एक महिनादेखि निरन्तर बढिरहेको कच्चा तेलको मूल्य घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साताका लागि युद्धविरामको सहमति गरेसँगै हिजो बुुधबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निकै घटेको हो ।
हिजो कच्चा तेलको मूल्य १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९५ अमेरिकी डलरमा झरेको छ । पश्चिम एसियामा ट्रम्पकै कारण भएको युद्धका कारण निरन्तर तेलको मूल्य बढेर प्रतिब्यारेल १२० अमेरिकी डलरसम्म पुगेको थियो । पाकिस्तानी मध्यस्थतामा वार्ताका आधार तयार हुने सङ्केत मिलेसँगै आपूर्तिमा हुने अवरोध हट्ने विश्वासले इन्धनको मूल्य घटेको हो । यस्तै युद्धविरामको सहमतिसँगै महत्वपूर्ण हर्मुज जलमार्ग खुल्ने आशाले पनि तेलको मूल्य घटेको हो ।
विश्वको २० प्रतिशत तेल ढुवानी हर्मुज जलमार्ग हुँदै हुन्छ । अमेरिका र इसराइलले इरानमा आक्रमण गरेपछि हर्मुज जलमार्ग इरानले बन्द गरिदिएको थियो । पछिल्लो सहमतिपछि बजारमा तेलको उपलब्धता सहज हुने देखिएकाले पनि मूल्य घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
कच्चा तेलको मूल्य घटेको र सरकारले इन्धन आयातमा लाग्दै आएको भन्सार शुल्क र पूर्वाधार करमा ५० प्रतिशत छुट दिएसँगै नेपाली उपभोक्ताले पनि विस्तारै राहत पाउने छन् । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा त्यसको प्रभाव नेपालमा एक सातापछि देखिने छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य अनुसार नेपाली बजारमा मूल्य समायोजन हुने गर्छ । आइओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोही अनुसार नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ ।
✏️ टिप्पणी लेख्नुहोस्