काठमाडौँको दशरथ रंगशालामा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल आज शुक्रबार तेस्रो स्थानका लागि भारतसँग भिड्दै छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउदेश्यीय कभर्ड हलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इरानसँग हारेको नेपाली राष्ट्रिय महिला भलिबल टोली आज भारतलाई हराएर तेस्रो स्थान हासिल गर्ने दाउमा हुनेछ। सेमिफाइलनमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो। इरानले घरेलु टोली नेपाललाई २५–२०, २५–१५ र २५–११ ले सहजै पराजित गरेको हो।
भारत पनि काजकस्तानसँग सोझो सेटमा नै पराजित हुँदै तेस्रो स्थानका लागि खेल्न लागेको हो। यो खेलमा विजेता हुने टोलीले एसियन कपमा स्थान बनाउनेछ। यो एसियन कप छनोटको समेत प्रतियोगिता रहेकाले फाइनलमा पुगेका इरान र कजाकस्तानले स्थान बनाइसकेका छन्।
समूह चरणको पहिलो खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो। नेपाली टोली आजको खेलमा भारतसँग समुह चरणका भोगेको हारको बदला लिदै तेस्रो हुने योजनामा रहेको छ। घरेलु दर्शकको साथमा मैदान उत्रने युवा टोलीमा केही अनुभवको कमी स्पष्ट देखिएको छ।
आजको खेलमा नेपाली टोली अघिल्लोपटक गरेका गल्ती सुधार्दै एसियन कपमा पुग्ने लक्ष्यमा छ।
✏️ टिप्पणी लेख्नुहोस्