नेकपा एमालेमा निकै महत्वपूर्ण मानिने प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य निरज आचार्यलाई दिइएको छ। जाजरकोटका आचार्य बालवयदेखि नै एमालेमा अनवरत लागिरहेको नेता हुन् ।
जेठ ४ गतेदेखि ४ दिनसम्म बसेको केन्द्रीय सचिवालय बैठकले आचार्यलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको हो। यसअघि अध्यक्ष केपी शर्मा ओलीका निकै विस्वास पात्र मानिने केन्द्रीय सदस्य मीनबहादुर शाही प्रचार विभाग प्रमुख थिए।
आचार्य २०७९ को निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस भएका थिए। तर, अन्तिममा उनको टिकट खोसेर डम्बरबहादुर सिंहलाई चुनावी मैदानमा खडा गरिएको थियो ।
एमालेले २०८४ को स्थानीय तह निर्वाचन केन्द्रित पार्टी जागरण अभियान अन्तर्गत कार्यविभाजन गरी आचार्यलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको हो।
एमालेले पछिल्लो कार्यविभाजनमा राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीलाई प्रेस चौतारी इन्चार्ज तोकेको छ। अध्यक्ष ओलीको प्रत्यक्ष इच्छामा उनीहरुले यो जिम्मेवारी पाएका हुन् ।
यसबाहेक केन्द्रीय सदस्यहरुलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरुलाई आफ्नो पालिकाको समेत जिम्मेवारी दिइएको छ।
✏️ टिप्पणी लेख्नुहोस्