उर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा गठन गर्न लागिएको नयाँ राजनीतिक पार्टीको नयाँ नाममा सहमति जुटेको स्रोतको दाबी छ । घिसिङले पार्टीको नाम ‘उज्यालो नेपाल पार्टी’ राख्न चाहेका थिए । तर नाम फेरेर ‘नेपाल जनसेवा पार्टी’ राख्ने टुंगो लागेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार ‘उज्यालो नेपाल’ ले घिसिङलाई मात्रै संकेत गर्ने र व्यक्ति केन्द्रित पार्टी बन्नसक्ने समूहका सदस्यहरूको सुझावपछि नयाँ नाम जुराइएको हो । रास्वपाकी पूर्व नेतृ सुमना श्रेष्ठलगायत केही जेनजीहरूले उज्यालो नेपाल नाम फेर्न सुझाएका थिए । घिसिङ त्यसमा राजी भएका हुन् ।

स्रोतका भनाइमा घिसिङले तत्कालै पार्टीको सक्रिय नेतृत्व नगर्ने भएका छन् । अहिलेलाई पूर्व उर्जा सचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर पार्टी दर्ता गरिनेछ । घिसिङ मन्त्री पदमा समेत रहेकाले ‘स्वार्थको द्वन्द्व’ निम्तिन सक्ने भन्दै उनले आफू संयोजक नबस्ने निर्णय लिएको बुझिएको छ । स्रोतका अनुसार घिसिङ निर्वाचनका मुखमा मात्र पार्टीमा सक्रिय हुनेछन् । घिसिङ निकटस्थहरुले दुई दिनभित्रै निर्वाचन आयोग गएर पार्टी दर्ताका लागि निवेदन दिने स्रोतको भनाइ छ ।

घिसिङले गठन गर्ने पार्टीलाई काठमाडौंका मेयर बालेन साहले पनि समर्थन गर्ने बताइएको छ । यद्यपि साह कुनै पनि जिम्मेवारीमा रहने छैनन् । हामी नेपालका संस्थापक सुदन गुरुङ पनि त्यही पार्टीमा सक्रिय हुने स्रोतका दाबी छ ।, ३१ जनाको मात्र छरितो केन्द्रीय समिति बनाएर दर्ता प्रक्रियामा अघि बढ्ने तयारी गरिएको स्रोत बताउँछ ।