जनमतका कुशवाहा र यादवले लिए शपथ

मधेस प्रदेशका मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिषरिषद्मा जनमत पार्टीबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले हिजो बिहिबार साँझ मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्। मधेश प्रदेशमा जनमतका १३ सांसद छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार साँझ नवनियुक्त मन्त्रीद्वयलाई गोपनीयताको शपथ गराएकी हुन्। कुशवाहा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री र यादव वन तथा वातावरण मन्त्री नियुक्त भएका छन्।

मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको हो । नेपालको संविधानको धारा १६८ (९) बमोजिम गठित मन्त्रिपरिषद् १२ सदस्यीय पुगेको छ । सात प्रदेशको मन्त्रिपरिषद् मध्ये यो सबैभन्दा जम्बो हो ।

पुनर्गठित मन्त्रिपरिषद्को मुख्यमन्त्रीमा सतिशकुमार सिंह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, भौतिक पूर्वाधारमन्त्री सरोज यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा तथा संस्कृतिमन्त्री रानी तिवारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधन सिंह, अर्थमन्त्री सुनिल यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा र वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादव छन्।

कुशवाहा यसअघि पनि प्रदेश सरकारमा कृषिमन्त्री थिए। यादव राज्यमन्त्रीको भूमिकामा थिए।