काठमाडौंको त्रिपुरेश्वरमा कार्यालय रहेको सि. ई. कन्ट्रक्सन प्रा.लि. का अध्यक्ष तथा ललितपुरस्थित हात्तीवन हाउजिङका ‘मालिक’ विजयबहादुर राजभण्डारी ठगी धन्दामा चुर्लम्म डुबेको पाइएको छ । राजभण्डारीसहित श्याम मिलन श्रेष्ठ, गोपाल मानन्धरहरुले ललितपुरको हात्तीवनमा ‘हात्तिवन हाउजिङ’ बनाएर घर युनिट बिक्री गरेका थिए । त्यही हाउजिङ बनाएर बिक्री गर्नेक्रममा राजभण्डारीले ग्राहक र राज्य दुवैलाई अर्बौ रकम ठगी गरेको पाइएको हो ।
राजभण्डारीको समूहले हात्तीवनमा ३२ रोपनी क्षेत्रफलमा ७९ वटा वटा घर बनाएर ग्राहकलाई बिक्री गरेका थिए । जहाँ न्यूनतम तीन देखि १० आनासम्मको क्षेत्रफलमा घरहरु बनाइएका छन् । ग्राहकहरुले तिनै घर धितो राखेर होस्, वा अन्य माध्यमबाटै– राजभण्डारीलाई एक सयदेखि ९० प्रतिशतसम्म रकम बुझाई सकेका छन् ।
राजभण्डारीले ग्राहकहरुलाई साँचो मात्र दिएका थिएनन्, घरको स्वामित्वको चिठ्ठी नै दिएका थिए । तर, ग्राहकहरुले रकम चुक्ता गरे पनि अहिलेसम्म घरको लालपुर्जा पाउन सकेका छैनन् । राजभण्डारी, नेपाल एबिआई बैंक र हाल प्रभु बैंकमा गाभिएको तत्कालीन सेन्चुरी बैंकको मिलेमतोमा ग्राहकको स्वामित्वमा पुगिसकेका घरहरु नै धितो राखेर ऋण निकालेको पाइएपछि हात्तीवन हाउजिङभित्र घर किनेका ग्राहकहरु यसबेला बिलखबन्द परेका छन् । ग्राहकहरु ‘राति निद्रा न दिन भात’ मा तडपिरहेका पाइएको छ ।
राजभण्डारी र बैंकले मिलेमतोमा गैरकानूनी रुपमा कसरी बदमासी गरे ? पाठकहरुले त्यो छिट्टै पढ्न पाउनु हुनेछ । यति मात्र होइन, राजभण्डारीले ठगीका दर्जनौ काण्ड शीरमा बोकेका छन् । तर, उनी फुक्काफाल छन् । राजभण्डारी र दुई वटा बैंकको मिलेमतोमा ग्राहकको स्वामित्वमा पुगिसकेका घरहरु नै धितो राखेर ऋण लिए–दिएको पाइएपछि यसबेला त्यहाँका घरहरु किनबेच, लिलामी सबै रोक्का छ । बैंक र राजभण्डारीको मिलेमतो विरुद्ध ग्राहकहरुले न्यायालय गुहारेपछि किनबेच, लिलामी रोक्काको आदेश भएको छ ।
ठगीमा संलग्न सि. ई. कन्ट्रक्सन प्रा.लि. र त्यस मातहतको कमिटेड इन्टरप्रेनर रियल स्टेट प्रा.लि. का सञ्चालकहरु राजभण्डारी, श्रेष्ठ, मानन्धर आफूलाई मुलुककै प्रतिष्ठित व्यावसायिक घराना दाबी गर्छन् । उनीहरु तिनै जना इन्जिनियर हुन् । सि. ई. कन्ट्रक्सन प्रा.लि. सन् १९९२ देखि सञ्चालनमा छ । चरम महत्वकांक्षी योजना र असफलताका कारण पछिल्लो समयमा भने सिई कन्ट्रक्सन प्रा. लि. विवादित कम्पनी बन्न पुगेको छ ।
कतिसम्म भने राजभण्डारीको समूहले घर युनिट बिक्री गर्दा ग्राहकहरुबाट उठाएको अग्रिम १३ प्रतिशत ‘भ्याट’ समेत ठूला करदाता कार्यालयमा दाखिला नगरी राज्यलाई अर्बौ ठगी गरेका छन्, जुन सामान्य होइन । जानकारका शब्दमा राजभण्डारीले ठूला करदाता कार्यालय पुल्चोक ललितपुरलाई एक अर्ब बढी कर तिर्न बाँकी छ । तर, उनले ठूला करदाता कार्यालयलाई निरन्तर झुलाई रहेका छन् । ठूला करदाता कार्यालय शीघ्र कानूनी कारबाही अघि बढाउनुको साटो ‘सुस्त’ रमिते बनिरहेको छ ।
राजभण्डारीको समूहबाट ठगिएका ग्राहकहरुले उनले प्रत्यक्ष रुपमा ज्यानकै धम्की दिएको बताएका छन् । फलतः पीडितहरुले आफ्नो नाम समेत नखुलाईदिन नेपालमुहारसँग पटक–पटक आग्रह गरे । ठूला करदाता कार्यालयले राजभण्डारीलाई संरक्षण गरिरहेको पीडितहरुले नेपालमुहारसँग जिकिर गरेका छन् ।
