काठमाडौंको तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा अस्ति राति भएको नेपाली सेनाकी सुबेदार ईश्वरी भुजेलको हत्यामा जोडिएर थप तीन जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले आज पक्राउ गरेको हो ।

भुजेलको हत्या धारिलो हतियार प्रहार गरी अस्ति राति उनकै पति  ‘नेपाली ब्रो’ भन्ने कुमार थापा मगर गरेका थिए, जो त्यही रात बालाजुबाट पक्राउ परिसकेका छन् ।

उक्त घटनामा अरु पनि संलग्न रहेको दाबीसहित भुजेलका माइती पक्षले दिएको जाहेरीका आधारमा आज थप तीन जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले बताएका छन्।

पक्राउ पर्नेहरूमा नुवाकोट घर भई हाल तारकेश्वर बस्ने ३६ वर्षका विक्रम थापा मागर, बालाजु बस्ने ४० वर्षीया पुजन थापा र जुम्ला घर भई हाल गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतीक्षा आचार्य रहेको प्रहरीले बताएको छ । उनीहरू सबै जनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको एसपी भट्टराईको भनाइ छ।