अमेरिकाकी उपविदेशमन्त्री सारा बी रोजर्स काठमाडौँ आइपुगेकी छन्। अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्री रोजर्स नयाँ दिल्लीबाट गएराति काठमाडौँ ओर्लिएकी हुन्।

वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। उनी मार्च २७ मा रास्वपा सरकार बनेपछि नेपाल आउने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्।

शाहको नेतृत्वमा सरकार गठन भएपछि  अमेरिकी उच्चस्तरीय अधिकारीहरूले निरन्तर नेपाल भ्रमण गरिरहेका छन्। यसअघि दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दक्षिण तथा मध्यएसिया विशेषदूत सर्जियो गोर नेपाल भ्रमणमा आएका थिए। 

अमेरिकी उपविदेशीमन्त्रीको पदभार ग्रहणपछि रोजर्स पहिलोपटक मध्य एसियाको भ्रमणमा निस्केकी हुन्। रोजर्स काठमाडौँस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले सगरमाथा आरोहण गरेको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछिन्। हार्करले जेठ ६ गते सगरमाथाको आरोहण गरेका थिए। 

यसै अवसरमा अमेरिकी दूतावासले रोजर्सको सम्मानमा आज आइतबार ‘द एसेन्ट समिट’ नाम दिएर विशेष समारोह आयोजना गरेको छ। समिटमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ। नेपाल भ्रमणका क्रममा उनले राजनीति दलका नेता, मन्त्री तथा कूटनीतिज्ञलाई भेट्ने जनाइएको छ। 

यसअघि नेपालमा भ्रमणका आएका अमेरिकी सहायक विदेशमन्त्री कपुरले पनि रास्वपा सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए। 

त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया विशेषदूत गोरले पनि परराष्ट्रमन्त्री खनाल र अर्थमन्त्री वाग्लेसँग भेटवार्ता गरेका थिए। तर, उनीहरुको भेट प्रधानमन्त्री वालेन्द्रसँग भएको थिएन । यसपटक पनि हुने नहुने टुङ्गो लागि नसकेको स्रोतको भनाइ छ ।