“ग्राहकबाट अग्रिम उठाईसकेको भ्याट पनि वर्षौ नबुझाउनु भनेको सामान्य होइन, यो अक्षम्य अपराध हो”, राजभण्डारीबाट पीडित स्रोतको भनाइ छ, “साना–साना ग्राहकले बिजुली, पानीलगायतको दुई हजार, २५ सय बिल तिर्न सकेन भने लाइन नै काटिन्छ । तर, पहुँचवाला व्यापारीले ग्राहकबाट अग्रिम उठाईसकेको अर्बौ कर नतिर्दा पनि अर्थ मन्त्रालयको मिलेमतोमै ठूला करदाता कार्यालयले संरक्षण गरिरहेको छ । यो राज्यकै मिलेमतोमा भएको ठगी हो ।”
ठूला करदाता कार्यालयले ६ फागुन २०८० मा सि. ई. कन्ट्रक्सन प्रा.लि. लाई ‘बक्यौता रकम दाखिला गर्ने सम्बन्धमा’ पत्राचार गरेको थियो । पत्रानुसार राजभण्डारीले त्यसबेलासम्म ५३ करोड, १६ लाख, ७५ हजार, ६ सय ३९ रुपैयाँ चुक्ता गर्नु पर्ने थियो । तर, उनी र उनको सि. ई. कन्ट्रक्सन प्रा. लि. ले अहिलेसम्म कुनै रकम तिरेको छैन ।
नेपालमुहारले विजयबहादुर राजभण्डारीलाई चार पटक मोबाइल फोन र एसएमएस गरेको थियो । उनले मोबाइल त उडाएनन् नै, फर्काउँदा पनि फर्काएनन् । एसएमएसको पनि कुनै प्रतिक्रिया, जवाफ दिएनन् ।
ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदारनाथ शर्मा करदाताको व्यक्तिगत मामिला भन्दै सूचना दिनबाटै पन्छिए । शर्मा करदाताको विषयमा जानकारी दिन नमिल्ने बताउँछन् । “उहाँ (राजभण्डारी) ले पैसा तिर्नु भएको छैन । हामी कारबाही प्रक्रियामै छौं । उहाँ हिजो मात्र पनि हामी कहाँ आउनु भएको थियो । उहाँले कति तिर्नु छ भन्ने कुरा मैले भन्न मिल्दैन । अहिले तपाईलाई यति छ भन्दा भन्दै भोलि बढ्दै जान्छ । जे होस्, यो मिटर जस्तो घुम्दै जाने हो । २०८० फागुनमा पत्राचार गरेको जुन कुरा तपाईले भन्नु भयो, अहिले त्योभन्दा निकै धेरै नै पुगेको छ ।”
शर्मा थप्छन्, “हामीले कारबाहीको प्रक्रिया पनि सुरु गरेका छौं । राष्ट्र बैंकलाई पनि जानकारी गराएका छौं । उहाँलाई पत्राचार गर्ने, उहाँका बैंक खाता कहाँ–कहाँ छन् ? रोक्ने, त्यसपछि उहाँको सम्पत्ति कहाँ–कहाँ छ ? रोक्ने तयारीमा छौं । बक्यौता भनेको उहाँहरुले ग्राहकबाट लिइसकेको भ्याट यहाँ दाखिला नगरेको हो । यो सामान्य विषय होइन । हामीले कानूनी कारबाहीको प्रक्रिया अघि बढाएर चिठ्ठी पत्र फेरि जारी गरेका छौं । अब प्रक्रिया अघि जान्छ । उहाँहरुको बैंकलगायत सबैतिर समस्या रहेछन् । करदाताको अधिकारलाई सम्मान गर्दै हामीलाई कानूनले यतिभन्दा नभन्नु भनेको छ । कानूनी रुपमा गोप्य राख्नु पर्छ भनेको कुरा मैले दिन मिल्दैन ।”
जानकारका अनुसार राजभण्डारीको संगठित ठगी अपराधलाई नेपाल एबिआई र सेन्चुरी (हाल प्रभु) बैंकले पुरापुर साथ दिएकाले दर्जनौ ग्राहक छटपटीमा परेका हुन् । एक जना ग्राहक भन्छन्, “विजयबहादुर राजभण्डारी सुरुमै खराब मान्छे होइनन्, उनको चरम महत्वकांक्षाले क्रमशः ठग बन्दै गए । उनको यो हाउजिङमा मात्र होइन, जताकतै समस्या छ । उनले धेरै प्रतिष्ठित भनिने मानिसहरुको रकम ठगी गरेका छन् ।”
विजय बहादुर राजभण्डारीे
तस्विरः सि. ई. कन्ट्रक्सनको वेब साइडबाट
✏️ टिप्पणी लेख्नुहोस्