राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीकालागि प्रधानमन्त्रीसामु औपचारिक प्रस्ताव राखेको छ । आज पधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुशीला कार्कीलाई भेट्न गएको राप्रपा प्रतिनिधिमण्डलले लिखितरूपमा उक्त प्रस्ताव राखेको हो ।
भेटका अवसरमा राप्रपाको तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री कार्कीलाई विभिन्न ५ बुँदे ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्रमा मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि नवीन समझदारीको अपरिहार्य आवश्यकता उल्लेख छ । यसनिम्ति सर्वपक्षीय बैठकको पहल लिन राप्रपाले प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।
जवाफमा प्रधानमन्त्री कार्कीले आफू सबै पक्षसँग संवादका लागि तयार रहेको बताएकी छन् । स्रोतका अनुसार राजाका सन्दर्भमा भने उनले ठोस प्रतिवद्धता जनाइनन्।
राप्रपाको प्रतिनिधिमण्डलमा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, वरिष्ठ उपाध्यक्ष रोशन कार्की, वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ्ग, महामन्त्री डा. धवल शमशेर राणा, महामन्त्री कुन्ती शाही, महामन्त्री राजेन्द्र गुरुङ्ग, महामन्त्री शरदराज पाठक, कोशी प्रदेश अध्यक्ष राम थापा, कोषाध्यक्ष निलकण्ठ काफ्ले, प्रवक्ता मोहन कुमार श्रेष्ठ र मुख्य सचिव केदार बहादुर अधिकारी सहभागी थिए ।
यस्तो छ, राप्रपाले पेश गरेको ज्ञापनपत्र
सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार काठमाडौँ।
बिषयः ज्ञापन पत्र सम्बन्धमा ।
२०८२ साल भदौ २३ र २४ गते भएको ऐतिहासिक जेनजी विद्रोह र त्यस पश्चात निर्माण भएको वर्तमान सरकार केवल २०८४ सालमा हुनुपर्ने आवधिक संसदीय निर्वाचन २०८२ सालमा गर्नको लागि मात्रै भएको र बनेको होइन भन्ने राप्रपाको दृष्टिकोण छ।
त्यसैले २०८२ फागुन २१ गते सम्पन्न हुने भनिएको आम निर्वाचन अगावै वर्तमान सरकारबाट तत्काल निम्न विषयहरूमा आफ्नो पहल प्रारम्भ हुन यो ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गरेका छौं।
१। आगामी निर्वाचन अगावै मुलुकको वर्तमान समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि कोही कसैले भविष्यमा आन्दोलन गर्नु नपर्ने परिस्थिति निर्माणका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतका सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिने काम होस्।
२।अब हुने आम निर्वाचनमै अन्तर जिल्ला र विदेशबाट मतदान गर्न पाउने सुनिश्चितता गर्न सम्भव छ र त्यसलाई सुनिश्चित गरेर मात्रै निर्वाचन प्रक्रियालाई अगाडि बढाइयोस्।
३। जेनजी प्रदर्शनमा सहभागी भएकै कारण देशका विभिन्न भागमा भएको प्रदर्शनका सहभागीहरूलाई पक्रने, मुद्दा लगाउने जस्ता कामहरू भइरहेको छ। यसप्रकारका कार्यहरू तत्काल रोकियोस्।
४।जेनजी आन्दोलनका सहिद परिवार, घाइतेहरूको माग अविलम्ब पुरा गरियोस्।
५।सरकारसँग विभिन्न मागहरू लिएर प्रदर्शनमा रहेका र प्रधानमन्त्रीसँग भेट गर्न चाहेका जेनजीहरु माथि भइरहेको दमन र उपेक्षा उपयुक्त छैन। यसप्रकारको कार्य तत्काल बन्द गरियोस् र वार्ता संवादबाट वातावरणलाई शान्त बनाउने प्रयास होस्।
राजेन्द्र लिङ्देन
✏️ टिप्पणी लेख्नुहोस्