राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय शान्ति सैनिक दिवस मनाइँदै छ । यसै अवसरमा दुई जना नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गरिँदैछ ।
ललितपुरस्थित राष्ट्रसङ्घीय कार्यालयका अनुसार न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी जुन यही जेठ २२ गते महासचिव एन्टोनियो गुटरेसले शान्तिसेनाको सम्मानमा पुष्पचक्र अर्पण गर्नुहुने कार्यक्रम छ ।
कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ड्याग ह्यामर्शोल्ड पदक प्रदान गरिनेछ । यो पदकबाट नेपालका सुरज लामिछाने तथा देवीराम जैसीलाई मरणोपरान्त सम्मान गरिँदै छ ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सबैभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने मुलुक नेपाल हो । नेपालबाट ३६४ महिलासहित चार हजार ३०० भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारी परिचालन भएका छन् ।
✏️ टिप्पणी लेख्नुहोस्