नेपाल एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा मलेसियासँग दुई विकेटको हार व्यहोरेको छ । जितसँगै मलेसियाले एसियन गेम्समा स्थान पक्का गरेको छ । आज शनिबार बायोमास ओभलमा नेपालले प्रस्तुत गरेको १२७ रनको लक्ष्य घरेलु टोली मलेसियाले १८.४ ओभरमा पूरा गर्यो ।
मलेसियाकी एलिसा हन्टरले सर्वाधिक ४८ रनको योगदान गरिन् । धनुश्री मोहुनानले २१,आइना हासिमले १८ र माहिरा स्माइलाले १४ रन बनाए । नेपालकी रिया शर्माले तीन विकेट लिइन् ।मनिषा उपाध्याय र रुबिना क्षेत्रीले समान दुई विकेट हात पार्दा सीता रानामगरको नाममा एक विकेट रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२६ रनको योगफल खडा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ४६ रन जोडिन् । कविता कुँवरले ३३, रुवी पोदारले १७ र पूजा महतोले १५ रन जोडे ।
मलेसियाकी विनिफ्रेड दुराइसिंघमले दुई विकेट लिइन् । आइसा एलिसा र माहिरा स्माइलाले समान एक विकेट लिए । अब उपाधिका लागि मलेसियाले थाइल्यान्डको सामना गर्नेछ । नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ ।
✏️ टिप्पणी लेख्नुहोस्