Connect with us

अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा इरानमा दुई साताको युद्धविराम घोषणा, होर्मुज जलघाँटी खुला गरिने

Published

on

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग थप तनावका बढिरहेकाबेला दुई साताको युद्धविराम घोषणा गरेका छन्। इरानले होर्मुज जलघाँटी पुनः खोल्न सहमति जनाएपछि ट्रम्पले यस्तो घोषणा गरेका हुन्।

ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनिरसँगको कुराकानीपछि यो निर्णय लिएको बताएका छन्। उनका अनुसार उनीहरूले इरानमाथि हुने विनाशकारी आक्रमण रोक्न अनुरोध गरेका थिए।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्- “पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनिरसँगको कुराकानीका आधारमा, जसमा उनीहरूले आज राति इरानतर्फ पठाइँदै गरेको विनाशकारी शक्ति रोक्न आग्रह गरेका थिए, र इरानले होर्मुज जलघाँटी पूर्ण, तुरुन्त र सुरक्षित रूपमा खोल्ने सर्तमा, म इरानमाथि हुने बमबारी र आक्रमण दुई साताका लागि स्थगित गर्न सहमत भएको छु।”

यो सन्देश अमेरिकी पूर्वी समयअनुसार साँझ ६ बजेर ३२ मिनेटमा सार्वजनिक गरिएको थियो, जुन गएराति ८ बजेको निर्धारित आक्रमण समयभन्दा करिब डेढ घण्टा अगाडि हो। ट्रम्पको सन्देशपछि केही समयमै इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले प्रारम्भिक सहमति भएको पुष्टि गरेका छन्। उनले भनेका छन्- “यदि इरानमाथिका आक्रमणहरू रोकिए भने, हाम्रो शक्तिशाली सशस्त्र बलहरूले आफ्ना प्रतिरक्षात्मक कारबाहीहरू रोक्नेछन्।”

अराघचीका अनुसार दुई साताको अवधिमा इरानका सशस्त्र बलसँग समन्वय गरेर, प्राविधिक सीमाहरूलाई ध्यानमा राख्दै, होर्मुज जलमार्ग हुँदै सुरक्षित आवतजावत सम्भव हुनेछ।

अराघचीले अन्तिम समयमा बमबारी रोक्न पाकिस्तानले गरेको पहलप्रति धन्यवादसमेत व्यक्त गरेका छन्। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले छुट्टै वक्तव्यमा वार्ता सकारात्मक भएमा यो युद्धविराम दुई साताभन्दा बढी समयसम्म लम्बिन सक्ने संकेत दिएको छ।

घोषणाअघि बिहीबार साँझसम्म ट्रम्पले समयसीमा बढाउन सक्ने अनुमान गरिएको थियो, किनभने उनले पछिल्ला हप्ताहरूमा पटक–पटक समयसीमा सार्दै आएका थिए।

तर हिजो मंगलबार तनाव झन् बढेको थियो। ट्रम्पले हिजो बिहान सामाजिक सञ्जालमा चेतावनीपूर्ण सन्देश लेखेका थिए- “आज राति एउटा सम्पूर्ण सभ्यता नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन। म त्यस्तो हुन चाहन्नँ, तर सम्भवतः त्यस्तै हुनेछ।”

उनले थपेका थिए कि उक्त समयसीमा विश्वको लामो र जटिल इतिहासमा “सबैभन्दा महत्वपूर्ण क्षणमध्ये एक” हुनेछ। ट्रम्पले यसअघि विद्युत् केन्द्र, पुल र अन्य नागरिक पूर्वाधारहरू ध्वस्त पार्ने धम्की दिएका थिए, जसलाई धेरै कानुनी विज्ञहरूले युद्ध अपराध हुन सक्ने बताएका थिए।

पछि मंगलबार साँझको सन्देशमा ट्रम्पले फेरि इरानमाथि सफलता प्राप्त भएको दाबी गर्दै तेहरानले व्यवहारिक युद्धविराम प्रस्ताव दिएको बताएका छन्।उनले लेखेका छन्— “यो दुई पक्षीय युद्धविराम हुनेछ।”

अमेरिका आफ्ना सबै सैन्य उद्देश्यहरू पूरा गरिसकेको र इरानसँग दीर्घकालीन शान्ति सम्झौताका लागि धेरै अगाडि बढिसकेको ट्रम्पले उल्लेख गरेका छन्। ट्रम्पले इरानबाट आएको १० बुँदे प्रस्ताव वार्ताका लागि आधार बन्न सक्ने विश्वास व्यक्त गरेका छन्। उनले भनेका छन्— “अमेरिका र इरानबीच विगतका लगभग सबै विवादका बुँदाहरूमा सहमति भइसकेको छ।”
एजेन्सीहरु

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.