहरूबीच एकअर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलिरहेको लिङदेनको दाबी छ ।

लिङदेनले भनेका छन्, ”अहिले देशमा भ्रष्टाचार महामारीको रूपमा फैलिएको छ । भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियार जस्ता कार्यालयहरू, संवैधानिक अंगहरू कतिपय सन्दर्भमा निष्क्रिय, निष्प्रभावी जस्तो देखिएको सन्दर्भमा अख्तियारको ध्यान आकर्षण गराउनको लागि केन्द्रीय कार्यालयमा आएर उजुरी दर्ता गराएका छौँ । अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको छ । मन्त्रीहरू एकअर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेका छन्।”